नियोजित रूपमा उत्तेजना फैलाउँदै सरकार

केपी वली सरकारले नियोजित रूपमा नेकपाविरुद्ध सुरक्षा निकायलाई उत्तेजित बनाउने शृङ्खला सुरु गरेको छ । सरकारी निकायका मुखबाटै भनाउँदा जनताले नपत्याउने भएपछि वली सरकारले विभिन्न स्रोत र शक्ति दुरुपयोग गर्दै सुरक्षा निकायलाई भड्काएर दुवै पक्षलाई उत्तेजित बनाउने षड्यन्त्र गरिरहेको छ । कहिले सैनिकलाई हपहरण गरेको भनाएर, कहिले सुरक्षा निकायका पूर्वअधिकृतलाई कारबाही गर्ने हल्ला फैलाएर त कहिले प्रहरीचौकीमाथि आक्रमण गर्न लागेको हल्ला फैलाएर सरकारले आतङ्कित र उत्तेजित पार्ने भद्दा गोयबल्स शैली अपनाइरहेको छ । यो उसको राजनीतिक मात्र नभएर प्रशासनिक असफलताको सङ्केत पनि हो । पराजित मानसिकताले गर्ने यस्तै हर्कतहरू हुन् । यी निन्दनीय छन् ।

नेकपामाथि प्रतिबन्ध लगाएपछि चैनको सास फेर्ने दुस्वप्न देखेको केपी वली सरकार यतिबेला झन् धेरै विक्षिप्त देखिएको छ । सेनाका पूर्वअधिकृतदेखि कूटनीतिज्ञहरूसम्म, देशभित्रका क्रान्तिकारी, देशभक्त र राष्ट्रवादी शक्तिदेखि सर्वसाधारणसम्मले नेकपामाथि लगाइएको प्रतिबन्धका विरुद्ध खुलेर विरोध गरेपछि र नेकपामाथि लगाइएको प्रतिबन्धको असर समाप्त हुँदै गएपछि वली सरकार विक्षिप्त देखिएको हो । चुनावमा दिएका गुलिया नाराबाट प्राप्त मतको दुरुपयोग गर्दै गाउँगाउँमा सिंहदरबारको भ्रष्टाचार पु¥याएपछि र राष्ट्रघात–जनघात उत्कर्षमा पु¥याएपछि यतिबेला दैनिक वली सरकारको बदनामीको पारो बढिरहेकै छ । आफ्नो बदनामी र अलोकप्रियताको लाज ढाक्न वली सरकारले ठाउँठाउँमै नयाँनयाँ गोयबल्सहरू नियुक्त गरेर लोकप्रियताको पारो बढिरहेको नेकपा र उसका क्रियाकलापविरुद्ध विष बमन गरिरहेको छ । पछिल्लो समयमा वली सरकार नेकपाविरुद्ध सुरक्षासंयन्त्रलाई उत्तेजित पार्ने र भड्काउने खेती गरिरहेको छ । आफ्नो बदनामी, कमजोरी र असफलता ढाक्न एउटा देशभक्त तथा क्रान्तिकारी शक्तिमाथि सरकारले गरेको यो निन्दनीय कार्य हो । देशद्रोहीहरूलाई फूलमाला लगाउने र देशभक्त क्रान्तिकारीहरूलाई देशद्रोहीको आरोप लगाउँदै जेल भर्ने कार्य गैरराजनीतिक र आपराधिक हो । यसको जताबाट र जति भत्र्सना गरे पनि कमै हुन्छ ।

सरकारको योजनामा हालै नेपाल कम्युनिस्ट पार्टीले सुरक्षा निकायमाथि आक्रमण गर्न लागेको आसयसहितको भ्रमपूर्ण समाचार सामाजिक सञ्जालमा सम्प्रेषण गरियो । नेकपाले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको स्पष्ट पार्दै आफ्नो पार्टीद्वारा प्रहरीचौकीमा आक्रमण प्रयास भएको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र भएको विज्ञप्ति जारी ग¥यो । उक्त पार्टीले विज्ञप्ति जारी गर्दै ‘सामाजिक दलाल सरकारले हाम्रो पार्टीमाथि दमन गर्ने उद्देश्यले सोलुखुम्बुमा पार्टीद्वारा प्रहरी चौकी आक्रमण गर्ने प्रचारबाजी गरेको, उक्त षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति पार्टीको ध्यानाकर्षण भएको, पूर्वी नेपालमा दमन गर्ने उद्देश्यअनुरूप झूट्टा समाचार प्रसारण गराइएको’ उल्लेख गरेको थियो । यता सामाजिक सञ्जालहरूबाट सुरक्षा निकायलाई उत्तेजित पार्ने समाचार प्रवाह गर्न लगाउनु तर स्वयम् सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारीले ‘प्रहरीचौकी आक्रमणको कुनै सूचना र हल्ला नभएको र प्रहरी पनि परिचालित नभएको’ प्रतिक्रिया दिनुले सरकार कति भयभीत र विक्षिप्तता प्रदर्शन गरिरहेको छ भन्ने बुझ्न कुनै गाह्रो छैन । सरकारी योजना र षड्यन्त्रलाई मद्दत पुग्ने गरी केही दिनअघि अन्नपूर्ण पोस्ट, जनआस्थालगायत केही दैनिक, साप्ताहिक पत्रिका र अनलाइनहरूले यसैगरी सुरक्षानिकायलाई उत्तेजित र भ्रमित पार्ने दुर्नियतपूर्ण र नियोजित समाचार प्रवाह गरेका थिए । पार्टी महासचिव र उपत्यका विशेष ब्युरोले भिन्नाभिन्नै विज्ञप्ति जारी गरी ती सबै पीत खबरलाई खारेज गरिदिएका थिए । ती विज्ञप्तिहरूमा पनि यस्ता कपोलकल्पित, तथ्यहीन, बिनाआधारका भ्रामक र उत्तेजना फैलाउने गलत नियतमा आधारित समाचार सम्प्रेषण गरेको पाइएको जनाइएको थियो । सरकारले आफ्नो स्रात र शक्तिको दुरुपयोग गरेर यस किसिमका हर्कतहरूलाई शृङ्खलाबद्ध रूपमा अघि बढाइरहेको छ । यो उसको पराजित मानसिकताको उपज हो ।

वली सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको छ । करिब तीन महिनाअघि लगाइएको प्रतिबन्धविरुद्ध नेकपा मात्र होइन, सरकारी नेकपाका कयौँ नेता– कार्यकर्ता, अधिकारकर्मी, प्रतिपक्ष सबैतिरबाट विरोध भएपछि यतिबेला वली सरकार इतिहासकै सबैभन्दा पङ्गु सरकारका रूपमा चित्रित हुँदै गएको छ । प्रेस, मानवअधिकारलगायत स्वतन्त्रता र न्यायका पक्षपाती एकाइमाथि अङ्कुश लगाउन वली सरकारले ल्याएको विधेयकविरुद्ध आज देश आन्दोलित छ । नेकपामाथि लगाइएको प्रतिबन्धका कारण आज वली सरकार बदनाम छ । सिङ्गो जनसमुदाय सरकारसँग आक्रोशित छ । यसरी सम्पूर्ण जनमत आफ्नाविरुद्ध केन्द्रीकृत हुँदै गएपछि आफूमाथिको आक्रोशबाट जनताको मन अन्यत्र मोड्न वली सरकार नियोजित रूपमै नेकपामाथि अनर्गल प्रचार गराइरहेको छ । धमिरा लागिसकेको बूढो रूखझैँ भित्रभित्रै मक्किइसकेको वली सरकारले शक्तिशली बन्दै गएको नेकपाविरुद्ध यस्ता कमजोर र बासी शैली किन प्रयोग गरिरहेको होला, आफैँमा लज्जाजनक विषय छ । दुईतिहाइको दम्भ लिएर हिँडेको वली सरकारले यस्ता कलाविहीन नाटक गरेर समाज भड्काउने हर्कत नगरेकै राम्रो । सम्पादकीय

२०७६ जेठ २३ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :