धादिङ : धादिङ जिल्लाको बाझ गाउँमा बिहीबार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कार्की गाउँबाट तरकारी लिएर बैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जिप गल्छी गाउँपालिका ६ को बाझ गाउँमा सडकबाट २० मिटर तल खस्दा घटनास्थलमै चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक हेमराज घिमिरेका अनुसार तरकारी बिक्री गर्न बजार झरेका किसान चढेको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका १० जनाको धादिङको गल्छी र धार्केका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरूलाई भने काठमाडौँ पठाइएको उनले बताए । मृतक र घाइतेको सनाखत भएको छैन ।
कच्ची सडकको साँघुरो घुम्तीमा चालकले जिप नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए ।
२०७६ असार ६ गते शुक्रबार प्रकाशित