कुमार पौडेल हत्याकाण्ड छानबिन गरी एक साताभित्रै प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन

हत्याको घटनाबारे सदनलाई जानकारी गराउन काङ्ग्रेसको माग

काठमाडौँ : संसद्को राज्य व्यवस्था समितिले नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटनाबारे छानबिन गरेर एक साताभित्र प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । सोमबार गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी प्रमुख सर्वेन्द्र खनालसँग घटनाबारे जानकारी लिएको समितिले एक साताभित्र सत्यतथ्य प्रतिवेदन बुझाउन निर्देशन दिएको हो ।

प्रहरीको गोली लागेर यही असार ५ गते लालबन्दीमा पौडेलको मृत्यु भएको थियो । जबाफी कारबाहीका क्रममा पौडेल मारिएको सरकारी पक्षको दाबी रहे पनि सत्तापक्षकै र प्रतिपक्षी सांसदहरूले समेत त्यसमा शङ्का व्यक्त गर्दै सत्यतथ्य छानविनको माग गर्दै आएका छन् । मुठभेडमा मारिएको भनिएका कुमार पौडेलको हात ६–७ ठाउँमा कसरी भाँचियो ? भनेर सांसदहरूले प्रश्न उठाएका छन् । यस्तै सोमबारको बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका सत्ताधारी नेकपाका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ ले समेत प्रहरीले मुठभेडमा मारिएको बताए पनि जनताको रिपोर्टले मुठभेडमा मारिएको नभन्ने भन्दै सत्यतथ्य बाहिर ल्याउन माग गरेका थिए ।

हत्याको घटनाबारे सदनलाई जानकारी गराउन काङ्ग्रेसको माग

यसैबीच संसद्को प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्याकाण्डबारे संसद्लाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार शून्य समयमा बडुले पौडेललाई नियन्त्रणमा लिएपछि मारिएको खबर आएको बताएका हुन् । उनले भने, ‘यही असार ५ गते सर्लाहीको लालबन्दी जङ्गलमा दोहोरो भिडन्त भनेर हत्या गरिएका कुमार पौडेललाई नियन्त्रणमा लिएपछि मारिएको भन्ने कुरा स्थानीय तहबाट र छापाहरूमा पर्याप्त आएको छ । यसको यथार्थके हो ? यसको छानबिन गरेर संसद्मा जानकारी गराइयोस् ।’

बडुले विप्लव नेकपालाई मूलधारमा ल्याउन कुन बाटो खोजिँदैछ ? भनेर जानकारी गराउन पनि माग गरे । ‘गृहमन्त्रीज्यूले केही दिन अगाडि संसद्मा सार्वजनिक महत्वका विषयमा वक्तव्य दिँदै विप्लव समूहको हेडक्वार्टरसहित चारवटा कम्पनी बनिसकेको अवस्था जानकारी गराउनु भयो,’ उनले भने,‘यो अवस्थामा सरकार कुन रूपमा बाटो खोज्दैछ, यसको जानकारी चाहियो । वार्ता र संवादबाट विप्लव नेकपालाई मूलधारमा ल्याउने कार्यमा ढिलो भइरहेको हामीले महसुस गरिरहेका छौँ ।’

२०७६ असार ९ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :