सन्तबहादुरको शपथ

कविता

सन्तबहादुर,
एकातिर झुलिरहेको छ संसदीय खोटो समाजवाद
र भित्र्याइरहेछ लगानीबिनाको मुनाफा
अर्कातिर मूर्छित् छन् सहिदका सपना र
बाँचिरहेको छ समय प्रतिबन्धित जीवन
मुलुकमा द्वैधसत्ता चलिरहेको समयमा
एउटा हुरीले ल्यायो तिम्रो भौतिक समाप्तिको अप्रिय खबर
सन्तबहादुर,
जलाइए पनि तिम्रो हाडखोर
हुँदैन सन्तबहादुरहरुको मृत्यु
भाँचिँदैन मेरो गाउँको मेरुदण्ड ।
नयाँ घरका जगहरूमा
खाँदबारी, बोदने र माझाटारका माटोका कणकणमा
कहाँ छैन तिम्रो उपस्थिति
अर्थात् भनौँ
को चढेन तिमीले बोकेको डोली र उलिन्काठ
को बसेन तिम्रो काँध र पिठ्युँमा
र कसको बिहेमा सजिएन तिम्री दुहिताको कम्मरको कलश ?
सन्तबहादुर,
अर्थात् मेरो थलोका सन्तबहादुरहरू
कहिले हलोमा
कहिले डोलीमा
कहिले उलिन्काठमा
कहिले दाँदेमा
कहिले लिँडुल्कोमा
बारीमा, खेतमा
छानामा, हिलो र धुलोमा
मर्दा मलामी, पर्दा जन्ती
ऊ हो सन्तबहादुर ।
कति रोइहुन् तिम्री मर्दाङ्गिनी देखेर तिम्रो निश्चल शरीर
रुन्थिन् ती जसरी त्यतिबेला
जतिबेला तिमी बजार्दै थियौ खुट्टा
पराइदेशका कारखानाका ढोकाहरूमा
भन्दै– जागो, जागराम रहो…
पाउँदैनथ्यौ आउन दसैँ र तिहारहरूमा पनि
जब बल्दैनथ्यो चुलोमा आगो र
जब बोल्थे धावा दुष्ट आँखाहरू तिनको तनमा
कल्पिरहेछु म ती भयावह क्षणहरू
सन्तबहादुर !
जो हुन्छ गाउँ र बेसीमा
मन र मुटुमा
आँखा र मस्तिष्कमा
किन नबोकोस् सिसमहलहरूमा खाँट्टी दूध
र किन नपट्ट्याओस् लगलग हात कँपाउँदै
दूधबापत सिसमहलका मालिकले बेवास्तापूर्वक हुत्याएका खोटा नोटहरू
सन्तबहादुर सन्तबहादुर नै हुन्छ
शरीरको र गाउँको मेरुदण्ड नै हुन्छ ।
प्रतिबन्धित जीवनबाटै सलाम गरिरहेछु तिमीलाई
र ग्लानिबोध गरिरहेछु पूरा हुन नसकेकोमा हाम्रो अठोट
जस्तो कि हामीले बाँधेका थियौँ वाचा–
तिमीले जीवनका लागि गरेको सङ्घर्षलाई
केन्द्रीकृत गर्ने वर्गसङ्घर्षमा
मैले केन्द्रीकृत गरेको वर्गसङ्घर्षलाई
देखिने गरी जोड्ने तिम्रो जीवनसङ्घर्षसँग
ल्याउने सक्कली समाजवाद ।
आएपछि सक्कली समाजवाद
नातीको उमेरको एउटा बालकलाई पनि तिमीले
भन्नु पर्नेछैन ‘बाजे’
मात्र भने पुग्नेछ ‘बाबु’
बोक्दाबोक्दा साहूका खलाबाट धानका बोरा
पटपट फुटेर खाला गएका पिठ्युँहरूमा
लगाउनेछ समाजवादले समानताको मलम…
सन्तबहादुर,
तर सिसमहलका खोटा सिक्काझैँ
यो खोटो समाजवादले
पछारिदियो तिमी र हामी दुवैलाई
बारा–पर्सा र कञ्चनपुरमा भुमरीले पछारिदिएका घर र घरवासीहरूझैँ ।
हेर्दाहेर्दै स्यालहरू पसेका छन् घरहरूमा
र चिथोर्न थालेका छन् माउ खोजिरहेका चल्लाहरू
नक्कली समाजवादले चिथोरेझैँ
वैज्ञानिक समाजवादका चल्लाहरूलाई ।
जिउँदोमा सहयात्री त बन्न दिएनथ्यो पञ्चायत नाउँको हुँडरले
न त सहयात्रा गर्नै दिएथ्यो शाही सत्ता नामको ब्वाँसोले
हुँदाहुँदा सन्तबहादुर,
तिम्रो मृत्युमा मलामी पनि बन्न दिएन
यो नक्कली समाजवाद अर्थात् सामाजिक दलाल फासिवादले ।
जसरी ओगट्छन् बूढा गोरुहरू कोरली गाईलाई
बाली लाग्न नदिएर नहर बहरहरूलाई
त्यसरी नै रोकिरहेछ यो फासिवादी सत्ता
उम्रिन नदिने ऐलान गरेर क्रान्तिबीजहरूलाई ।
तिमी गयौ
जसरी गए तिम्रा बाजे र बाबुहरू
र हाम्रा बाजे र बाबुहरू
विरलै भोको बसेको छु सन्तबहादुर
म कसैको मृत्युको शोकमा
आज म भोकै बसेको छु तिम्रो सम्झनामा
तिम्रा खुइलिएका काँध र खाला गएका पिठ्युँहरूको न्यायका पक्षमा
र तिम्रो मलामीसम्म जान नदिने यो सत्ताशैलीको शोकमा ।
तिमी त गयौ
जसरी गएथे मरेर अम्मरबहादुर र टीकारामहरू
र जसरी जानेछन् अम्मरबहादुर र टीकारामहरूलाई मर्न बाध्य बनाउनेहरू
सन्तबहादुर,
किरिया खाएको छैन मैले प्रायः घटनाहरूमा
कसम खाएर आज तिम्रो मृत्युमा

कसेर मुठी
गर्छु वाचा तिम्रो मृत्युको शोकमा–
ढल्नेछन् सन्तबहादुहरूलाई खोटा सिक्का भिराउनेहरू
उठ्नेछ ज्वाला क्रान्तिको तिनका विरुद्ध
र उदाउनेछ वैज्ञानिक समाजवाद फासिवादको चिहानमाथि ।
वाचा गर्छु सन्तबहादुर,
बदल्दै हजारौँ–लाखौँ सन्तबहादुरहरूको
अकाल मृत्युको शोकलाई शक्तिमा
बोक्नुपर्नेछैन डोली र उलिन्काठ अब तिम्रा सन्ततिहरूले
र जोतिनुपर्नेछैन भोको पेटमा
खाँदबारी र बोदनेहरूमा
आउनेछ अब जोतिने पालो सिसमहलहरूको ।
मेरो प्यारो सन्तबहादुर !
मेरो गाउँको मेरुदण्ड सन्तबहादुर !
समाजवादको भ्रूण सन्तबहादुर !!

२०७६ असार ३१ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :