जनपत्रकार र अधिकारकर्मीको टोली सर्लाहीमा, घटनास्थल र परिवारसँग भेटघाट


सर्लाही : असार ५ गते सर्लाहीमा प्रहरीद्धारा हत्या गरिएका नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको परिवारसँग पत्रकार तथा मानवअधिकारकर्मीको टोलीले भेटघाट तथा छलफल गरेको छ ।

जनपत्रकार संगठन, नेपालका अध्यक्ष प्रकाश डुम्रे, महासचिव हिम विष्ट, अधिकारकर्मी रोहित पौडेलको अगुवाईमा पुगेको पत्रकार र मानवअधिकारकर्मीको टोलीले घटनास्थलको अध्ययन गर्नुका साथै घटनाबारे स्थानीय वासी र परिवारसँग छलफल गरेको छ । छलफलका क्रममा पौडेलको परिवारले दोहोरो भिडन्तको नाममा प्रहरीले योजनाबद्ध ढंगले कुमारको हत्या गरेको बताएका छन् । कुमारका ७२ बर्षिय बुवा खिलकराज पौडेलले आफ्नो छोरालाई प्रहरीले पक्राउ गरी हत्या गरेर भिडन्तमा मृत्यु भएको गलत हल्ला फैलाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आज मेरो छोराको मात्रै मृत्यु भएको छैन देशकोलागि केही गर्छु भनेर हिडेको देशकै छोरो गुमेको छ, सर्लाहीका गरिब किसान, सुकुम्बासीको अभिभावक गुमेको छ तर, सरकारले दोहोरो भिडन्तमा मृत्यु भएको नाम दिईएको छ, यो गलत हो, जनविरोधी र भष्ट्राचारीहरु मिलेर मेरो छोराको हत्या गरिएको छ ।’

कुमारका भाई हरिकृष्ण पौडेलले अहिलेसम्म पनि आफ्नो दाईको पोष्ट मार्टम रिपोर्ट नदिएको बताउनु भयो । उहाँले आफ्नो दाईलाई नियन्त्रणमा लिएर हत्या गरेको र पोष्ट मार्टम रिपोर्ट सरकारको दबावमा अस्पतालले सार्वजनिक गर्न आलटाल गरिरहेको गुनासो गर्नु भयो । अस्पतालले पोष्ट मार्टमको रिपोर्ट अहिलेसम्म अस्पतालले नदिंदा राष्ट्रिय मानवअधिकार आयोगको टोलीलेसमेत रिपोर्ट सार्वजनिक गर्न सकेको छैन । घटनास्थल भएको नजिकै रहेका स्थानीयवासीले पनि आफूहरुले घटना भएको दिन गोलीको कुनै आवाज नसुनेको बताए ।

स्थानीय चप्पादेवी यादवले आफूले घटना भएको बेला केही थाहा नपाएको र छिमेकीले भनेपछि मात्रै अचम्म परेको बताउनु भयो । घटना भएको स्थलका जग्गा धनी अजित मण्डलले आफूहरु १२ बजेतिर तरकारी लगाउने काम छोडेर खाना खान हिडेको तर ३ बजेतिर काममा आउँदा टाढैबाट भित्र छिर्न नदिएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘हामी १२ बजेतिर घाम चर्केपछि खाना खान र आराम गर्न घर गयौं तेतिबेलासम्म केही पनि थिएन तर ३ बजेतिर फर्केर आउँदा पुरै प्रहरी मेरो जग्गा भएको ठाँउ घेरेको थियो हामीलाई टाढैबाट छिर्न दिईएन, हामीले सोध्यौ कि के भयो भनेर तर, प्रहरीले हरिण मारेको छ । अहिले जान पाईदैन भन्यो तर, पछि थाहा भयो कि दुखद घटना घटेको रहेछ ।’ सर्लाहीमा लोकप्रिय नेता पौडेलको भिडन्तमा मृत्यु भएको मान्न कोही तयार छैनन् ।

सर्लाहीका एक पत्रकारले भने, ‘पूर्व गृह मन्त्रीदेखि राष्ट्रिय मानवअधिकार आयोगलेसमेत बोलिसकेका छन् कि यो हत्या हो, हाम्रो विश्लेषण पनि यो भन्दा फरक छैन ।’ जिल्ला अस्पताल सर्लाहीले अझै पोष्ट मार्टमको रिपोर्ट नदिँदा राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक, एभोकेसी फोरमले अन्तिम रिपोर्ट सार्वजनिक गर्न सकेका छैनन् । पौडेलका परिवारले सरकारको दबावमा अस्पतालले पोष्ट मार्टम रिपोर्ट गलत बनाउन सक्ने भन्दै सहयोग गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।

जनपत्रकार संगठन नेपालको केन्द्रीय पदाधिकारी टोली जिल्लामा क्रियाशिल पत्रकार, मानवअधिकारकर्मी र नागरिक समाजसँग छलफल एवम् भेटघाट गरी राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय जनकपुर पुगेर मिडिया काउन्सिल विधेयक र पछिल्लो समय मानवअधिकारको अवस्थाबारे छलफल गर्ने कार्यक्रम रहेको अध्यक्ष प्रकाश डुम्रेले बताएका छन् ।

२०७६ असार २१ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :