प्रतिबन्ध चिर्दै अखिल (क्रान्तिकारी)को विरोधसभा


तनहुँ : सरकारले प्रतिबन्ध लगाउँदा लगाउँदै प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) तनहुँले विरोधसभा सम्पन्न गरेको छ । तनहुँको भानु नगरपालिका कुकुर्दीस्थित कालिका माविमा विरोधसभा आयोजना गरिएको सङ्गठनले जनाएको छ ।

यसैगरी तनहुँको छाब्दी माविका शिक्षकहरुसँग संगठनले अन्तरक्रिया गरेको जानकारी एक विद्यार्थी नेताले दिएका छन् । गत जेठ २५ गते घान्द्रुकको उरीबाट विद्यार्थीहरुको शान्तिपूर्ण बैठकमा घेरा हाली १८ जना नेता–कार्यकर्तालाई गिरफ्तार गरेको र उच्च अदालतले निर्दोष साबित गर्दै रिहाइको आदेश दिँदासमेत पुनः पक्राउ गरेको विरोधमा सभा आयोजना गरिएको बताइएको छ ।

देशैभरबाट प्रहरीले विद्यार्थीलाई गिरफ्तार गर्ने र झूट्टा मुद्दा लगाउने क्रम बढेकाले विरोधसभा आयोजना गरिएको जानकारी एक विद्यार्थी नेताले दिए ।

यसै सिलसिलामा आइतबार कास्की र तनहुँका विभिन्न स्कुल र क्याम्पसहरुमा कालो ब्यानर टाँगिएको क्रान्तिकारीले जनाएको छ ।

यसैगरी विद्यार्थीमाथि प्रहरीले गरेको दमनको विरोधमा यही असार छ गते अखिल (क्रान्तिकारी)ले कास्कीलगायत विभिन्न ११ जिल्लामा आम शैक्षिक हडताल आयोजना गरेको छ । घान्द्रुकबाट हिरासतमा लिइएका १८ जनामध्ये नौ जनालाई राज्यविरुद्धको मुद्दा र बाँकीलाई सार्वजनिक मुद्दा लगाइएको थियो ।

राज्य विरुद्धको मुद्दा लगाइएकाहरुले गरेको बन्दी प्रत्यक्षीकरण रिटमा उच्च अदालतले रिहा गर्न आदेश दिएपछि प्रहरीले उच्च अदालत परिसरबाटै विद्यार्थी नेताहरुलाइ पुनः पक्राउ गरेर मुद्दा चलाउने तयारी गरिरहेको स्रोतले जनाएको छ । बाँकी सार्वजनिक मुद्दा लगाइएका केही विद्यार्थीलाई सोमबार रिहा गरेको छ भने विद्यार्थी दीपेन्द्र बुढालाई पुनः पक्राउ गरी पर्वत लैजाने तयारी गरिरहेको बुझिएको छ । प्रहरीले राजनीतिक आस्थाका आधारमा विद्यार्थीमाथि यस्तो दमनकारी नीति अपनाएपछि अखिल (क्रान्तिकारी) आक्रोशित बनेको छ ।

२०७६ असार २ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :