बर्दिवासमा हतियारसहित डाँका पक्राउ


महोत्तरी : बर्दिवास नगरपालिकामा हतियारसहित डाँका पक्राउ परेका छन् । नगरपालिकाको वडा नम्बर ७ स्थित किसाननगरमा बुधबार राति दुई घरमा लुटपाट गर्ने क्रममा एक डाँका पक्राउ परेको हो । गाउँमा मध्यरातमा डाँकाको समूहले लुटपाट गर्न थालेपछि बासिन्दाले प्रतिकार गरेका थिए । बासिन्दाको प्रतिकारपछि डाँका भाग्न थाले ।

भाग्ने क्रममा एक डाँका पक्राउ परेका हुन् । पक्राउ परेका डाँका सर्लाहीको चन्द्रपुर नगरपालिका निवासी देवनारायण कापड रहेको प्रहरीले पुष्टि गरेको छ । पक्राउ परेका कापडको साथबाट एकथान कटुवा पेस्तोलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

डाँकाको प्रतिकार गर्दा किसाननगरका चन्देश्वर महतो, उनकी पत्नी जयवती देवी र छोरा उमेश घाइते भएका छन् । उनीहरुको बर्दिवास अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हतियारसहित आएका डाँकासमूहले चन्देश्वरको साथै रामसुनर महतोको घरबाट सुन, चांदी, ल्यापटप, मोबाइल र नगदसहित करिब ४ लाख रुपैयाँ लुटपाट गरेको प्रहरीले जानकारी दिएको छ ।

२०७६ असार १९ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :