काठमाडाैं : लिबियाको राजधानी त्रिपोलीनजिकै रहेको आप्रवासी बन्दी गृहमा लक्षित बम विस्फोटमा परी एक जना नेपालीको मृत्यु भएको छ । मंगलबार राती बम विस्फोटमा परि २७ वर्षका सन्तोष श्रेष्ठको मृत्यु भएको इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले जनाएको छ ।
४० जनाभन्दा बढीको मृत्यु हुने गरी भएको आक्रमणमा घाइते भएका श्रेष्ठको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको राजदूताबासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) लिबियाले श्रेष्ठको मृत्यु भएको पुष्टी गरेको राजदूतावासका चार्ज डी अफेयर्स सुजन बिडारीले जानकारी दिए । श्रेष्ठका बारेमा थप बुझ्ने प्रक्रिया अघि बढाइएको दूतावासले जनाएको छ ।
आप्रवासी हिरासत केन्द्रमै अन्य १४ नेपाली पनि थिए । तर, उनीहरुको भने ज्यान जोगिएको छ । दूतावासका अनुसार अन्य ८ जनालाई बुधबार टर्की हुँदै नेपाल फर्काइसकिएको छ भने ६ जनालाई फर्काउने प्रयास भइरहेको छ । ६ जना अझै त्रिपोलीस्थित आईओएमको क्याम्पमा रहेका छन् ।
नेपाल लगायतका देशबाट मानव तस्करी गरेर इटाली लैजान लिबियाको बाटो प्रयोग गर्ने गरेको पाइएको छ । यस सम्बन्धमा लिबियामा संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा खटिएको नेपाली टोलीले अनुसन्धान गरिरहेको कायरोस्थित नेपाली राजदूतावासले जनाएको छ ।
२०७६ असार १९ गते बिहीबार प्रकाशित