
काठमाडौँ :अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घले सङ्घका केन्द्रीय सल्लाहकार समितिका संयोजक कुमार पौडेलको हत्याप्रति आक्रोश व्यक्त गर्दै पौडेललाई सङ्घका तर्फबाट प्रथम सहिद घोषणा गरेको छ ।
सङ्घका अध्यक्ष ओमप्रकाश पुनले ६ गते विज्ञप्ति जारी गरी भनेका छन्, ‘सङ्घका केन्द्रीय सल्लाहकार समितिका संयोजक कुमार पौडेललाई केपी वलीको सामाजिक दलाल फासिवादी सरकारको हत्यारो पुलिसले यही असार ५ गते सर्लाही जिल्लाको लालबन्दी १ लखन्ती खोलामा कथित मुठभेडका नाममा गोली हानी निर्ममतापूर्वक हत्या गरेको घटनाप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । हामी केपी वलीको दलाल सरकारको जनहत्यारो पुलिसको यसप्रकारको गैरन्यायिक हत्याको घोर निन्दा एवम् भत्र्सना गर्दछौँ ।’
अध्यक्ष पुनको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सर्लाहीलगायत देशभरका भूमिहीन सुकुमबासीहरूको हक, अधिकार र मुक्तिका खातिर दिनरात क्रियाशील योद्धा कमरेड कुमार पौडेलको कायरतापूर्ण हत्याले हामी सम्पूर्ण भूमिहीन सुकुमबासीलाई निकै मर्माहत बनाउनुका साथै आक्रोशित पनि बनाएको छ । हामी यो हत्याको विरुद्धमा देशभरका भूमिहीन सुकुमबासीहरूलाई एकताबद्ध भएर सङ्घर्षमा उत्रिन अपिल पनि गर्दछौँ । हामी हाम्रो सङ्गठनका तर्फबाट कमरेड कुमार पौडेललाई सङ्गठनको प्रथम सहिद पनि घोषणा गर्दछौँ ।’
विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘उहाँको हत्याका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको असार १० गतेको नेपाल बन्दलगायत कार्यक्रमप्रति पूर्ण सहभागिता र ऐक्यबद्धता पनि जनाउँछाँै । हामी हाम्रो सङ्गठनका अभिभावक तथा जुझारु योद्धा कमरेड कुमार पौडेलको कायरतापूर्ण हत्याको बदला लिने र शोकलाई शक्तिमा बदल्ने प्रण पनि गर्दछौँ । यसमा मानवअधिकारकर्मी, नागरिक समाज, मित्र सङ्गठन, सञ्चारकर्मी, बुद्धिजीवी र न्यायप्रेमी जनसमुदायलाई आआफ्नो ठाउँबाट सहयोग गरी गैरन्यायिक हत्याको निष्पक्ष छानबिन गरिदिन पनि हार्दिक अपिल गर्दछौँ ।’
सङ्गठनले हामी शोकाकुल परिवारप्रति गहिरो समवेदना र सहिद कुमार पौडेलप्रति हार्दिक श्रद्धाञ्जली पनि व्यक्त गरेको छ ।
मिति २०७६ असार ६ गते शुक्रबार प्रकाशित