सरकारी बर्बरताकाविरुद्ध नेकपाको नेपाल बन्द

बन्द सफल पार्ने सबैलाई महासचिव विप्लवद्वारा धन्यवाद (विज्ञप्तिसहित)


काठमाडौँ : आफ्नो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई हत्या गरेको विरोध स्वरूप नेकपाले आह्वान गरेको एकदिने नेपाल बन्दका कारण देश पूर्ण रूपमा ठप्प भएको छ । बन्दका कारण देशका सानाठूला सहर ठप्प भएका छन् भने लामोे तथा छोटो दूरीका यातायात, उद्योग, कारखाना र शिक्षण संस्थाहरू बन्द भएका छन् ।

बन्दको दिन बन्दकर्ताहरूले देशका दर्जनौँ ठाउँमा बम विस्फोट गराएका छन् । ठाउँठाउँमा बन्दको अवज्ञा गरेको भन्दै सवारी साधनमा आगो लगाइएका घटना पनि सार्वजनिक भएका छन् । काठमाडौँ, नुवाकोट, चितवन, नवलपरासी, रूपन्देही, दाङ, रुकुम, रोल्पा, सुर्खेत, कैलाली, पोखरा, विराटनगर, झापा, धनकुटालगायत ठाउँमा बम फेला परेका छन् । यस्तै ठाउँठाउँमा बन्द अवज्ञा गर्ने सवारी साधनमाथि आगो लगाइएको छ । अछाममा २ वटा वडा कार्यालयमा आगो लगाइएको छ । नेपाल बन्दको पूर्वसन्ध्यामा देशैभर मशाल जुलुस निकालिएको थियो ।

नेपाल बन्दको दिन बेलुका प्रेस विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले बन्द सफल बनाउने देशभक्त, वामपन्थी शक्ति, क्रान्तिकारी शक्ति, प्रगतिशील पक्ष, पार्टी पङ्क्ति र जनता सबैलाई धन्यवाद दिएका छन् । साथै विप्लवले आफ्नो पार्टीप्रति जनलहर बढिरहेका कारण अत्तालिएको सरकार क्रान्तिकारी पार्टीमाथि दमनमा उत्रिएको बताएका छन् । साथै वली सरकारले राष्ट्रघात र जनघातमा यस अघिका सरकारलाई पनि उछिनेको छ भन्दै विप्लवले आफ्नो पार्टीले आयोजना गरेको नेपाल बन्द सफल बनाउन सहयोग गर्ने देशभक्त, राष्ट्रवादी, क्रान्तिकारी शक्ति, जनता र आम पार्टी पङ्क्तिलाई धन्यवाद दिएका छन् ।

यस अघि ६ गते विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले देशलाई भयानक भिडन्ततिर धकेल्ने र सत्ता लम्ब्याउने बदनियतले निःशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिँदै हत्या गरेको भन्दै नेपाल बन्द घोषणा गरेका थिए । गैरन्यायिक हत्यामाथि पर्दा हाल्न सरकारले कथित भिडन्तको कथा सार्वजनिक गरेको उल्लेख गर्दै उनले हत्या गरिएका कुमार पौडेललाई सहिद घोषणा गरेका थिए । साथै क्रान्तिको प्रक्रियामा बदलालिने प्रतिबद्धता व्यक्त गर्दै र सक्रिय रक्षामा रहँदै वली सरकारको षड्यन्त्रविरुद्ध सशक्त प्रतिरोध गर्न पार्टी नेता–कार्यकर्तालाई आह्वान गरेका थिए । विज्ञप्तिको पूर्णपाठ….

२०७६ असार १० गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :