सहिदका बाबाको गर्विलो मृत्यु

प्रचण्डसँग प्रश्न सोध्न मन लागिरहेको छ– के जनयुद्ध अपराध थियो ?


२०७६ असार २ गते व्यस्त सहरको एक छेउमा हिँड्दै थिएँ । फोनको घन्टी टिरिङटिरिङ बज्यो । कसको फोन आयो भनेर फोन उठाएँ । अन्य दिनभन्दा फरक आवाज लाग्यो । ‘अँ भन्नू’ मैले भनेँ । उहाँले भन्नुभयो– मामा त बित्नुभयो रे, खबर पाइनौ ? मैले अहँ भनेँ । प्रमोदलाई फोन गरेँ, फोन कट्यो । मलाई भनन्न रिँगटा लाग्यो । एकछिन उभिरहेँ । केही दिनअगाडि अस्पतालमा मामालाई भेट गर्न गएकी थिएँ । कस्तो छ मामा हजूरलाई भन्दा ठिकै छ तर अब बाँच्दिनँ होला भन्नुभएको थियो । मैले सहानुभूति राख्दै भनेँ, ‘अझै धेरै बाँच्नुहुन्छ । तपाईंबाट हामीले धेरै कुरा सिक्नु छ ।’ मैलो त्यसो भन्दा उहाँ खुसी भएर हाँस्नुभएको थियो । सम्झना आयो अनि प्रमोद बाबु र मेराबीचमा ठट्टाजसरी तर वास्तविक र मर्मस्पर्शी भलाकुसारी भएको थियो । उहाँले मर्मका साथ भन्नुभएको थियो– बाबालाई केही भयो भने काजक्रिया गर्ने घर पनि छैन । कोठामा बसिएको छ । घरका सबैलाई यही चिन्ता छ । बुबा सन्चो भएपछि सम्झाउनु पर्नेछ । जनयुद्धको बेला सबै तहसनहस भयो । दाइको सहादत भयो । हामी सबै पूर्णकालीन कार्यकर्ता भयौँ । घर चाहिएला, सम्पत्ति चाहिएला भनिएन । सबैको समस्याको हल क्रान्तिले गर्छजस्तो लाग्यो तर आज यस्तो भयो ।

मैले पनि उहाँसँग यिनै विषयमा केही कुरा गरेँ ।
बुझ्नेले बुझ्छन्, नबुझ्नेले खिल्ली उडाउँछन् भाउजू भन्नुभयो उहाँले ।

आज मलाई त्यही कुराले पोलिरह्यो भने सहिद क. प्रदीप शर्मा ‘सञ्जय’ को सम्झनाले मस्तिष्कमा करेन्ट लागेको जस्तो भयो । प्रमोद बाबुलाई फोन डायल गर्न खोजेँ तर कताकता अप्ठ्यारो लाग्यो अनि भान्जीलाई फोन गरेँ । भान्जीले मलाई थाहा भएन, म बुझ्छु भन्नुभयो । यत्तिकैमा फेरि फोनको घन्टीले झसङ्ग बनायो । फोन हेरेँ । रुकुमबाट दाइको रहेछ । फोन उठाएँ । दाइले पनि मामाको निधन भएको खबर गर्नुभयो । मामा बितेको पक्का भयो । मलाई केही सल्लाह पनि दिनुभयो । उहाँको सल्लाहलाई मनन गर्दै शान्ता दिदीलाई फोन गरेँ । उहाँहरू दाङबाट हिँड्न थालेको भन्नुभयो अनि प्रमोद बाबुलाई फोन गरेँ । अरू केही भन्न सकिनँ । बाबु, म पशुपतिमा आउँछु भनेँ तर मनले मानेन ।

हरिप्रसाद मामालाई मैले चिनेदेखि एउटा इमानदार निष्ठावान्, बुद्धिजीवी, राष्ट्रप्रेमी, सादा जीवन उच्च विचारका धनीका रूपमा बुझ्थेँ । अन्तिमचोटि उहाँको मुख हेर्न अस्पतालमै पुग्न मन लाग्यो र म वीर अस्पतालतिर हिँडेँ । अस्पतालमा पुग्दा देखेँ उहाँको मृत शरीरलाई आकस्मिक कक्षको भित्र–बाहिर गर्ने ठाउँमा हरियो पर्दाले चारैतिर छेकेर राखिएको थियो । प्रमोद बाबु र प्रतिज्ञा वरपर मलिन मुख लगाएर बस्नुभएको थियो । एकजनाले यहाँ पनि धेरै अनुरोध गरेर राखेको भन्दै हुनुहुन्थ्यो । मेरो मुटु भकान्निरहेको थियो । मैले प्रमोद बाबुलाई भनेँ, ‘बाबु, म मामाको मुख हेर्छु ।’ उहाँले मुन्टो हल्लएर हुन्छ भन्नुभयो । मैले यसो पर्दा छेउ लगाएर उहाँको मुख हेर्न खोजँे । जताततै कपडाले बेरेको रहेछ । हेर्न सकिनँ । मैले उहाँलाई हृदयदेखि सम्मान गरेँ । म भगवान्मा विश्वास गर्दिनँ तर राम्रो काम गर्ने आदर्श व्यक्तिहरूलाई सधैँ शिर झुकाएर सम्मान गर्छु र हृदयदेखि नै ढोग्ने गर्छु । उहाँलाई पनि छातीमा हात राखेर सम्मान गरेँ । आँखा रसाउन थाले । आँसु लुकाउने प्रयत्न गरेँ तर असफल भएँ । आँसु बगिर ह्यो । भान्जी सम्झाउँदै हुनुहुन्थ्यो ।

म उहाँलाई व्यक्तिगत नाता मामाससुरा सम्झिएर मात्र रोइरहेकी छैन । उहाँको शवलाई देखेर मात्र पनि म रोएकी होइन । उहाँको जीवनभरको छवि, सहिदको बाबा, नेपाली भूमिमा चलेको महान् जनयुद्धमा उहाँहरूको परि वारबाट क्रान्तिमा भएको योगदान र जनयुद्धका कारण आज उहाँको मृत शरीर राख्ने र किरिया गर्ने घरसम्म नभएको स्थिति । यो सत्य कति हृदयविदारक छ ! यी र यस्ता विषयले म आफूलाई समाल्न गारो भइरहेको थियो ।

यो सोचेर पनि धेरै बेर मेरा आँखाबाट आँसु बगिरहे– सहिदको रगतलाई निश्चित अमूक स्वार्थसँग साटियो । यो त एउटा उदाहरण मात्र हो । जनयुद्धमा सर्वस्व गुमाएर सडकछाप भएका युद्धयात्री धेरै छन् । घाइते र अपाङ्गको स्थिति बिजोक छ । बेपत्ता परिवार बेखबर छन् । के जनयुद्ध अपराध थियो ? जनयुद्धको उद्देश्य यतिसम्म थियो ? अवश्य थिएन सुनौलो सपना बोकेको मुक्ति मार्ग थियो । सहिदका सपनाहरू हरण गरियो । आज यो स्थिति पैदा भयो ।

केही समयपछि म समालिएँ र बाबु प्रमोदलाई ‘म अहिले जान्छु, उतै पशुपति आउँछु’ भनेर बाहिर निस्केँ । मन बेचैन भैरह्यो । साँझ ४ बजे पशुपति आर्यघाटमा दासंस्कार गर्न लग्ने सल्लाह भएको खबर सुनाउनुभएको थियो । पशुपतितिर लागेँ । एकजना मसँग हुनुहुन्थ्यो । बाटोमा कुरा गर्दै गयौँ । जनयुद्धमा ठूलो समर्पण गरेको परिवार हो । आज मृत्यु हुने सहिद सञ्जयका बाबा हुनुहुन्छ । सञ्जयलाई तत्कालीन शाहीसेनाले दाङ गणेशपुरमा पार्टी कामको सिलसिलामा घेरा हालेर हत्या गरेको थियो । उहाँ बहुप्रतिभाशाली, आशालाग्दो युवा हुनुहुन्थ्यो । उहाँको सहादतले पार्टीलाई ठूलो क्षति भएको थियो । आमा राधा शर्मा, भाइबुहारीहरू सबै पार्टीमा लाग्नुभयो । उहाँहरूको घर सेल्टर बन्यो । सायद कुनै नेता नपुगेको छैन उहाँको घरमा । सम्पत्ति सबै सकियो । आज यस्तो छ ।

हामी पशुपति पुग्दा माइजू र बुहारीहरू रोइरहनुभएको थियो । मृत्युमा पीडा, जन्ममा उत्साह स्वाभाविक हुन्छ । मामाको मृत शरीर बीचमा लडिरहेको थियो । प्रकाश दाइ, प्रमोद–प्रविण बाबु वरपर बस्नुभएको थियो । नेताहरूको जमघट भैसकेको थियो । मैले खादा लगेकी थिएँ । लाममा गएर बसेँ । मेरो उद्देश्य मामाको मृत शरीरमा खादा ओढाउने र अन्तिम बिदाइ गर्ने थियो ।

पूर्वमन्त्री रेखा शर्माले हरिप्रसाद गौतम सहिदका बाबा हुन्छ भन्दै उहाँको र परिवारको विगत सुनाउनुभयो । उहाँले प्रचण्डलाई झन्डा ओढाउन अनुरोध गर्नुभयो । मलाई भने किनकिन खल्लो लागिरह्यो । झन्डा ओढाउने मानिसको विचार र निम्छरो चिन्तनका कारण मलाई त्यहाँ ओढाइको झन्डाको शक्ति पनि कमजोर बनिरहेको जस्तो लाग्यो । हँसियाहथौडा अङ्कित झन्डाले सहिदको बाबाको शरीर छोपिरहँदा सहिद सञ्जयको हँसिलो, सुन्दर, कलकलाउँदो बैँसले भरिएको त्यो जवानी अनि लोभलाग्दो उचाइ बाबाको मृत शरीरको वरपर मेरा आँखाले खोजिरहे । उहाँको अभाव महसुस भइरह्यो । एक मिनेट मौनधारण गरियो । सभामुख, मन्त्री र सांसदहरूले माल्यार्पण गरे । मैले पनि खादा ओढाएँ र अन्तिमपटक छातीमा हात राखेर शपथ खाएँ– त्याग र बलिदानको मूल्य समयले अवश्य चुक्ता गर्नेछ । सत्य हराउनेछैन ।
मैले निकैबेरसम्म सहिदका बाबाको जमिनमा बेपरबाह लडिरहेको मृत शरीर हेरिरहेँ । एकैछिनमा शव उठाएर आगो लगाउन चितामा लगियो । श्रीमती, छोरा र बुहारीहरू वरपर घुम्दै आगो सल्काउनुभयो भावविभोर हुँदै । एकै छिनमा आगोको मुस्लोमा परिणत हुँदै थियो मामाको मृत शरीर । सहिदको बाबा चितामा जलिरहँदा अनेक लाञ्छना र तर्कवितर्कहरू आइरहे मेरो मनमा । फोनको घन्टी बज्यो । फोन उठाएँ दाइको फोन रहेछ । अनि म माइजूहरू सबैसँग बिदा भएर हिँड्न थालेँ । मानव भीडबाट बाहिर निस्कँदै फर्केर हेरँे– आकाशमा उडेको सेतो धुवाँको मुस्लोतिर । प्रदूषित र दुर्गन्धित राजनीतिलाई यो निश्छल धुवाँले खबरदारी गरिरहेको भान भयो ।

हाम्रो विवाहपछि उहाँले काठमाडौँ त्रिपुरेश्वरस्थित आफ्नै कार्यालयमा धेरै साथीहरूलाई बोलाएर टीका लगाइदिँदै भन्नुभएको थियो– म त खुसी छु । कसैले केही भन्ला, दुःख नमान्नू । समाज अझै अन्धो छ । धेरै कुरासँग लड्न बाँकी छ, नथाक्नू ।

यो उहाँको अग्रगामी सोचाइलाई हामी आत्मसात गर्नेछौँ । दुई वर्षदेखि दुवै मिर्गौला निष्काम भएका थिए उहाँका । नेताहरू टाउको दुख्दा उपचार गराउन अमेरिका पुग्छन् तर उहाँ गलिसकेको शरीर लिएर पैदल हिँड्दै डाएलाइसिस गर्न अस्पताल पुग्नुहुन्थ्यो । उहाँको त्यो उच्च मनोबल अनुसरण गर्नैपर्छ । उहाँ मसँग जहिल्यै भेट्दा ‘मर्नुअघि प्रचण्ड, वैद्य र विप्लवलाई भेट्नुछ’ भन्नुहुन्थ्यो । भेट्नुभयो वा भेट्नुभएन, मलाई थाहा भएन तर उहाँको मनमा राष्ट्रप्रेमको हुटहुटी अवश्य थियो । उहाँ समाजसेवी, वकिल, गुठी संस्थानका पूर्वअध्यक्ष पनि हुनुहुन्थ्यो तर आजीवन सादा जीवन र उच्च विचारले ओतप्रोत रहनुभयो । भ्रष्ट, लोभी र ढोङ्गी पद र पहुँचले उन्मत्त नेताहरू, कुरा एउटा काम अर्को गर्नेहरूलाई उहाँको जीवनशैली र निष्कलङ्क इमानदारीले चुनौती दिइरहेको छ । इमानदार र कम्युनिस्ट नैतिकता बोकेकाहरूलाई मर्गनिर्देश गरिरहेको छ । उहाँको जीवनमा कतै औँला उठाउने ठाउँ छैन । एक आदर्श पात्र अस्ताउनुभयो । सहिदको सपना अधुरै छ । सहिदले देखाएको बाटो पछ्याउँदै अघि बढ्ने प्रतिबद्धता आज सबै इमानदार क्रान्तिकारीहरुले गर्नुपर्नेछ । हार्दिक श्रद्धाञ्जली मामा । शोकसन्तप्त परिवारमा गहिरो समवेदना ।

२०७६ असार २० गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :