रुपन्देहीमा १४ जनाले गरे सामुहिक बलात्कार


काठमाडौँ : बलात्कारीलाई उचित कारवाही हुन नसक्दा दिनदिन घटना बढिरहेका छन् । निर्मला पन्तलगायतका बलात्कार घटनाका दोषीलाई कारवाही हुन नसक्दा बलात्कारीको मनोबल बढिरहेको छ । बलात्कारमा एकपछि अर्को अमानवीय घटना घटिरहेका छन् ।

यसैक्रममा रुपन्देहीको गैडहवा गाउँपालिकामा १४ जनाको समूहले युवतीको सामुहिक बलात्कार गरेका छन् । उनीहरुले दुई युवतीको सामूहिक बलात्कार गरेका हुन् । त्यो पनि सरकारले विश्वास गरेका मान्छेको अगुवाईमा ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका गैंडहवा संयोजक जीवन ज्ञवालीको नेतृत्वमा युवतीलाई उद्दार गर्न घटनास्थल पुगेको समूहले उल्टै बलात्कार गरेको पीडितले बताएकी छन् ।

यो घटना यही असार २ गते साँझको हो । स्थानीय विष्णु थारु चौधरीसँग गैडहवा ९ नागेश्वरीचोकबाट फर्किदै गर्दा दुई जना युवतीमाथि आक्रमण गरे । एक युवती भाग्न सफल भइन् तर पछि अरु युवाहरुको समूहले उनलाई पनि छोडेन ।

राति १० बजे ज्ञवालीसहितका युवाहरु घटनास्थल पुगे । वरपरबाट १० जना जम्मा भए । उनीहरुले पीडित युवतीलाई उद्दार गर्न छोडेर बलात्कार गर्न थाले । उनीहरुले अरुलाई पनि बोलाए गाउँका १४ जना पुरुष घटनास्थल पुगेर सामुहिक बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रातको समय भएकाले बलात्कार गर्ने ज्ञवाली र चौधरीलाई मात्र चिनेको पीडित युवतीहरुले बताएका छन् । पहिचान भएका चौधरी पनि फरार छन् । अरु १२ युवाको भने पहिचान हुन सकेको छैन ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका गैंडहवा संयोजक ज्ञवालीलाई ईलाका प्रहरी कार्यालय लुम्बिनीले पक्राउ गरेको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

दुवै युवतीको स्वास्थ्य उपचार गरिएको र अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

२०७६ असार १० गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :