उदाउँदै गरेको रातो सूर्य


कम्युनिस्ट नामधारी सरकारबाट जनताले धेरै आशा गरेका थिए । तर चुनावमा भोट दिएका नागरिकहरू निराश भएका छन् । सार्वननिक स्थलमा ‘विप्लव किराजतन्त्र’ भन्ने आवाज सुन्न थालिएको छ । सबैको मनमा यो सरकारबाट केही हुँदैन भन्ने परेको छ । काङ्ग्रेसको शासन हेरेकै हो । त्यसैले विकल्पको खोजी हुन थालेको छ ।

हामीदेखिरहेको छौँ– यही बाँकी रहेको भूभाग दिन–प्रतिदिन जङ्गे पिलर सारिएका छन् । यो भ्रष्ट सरकार मौन छ । देशको हरेक क्षेत्रमा छिमेकीको दबाब र प्रभाव देखिन्छ भने सीमा क्षेत्रको कुरा गर्दा त दुव्र्यवहारले परकाष्टा नै नाघिसकेको छ । २७जिल्ला छुने गरी ३ तिरबाट छिमेकीहरू छिरेका छन् । २०११ सालदेखिसुस्ताको नरसाही क्षेत्रबाट अतिक्रमण थालेर हालसम्म ६०–७० हजार हेक्टर जमिन ३ कुनाबाट क्वाप्लाक्क खाइसकेको छ । निरीह छ यो सरकार । पश्चिमको लिपुलेक भन्ज्याङदेखि लिम्पियाधुरा बीचदेखि ३७२ वर्गमिटरको जमिन स्वात्तै हडपेर देशको नक्सा नै बदलिएको छ । सीमा छुट्ट्याउन राखिएका जङ्गे पिल्लर रातारात गायब भएका छन् । सीमाका जमिन गुमाउने जस्तै हातमा लालपुर्जा लिएर आफ्नो सीमापारिपुगेको जग्गा हेरी बिलौना गर्न हजारौँ नेपाली छन् । सीमा क्षेत्रका नेपालीको संरक्षण कसले गर्ने ? पटकपटक देश लुटिएको छ । यो नेपाली माटोको स्वाधीनतामाथि ठाडो प्रहार हुँदासम्म पनि यो सरकार कानमा तेल हालेर बसेको छ । गुमाएको भूभाग अन्तर्राष्ट्रिय कानुनका आधारमा नेपालीको हक लाग्छ । फेरिपनि यो सरकार मौन र अनभिज्ञजस्तो छ ।

इतिहासको पुनर्मूल्याङ्कन गर्नका लागिदेशले रगत मागे मलाई बली चढाऊ भनेर आफ्नो ज्यानको आहुति दिएरसीमा जोगाउन ज्यान गुमाएका गोविन्द गौतमजस्ता हजारौँ नेपालीले ज्यान गुमाउनुपरेको छ । नेपालको पश्चिम सीमा क्षेत्रको कालापानीमा भारतीय सेनाले नेपाली भूमिकब्जा गरेर बसेको छ तर नेपालको सरकार बोल्दैन, भारतीयहरूले नेपालको नक्सा बनाएर बजारमा बेचेका छन्जसमा नेपालको कालापानी भारतमा गाभिएको छ ।सरकारले त्यो नक्सा जफत गरेर कालापानी नेपालभित्रै भएको नक्सा वितरण गर्नुपथ्र्यो तर किन गर्न सक्दैन ?

भारतीय सीमा सुरक्षा बलले कञ्चनपुरमा गोविन्द गौतमको हत्या गरेको सम्झना हरेक नेपालीको हृदयमा ताजै छ । भारतीय फौजहरू काठमाडौँदेखि कञ्चनपुरसम्म जहाँ र जहिले पनि नङ्ग्रा गाड्न स्वतन्त्र छन् । भारतीय फौजहरू काठमाडौँदिख कञ्चनपुरसम्म जहाँ जहिले पनि नङ्ग्रा गाड्न स्वतन्त्र छन् । फितलो सरकार छ । छिमेकीले आफूलाई ठूलो ठानेर नेपाललाई हेप्ने गरेको छ । नेपालका सुन्दर प्राकृतिक सम्पदाहरूमा छिमेकीको गिद्देदृष्टि लागिरहेको छ तर पनि सरकार निरीह छ ।

अहिले हाम्रो देश दलालहरूको घेरामा फसेको छ । तराईबासीको उठीबास लागेको छ । दिनरात जङ्गे पिलर सारिएको छ। सीमा मिचिएको छ। दसगजा मिचिएको छ । खुला सीमाका कारण आपराधिक गिरोह नेपाल छिरेर मनोमानी गरिरहेका छन् । नेपाली चेलीको अस्मिता लुटिएको छ । सुस्ता–नवलपरासीमा नागरिकहरू लडिरहेका छन् । तर सरकारले साथ दिँदैन । बोल्दैन । आज मेची–महाकालीमा ७१ स्थानमा भारतले नेपाली भूभाग अतिक्रमण गरेको छ । चितवनको सोमेश्वर चुरे पर्वत श्रृङ्खलामा भारतीय अतिक्रमण यथावत् छ। जङ्गे पिलरहरू गायब पारिएको छ। देशको माटो रक्षा गर्न नसक्ने निकम्मा सरकार छ । हामीले तिरेको कर देशको सुरक्षामा प्रयोग भएको छैन । बरु सीके राउतजस्ता विखण्डनकारीलाई सरकारले बोकेर हिँडिरहेको छ ।

देशमा राजनीतिक सङ्कट छ । तर अँध्यारो पक्ष मात्र छैन । देशमा क्रान्ति, परिवर्तन, राष्ट्रियताको रक्षा गर्न, बलिदान गर्न तयार कम्युनिष्ट पार्टी छ । नेकपाले त्यसको नेतृत्व गरिरहेको छ । निवर्तमान प्रधानसेनापति राजेन्द्र क्षेत्रीले विप्लवहरू राष्ट्रघाती होइनन् भनेका छन् । अर्का जनरल तथा बौद्धिक व्यक्तित्व प्रेमसिंह बस्नेतले त सरकार र वली–प्रचण्डको भण्डाफोर गरेका छन् । कतिसम्म भने नायिका तथा चलचित्र निर्माता रेखा थापाले दलालहरूले देश बेचेर खाइसकेको प्रतिक्रियासहित युवाहरूलाई सडकमा आउन आह्वान गरिन् । देशको बौद्धिक शक्ति पूरै परिवर्तनकापक्षमा देखिनु खुसीको विषय हो । नेकपामाथि लगाइएको प्रतिबन्धका कारण कथित कम्युनिस्ट सरकार बदनाम भएको छ ।देशभक्त र क्रान्तिकारी पार्टी विश्वभर स्थापित भएको र वैकल्पिक शक्ति बन्दै गएको छ । यो खुसीको विषय हो । दमन, धम्की, यातना, थुनछेक भएको छ । राज्य आतङ्क दिनदिनै बढेको छ । तर यो समयको एउटा पाटो हो । अर्को पाटो पनि छ । बलिदानको जगमा छ । यो गौरवको विषय हो । प्रचण्ड–बाबुरामले आत्मसमर्पण गर्दैमा जनताको परिवर्तनको चाहना सधैँका लागि मर्दैन भन्ने कुरा पुष्टि भएको छ ।

हाम्रो देश ठूलो राजनीतिक सङ्कटमा धकेलिएको छ । यसलाई क्रान्तिकारी सङ्कटमा बदलेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ । परिवर्तनकालागि सबै वुद्धिजीवी र पेसाकर्मीहरूले आआफ्नो क्षेत्रबाट समर्थन गर्नुपर्छ । परिवर्तन जनताको चाहना भएकाले त्यो दिन अवश्य आउनेछ ।

देशमा जनतन्त्र नाजुक बन्दै गएको छ । सरकारले ने.क.पा.लाई प्रतिबन्ध लगाएर बोल्न, लेख्न, शान्तिपूर्ण प्रदर्शन गर्न रोक लगाएको छ । सञ्चारकर्मीलाई ने.क.पा.कापक्षमा वा उसको धारणा सार्वजनिक गर्न दिएको छैन । जनयुद्धको समयमा समेत विद्रोही पक्षमा बहसपैरवी गरेको आधारमा कानुनकर्मीहरू कारबाहीमा परेको स्थिति थिएन । कम्युनिस्ट नामधारी सरकारले कानुनकर्मीहरूलाई समेत धम्क्याउन थालेको छ । एकपक्षीय सूचना बाहिर लगिएको छ । सामाजिक सञ्जाललाई नियन्त्रण गर्न खोजिएको छ । सञ्चार जगत्लाई तर्साउने र भजनभण्डली तयार गर्न खोजिएको छ । निर्लज्जतापूर्वक लुटपाट, भ्रष्टाचार चलिरहेको छ । दलाल, भ्रष्ट, कालोबजारीले सरकारलाई चलाइरहेको अवस्था छ । महँगी चरममा पुगेको छ । करको दर आकासिएको छ । सेवासुविधा झन् खोसिएको छ । सरदर दैनिक १६ जना नेपाली नागरिकले आत्महत्या गरेको सरकारी तथ्याङ्क छ । आर्थिक दुरवस्था र विकृत सामाजिक संरचनाका कारण यो समस्या बढेको हुनसक्छ । महिला हिंसा झन्झन् बढेको छ । पञ्चायती कालमा भएको नमिता–सुनिता काण्ड, निर्मला पन्त काण्डकारूपमा दोहोरिएको छ । ने.क.पा. नेताहरूले उक्त घटनामा राज्यका पहुँचवालाहरू जोडिएको आरोप लगाएकै समयमा नेपाली काङ्ग्रेसले निर्मलाका हत्याराहरू सिंहदरबारभित्रै रहेको आरोप लगाएका थिए । अन्ततः सरकारले निहत्था नागरिक चरा मारेझैँ मार्न थालेको छ । आस्थाका आधारमा नागरिकहरूलाई दुःख दिन थालिएको छ । मुद्दा, धाक, धम्की दिएर राज्य लुट्ने प्रपञ्च सरकारको छ । यस्तो सरकार कसरी जनताको सरकार हुन सक्छ?

विश्वमा नेपालको प्रतिष्ठा खस्किँदै गएको छ । विदेशी ऋण बढेको बढ्यै छ । विप्रेषणर विदेशी ऋणको भरमा देश चलेको छ । बेरोजगार झन् झन् बढेको छ । शिक्षा, स्वास्थ्य सर्वसुलभ छैन । धनी बर्गको लागि सुविधाजनक अस्पताल छन् । धनीका लागि अलगअलग निजी विद्यालय छन् । धनी र गरिबको खाडल झन्झन् बढिरहेको छ । सकुमबासीका बस्तीमा आगो लगाएर धनीका लागि सफा र ठला सडक निर्माण गर्ने सरकारको दाबी छ । कवि सृजन अविरलले चितवनको एउटा कार्यक्रममा सुनाएको कविताको अंश सम्झन्छुः
“मलाई डर लागिरहेको छ
शहीद, घाइते र बेपत्ताहरूसँग
डर लागिरहेको छ मलाई
हिँड्दै आउको युद्धको बाटोसँग
एकान्तमा लखेटिरहने
आफ्नो सपना र छायाँसँग
स्कुल बन्द भएपछि
हाम्रै झन्डा समाएर रोजगार भएकाहरूसँग डर लागिरहेछ ।
एकोहोरो शङ्खको आवाजसँग तेलखानीमा भासिएका छापामारहरूसँग
युद्धको खरानीमा आफ्नो सपना खोजिरहेको
टुहुरा सन्तान र सहिदका पत्नीहरूसँग ।

परिवर्तनको सपना र चाहना असरल्ल छन् । युवाहरू बेरोजगार छन् । हिजो भारतको गल्लीमा जान्थे । आज अरू पुग्छन् । लुटपाट अत्याचार यथावत् छ । कुर्चीमा नयाँ अन्धो मान्छे फेरिएको छ । सडकमा मुर्दाशान्ति छ । त्यसैले समय झन्झन् डरलाग्दो हुँदै गएको छ ।
म्याउँ गर्ने ठाउँमा कसले समात्ने ? भन्ने मुसाहरूको कचहरीजस्तै बलिदान कसले गर्ने? जोखिम कसले उठाउने ? बलिदान नगरी परिवर्तन नहुँदो रहेछ । कवि नाजिम हिक्मतको कवितांश कतै पढेकी थिएँ :

“म जलिनँ भने
तिमी पनि जल्नेछैनौँ
हामी कोही जलेनौँ भने
अँध्यारो रात कसरी हट्ला ?’

मनै जल्छ आफू सकिन्छ । तर त्यही मैनबत्तीको बलिदानबाट औँसीको रात उज्यालो हुन्छ । मैनबत्ती पनि सिङ्गै रहिरहने घरआँगन उज्यालो पनि हुन सक्दैन । त्यसैले देश र समाज सुधारका लागि लगानी बलिदान अनिवार्य भएको छ ।

२०७६ असार १९ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :