बाढी पहिरोको बितण्डा, ज्यान गुमाउनेको संख्या ३० पुग्यो

काठमाडौं : अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । देशैभरी १५ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा सबैभन्दा धेरै ५ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर, खोटाङ, काभ्रे, भोजपुर, मकवानपुर, धादिङ, सिन्धुली, पाँचथर, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, बारा, चितवन र सुनसरीमा गरी ३० जनाको ज्यान गएको छ । बाढीपहिरोबाट ठुलोमात्रामा धनमाल समेत क्षति भएको छ ।

बिहिबार,शुक्रबार र शनिबार  बिहानसम्म भएको अबिरल बर्षाका कारण नदीहरुका पानीको बहाब बढेसँगै नदि किनारका बस्तीहरु जोखिममा परेका छन् । बाढीले पुर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिवास नगरपालिकास्थित भप्सी पुल बगाएपछि हजारौं यात्रुहरु अलपत्र परेका छन् ।

यस्तै भारतले नेपाललाई मात्र असर पर्ने गरी भारतको बैरगनिया र रौतहटको गौरको बीच दशगजा क्षेत्रमा बाँधेकाे बाँधकाकारण गौर सहित रौतहटका अधिकांस बस्ती डुबानमा परेका थिए । तर पानीको बहाबले उक्त क्षेत्रमा बाँधिएको बाँध भत्काउदा पानीको सहत केही घटेको छ । शनिबार अपरान्ह काठमाडौं लगायत आसपासका क्षेत्रमा पानी कम परेपनि पश्चिम नेपालमा वर्षा भइरहेको छ ।

२०७६ असार २८ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :