कुमार पौडेलका हत्याराहरूलाई कारबाही गर : भण्डारी (विज्ञप्तिसहित)


काठमाडौँ : जनअधिकार अभियान नेपालले सर्लाहीको लखन्तीमा हत्या गरिएका नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलका हत्याराहरूलाई तत्काल कारबाही गर्न माग गरेको छ । अभियानका अध्यक्ष वरिष्ठ अधिवक्ता एकराज भण्डारीले विज्ञप्ति जारी गर्दै राजनीतिक आस्था र विचारका आधारमा जबरजस्ती रूपमा कसैलाई पनि पक्रन, थुन्न, बेपत्ता पार्ने र हत्या गर्ने कार्य अन्तर्राष्ट्रिय कानुन, नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धिसम्झौता, नेपालको संविधान र प्रचलित नेपाल कानुन विपरीत रहेको जनाएका छन् ।

उनको विज्ञप्तिमा भनिएको छ, ‘मानव अधिकारको सवालमा संवेदनशील भई शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्ने दायित्व भएको नेपाल सरकार, गृह मन्त्रालय र यस मातहतका राज्यका निकायको यस प्रकारको क्रियाकलाप र मौनताप्रति जनअधिकार अभियान नेपाल गम्भीर चासो र चिन्ता व्यक्त गर्दै खेद प्रकट गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ, ‘सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नं १ लखन्ती नदीछेउको जङ्गलमा प्रहरीद्वारा दोहोरो मुठभेडका क्रममा विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई मारिएको भनी विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति जनअधिकार अभियान नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा असार ५ गते राजनीतिक कार्यक्रम सकेर फर्कंदै गर्दा सर्लाही लालबन्दी १ लखन्तीखोलामा जिल्ला इन्चार्ज कुमार पौडेललाई मुठभेड नभई आफ्नो नियन्त्रणमा लिएर बर्बरतापूर्वक सरकारले हत्या गरेको कुरा उल्लेख छ ।’

भण्डारीले वक्तव्यको अन्त्यमा भनेका छन्, ‘उक्त घटनाको सत्यतथ्य छानबिन गर्न, दोषीहरूलाई कारबाही गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न, मानिसको सम्मानपूर्वक बाँच्न पाउने हकको रक्षा गर्न, राजनीतिक क्रियाकलापमा सहभागी भई आफ्ना विचार व्यक्त गर्न पाउने अधिकारको सुनिश्चितता गर्न, भविष्यमा यस्ता घटना हुन नदिन र मानव अधिकारको सम्मान गर्न नेपाल सरकार, राष्ट्रिय मानव अधिकार आयोग, संयुक्त राष्ट्र सङ्घका नेपालस्थित कार्यालयहरू, मानव अधिकारका क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्घ संस्थालगायत सम्पूर्ण सम्बन्धित सरोकारवाला निकायसमेतको ध्यानाकर्षण गराउँदै मानव अधिकारको रक्षा, संरक्षण र संवद्र्धन गर्नकालागि सम्बन्धित सबैमा जनअधिकार अभियान नेपाल आग्रहसमेत गर्दछ ।’

अभियानले राजनीतिक विवादका विषय वस्तुहरू वार्ता, संवाद र छलफलबाट समाधान गर्न सम्बन्धित पक्षहरूसँग अनुरोध पनि गरेको छ । अभियानले कुमार पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको परिवारप्रति गहिरो समवेदना पनि प्रकट गरेको छ । विज्ञप्तिको पूर्णपाठ…

२०७६ असार १० गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :