गाउँमा जनस्वास्थ्यकर्मीको स्वास्थ्यशिविर

तीन हजारले लिए निःशुल्क स्वास्थ्यसेवा


कपिलवस्तु : झमझम पानी दर्किरहेको थियो । कोही छाता ओडेर त कोही भिज्दै लामो लाममा उभिइरहेका थिए । कपिलवस्तुस्थित शिवगढी नपा ३ भगवानपुरको नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्राङ्गणमा हजारौँको सङ्ख्यामा सर्वसाधारण उपस्थित थिए ।

 

कुनै व्यवस्थित स्वास्थ्य चौकी जस्तो देखिएको उक्त स्वास्थ्यशिविरको व्यवस्थापन र आयोजना सहिद स्मृति प्रतिष्ठान कपिलवस्तुले गरेको हो । हरेक कक्षाकोठामा विभिन्न वार्ड र विभागहरू बनाइएको थियो । शिविर सञ्चालन भने प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घले व्यवस्थापन गरेको थियो । संयोग त के भने कपिलवस्तुमै रहेर पनि अविकसित जस्तै रहेको शिवगढी नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको गाउँ हो ।

कार्यक्रममा विप्लवकै पुत्र प्रकाश चन्दको विशेष भूमिका थियो । प्रकाश हाल अर्थो सर्जन अध्ययन गर्दै गरेका चितवन मेडिकल कलेजका विद्यार्थी पनि हुन् । राज्यको उपस्थिति शून्य प्रायः रहेको ठाउँमा स्वास्थ्यशिविर सञ्चालन गरेर जनतालाई थोरै भए पनि राहत महसुस गराउन खोजेको जनस्वास्थ्यकर्मी महासङ्घको महासचिवसमेत रहेका प्रकाशले बताए । उनले राज्यले गर्नुपर्ने काम जनस्वास्थ्यकर्मी महासङ्घले गरेको र यसलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे ।

 

 

असार ७ र ८ गते २ दिनसम्म चलेको स्वास्थ्यशिविरमा गाइनो, बालरोग, हाडजोर्नी, छाला तथा यौनरोग, नाक, कान तथा घाँटी, प्रयोगशाला लगायत विभागहरूबाट बिरामी जाँच गरिएको थियो । पहिलो दिन १ हजार ५० जना बिरामी स्वास्थ्य जाँचमा सहभागी भए भने दोस्रो दिन १५ सय भन्दा बढी बिरामीले स्वास्थ्य परीक्षण गराएका थिए । सर्वसाधारणले स्वास्थ्यशिविर अझ लम्ब्याउन अनुरोध गरेका थिए ।

शिविरकालागि औषधि जनस्वास्थ्यकर्मी महासङ्घले व्यवस्थापन गरेको थियो भने डाक्टर, नर्स, सीएमए, ल्याब असिस्टेन्ट लगायत विभिन्न रोगका विशेषज्ञहरूसहित ४० जनास्वास्थ्य विज्ञको समूहले शिविरमा स्वास्थ्य परीक्षण गरेको थियो । कार्यक्रमको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु, अखिल (क्रान्तिकारी) लगायतले गरेका थिए ।

२०७६ असार ९ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :