अदालतको आदेश नमानेको भन्दै बार आन्दोलित


पोखरा : अदालतले रिहाइको आदेश दिएका नेपाल कम्युनिस्ट पार्टी कास्कीका नेता–कार्यकर्तालाई बार परिसरबाटै पुनः पक्राउ गरेको विरोधमा उच्च अदालत बार एसोसिएसन पोखरा आन्दोलित बनेको छ ।

पक्राउ परेका नेकपाका कार्यकर्तालाई उच्च अदालत कास्कीले रिहा गर्न दिएको आदेश लगत्तै कास्की प्रहरीले बार कार्यालय भित्रैबाट पक्राउ गरेको भन्दै बार एसोसिएसन आन्दोलित बनेको हो ।

बार कास्कीले सोमबार प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढासमक्ष ज्ञापनपत्र बुझाउँदै उच्च अदालत बार एसोसिएसन पोखराले अदालत परिसरबाट यस्तो कार्य भएकोमा चिन्ता एवम् चासो व्यक्त गरेको छ ।

बार एसोसिएसन पोखराका सदस्यहरुले प्रहरीको रबैयाविरुद्ध आन्दोलित भएको जनाएका छन् । शान्तिपूर्ण ¥याली प्रदर्शनपछि ज्ञापनपत्र बुझाउँदै उच्च अदालत बार एसोसिएसन पोखराका अध्यक्ष रोहितराज बास्तोलाले यही जेठ ३० गते बार एसोसिएसन पोखराभित्रको कार्यालयबाट गैरकानुनी तवरले कास्की प्रहरीले नेकपाका ९ जनालाई पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनीहरुलाई जेठ २५ गते दिउँसो कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ११ उरीमा रहेको आमा समूहको भवनबाट प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई राज्यद्रोहको मुद्दा लगाइएको भए पनि राज्यद्रोहविरुद्ध यथेष्ट प्रमाण नभेटिएको भन्दै न्यायाधीश तेजबहादुर कार्कीसहितको संयुक्त इजलासले रिहा गर्ने फैसला सुनाएको थियो ।

कास्की प्रहरीले रिहा भएका ९ जनालाई पुनः पक्राउ गर्न उच्च अदालत पोखरा बाहिर दिउँसैबाट घेरा हालेको थियो । पुनः पक्राउ पर्ने भएपछि बार एसोसिएसन पोखराको कार्यालयभित्र रहेका नेकपाका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर मध्यरातमा पक्राउ गरी राति १ बजे डाँडाको नाक प्रहरी चौकी पु¥याएको थियो ।

प्रहरीले अदालतको आदेश नमानेको भन्दै कास्कीका मानव अधिकारकर्मी, कानुन व्यवसायी र नागरिक समाजका अगुवाहरु आन्दोलित भएका छन् ।

२०७६ असार २ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :