प्रतिबन्ध, बम विस्फोट र असरहरू

२०७५ फागुन २८ गते राती १० बर्से जनयुद्धपछिको १३ बर्से नेपाली राजनीतिक मञ्चमा खलबली र तरङ्ग पैदा गर्ने गरी दुईतिहाइ बहुमतको घमण्ड र विदेशी मालिकहरूको आशीर्वाद प्राप्त, गठनलगत्तै आलोचना र टिप्पणीको केन्द्रमा रहेको फासिवादी वली–प्रचण्डमण्डलीको सरकारले ‘राष्ट्रिय स्वाभिमान र जनताको समृद्धिको नारा’ अन्तर्गत राष्ट्रघात, जनघात, भ्रष्टाचार, महँगी, कालोबजारी, वाइडबडीकाण्ड, निर्मला पन्तकाण्ड, चिनीकाण्ड, तेलकाण्ड, सुनकाण्डजस्ता काण्डैकाण्डको दलदलमा फसेको राष्ट्रलाई बर्बादीबाट बचाउन जनअधिकारका पक्षमा सङ्घर्ष गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्धको घोषणा गर्दै चैत महिनाभित्रै पत्तासाफ गर्ने उद्घोष ग¥यो जब कि त्यसको अघिल्लो दिन विखण्डनकारी र साम्राज्यवादीको मतियार भनिएका सीके राउतलाई रातो कार्पेट बिछ्याएर सिंहदरबारमा स्वागत ग¥यो । सरकारले ऊसँग गरेको ११ बुँदे सम्झौताले जनता र राष्ट्रको अहित गर्ने चर्चा बजारमा थियो । यो निर्णयले एकाएक नेपाली राजनीतिक मञ्च तात्न पुग्यो । केपी–पीकेका एकाध आपराधिक गिरोहका हनुमानबाहेक चारैतिरबाट यो निर्णयका विरुद्ध आक्रोश पोखियो । निर्णय फिर्ता लिन, देशलाई सङ्कटमा नधकेल्न भन्दै विभिन्न पार्टीसम्बद्ध राजनीतिकर्मी, मानवअधिकारकर्मी, बुद्धिजीवी, उद्योगी, व्यवसायी, सेना, प्रहरीका पूर्व–उच्चपदस्त अधिकृत, पत्रकार र आमनागरिकका तर्फबाट अनुरोध भइरहेको समय सरकारले ३५ दिनभित्र हतियार बुझाउने समयसीमा तोक्दै स्थितिलाई अझै विस्फोटक र उत्तेजनात्मक बनाउने दुष्प्रयास ग¥यो । देशव्यापी दमन अप्रेसन चलाउँदै पार्टीका सयौँ नेता–कार्यकर्तालाई गिरफ्तार गर्ने, यातना दिने, घरघरमा पसी खानतलासी गर्ने, झूट्टा मुद्दा लगाउने, अदालतद्वारा बेकसुर साबित भई रिहाइको आदेशपछि पुनः गिरफ्तार गरी नक्कली मुद्दा खडा गर्ने, विभिन्न जिल्ला घुमाउने र कपिलवस्तुमा त नियन्त्रणमा लिई गोली हानी घाइते बनाउनेसम्मको निकृष्ट हर्कत ग¥यो । आखिर प्रतिबन्धको निर्णय किन ग¥यो सरकारले ? देशव्यापी दमन अभियान किन चलायो ? यसका कारणबारे सङ्क्षिप्त चर्चा गरौँ :

१. राजनीतिक कारण

नेपालको राजनीतिक इतिहासमा दसबर्से जनयुद्ध एक महान् र युगान्तकारी आन्दोलन थियो जसको प्रभाव विश्वव्यापी थियो । यो क्रान्ति नेपालका प्रतिक्रियावादी र विश्वका साम्राज्यवादी शक्तिकेन्द्रका लागि भयङ्कर टाउको दुखाइको विषय बनेको थियो । हार र जितको रस्साकस्सी चलिरहेकै थियो । जब शान्तिप्रक्रियाका नाउँमा माओवादी क्रान्तिका सम्पूर्ण उपलब्धिहरू (जनसेना, जनसरकार, जनअदालत, आधारइलाका, जनकम्युन) नष्ट गर्न प्रतिक्रियावादीहरू सफल भए, अझ त्यसका नायक मानिएका प्रचण्डलाई संसद्वादको मतियार बनाउन सफल भए, उनीहरूले चैनको सास फेरेका थिए । आफ्नो दलाल चरित्रको संसदीय सत्तालाई चुनौती दिने कुनै शक्ति नरहेको निष्कर्ष निकालेका थिए, कतैबाट खतरा छैन भनी ढुक्क थिए, राष्ट्र र जनताउपर लुट मच्चाइरहेका थिए । तर जब उनको स्वर्गमा भूकम्प जाने गरी हामीले प्रचण्ड– बाबुरामले फालेको क्रान्तिको रातो झन्डा उठायौँ र क्रान्तिको उद्घोष ग¥यौँ, त्यसपछि लुटेराहरूको निद्रा खतम भयो । पार्टी स्थापनाको चार वर्ष पूरा नहुँदै नेकपा एक वैकल्पिक शक्ति र जनताको आशाको केन्द्र बन्न पुग्यो । देश–विदेशमा हाम्रो पक्षमा तयार भएको जनमत र मङ्सिर ८ गतेको काठमाडौँको विशाल जनप्रदर्शनले वली–प्रचण्डलाई आतङ्कित बनायो । यसर्थ जनताको बीचबाट कटाउन, अरू राजनीतिक सङ्घर्ष थेग्न नसक्ने भएपछि बद्नाम वली–प्रचण्डको आतङ्कित मानसिकताको उपज बनायो प्रतिबन्ध ।

२. विषयान्तर गर्न

झन्डै दुई वर्षअघि सम्पन्न स्थानीय निर्वाचन र करिब एक वर्षअघि सम्पन्न सङ्घ र प्रदेशको चुनावी मैदानमा संसद्वादीहरूले जनतामाझ बाँडेका हावादारी सपना र गरेका मीठा भाषणको ठीक विपरीत केन्द्र, प्रदेश र स्थानीय सरकार जनतालाई लुट्नमै तल्लीन रहे । ‘घरघरमा सिंहदरबार’ पु¥याउने यिनको नाराभित्र वडा र टोलटोलमा सिंहदरबारका भ्रष्टहरू पो पुगे । करको भारले जनतामा हाहाकार छायो, विकास बजेटमा भएको ब्रह्मलुट इतिहासमै माथि पुग्यो । हाम्रो राष्ट्रिय स्वाभिमानको अवस्था ‘विगतमा पराधीन नभएको, वर्तमानमा स्वाधीन नरहेको’ स्थितिमा पुग्यो । व्यापारघाटा नौ खर्बभन्दा बढी रहेको तथ्याङ्क सार्वजनिक भयो । हत्या–हिंसा र काण्डहरूको परिचालकका रूपमा सरकारको अनुहार उदाङ्गो भयो । महँगीले जनता आधा पेट खाएर बाँच्न विवश भए भने कतिपय ठाउँमा सामूहिक आत्महत्याजस्ता हृदयविदारक घटनाले सरकारमा पुगेकाहरूले चुनावको बेलामा गरेका वाचा जनता झुक्याउने ललिपप मात्र भएको साबित ग¥यो । वलीको राष्ट्रवादको धोती मोदी आगमनको समय थाहै नपाउने गरी नराम्ररी फुस्कियो । गएको एक वर्षसम्म सरकारले उल्लेख गर्न लायक एउटा पनि काम गर्न सकेन । नेपाल र नेपालीको अवस्था झन्पछि झन् कमजोर बन्दै गयो । विदेशी ऋणको बोझले थिचिएर जनताको हालत झन् खराब बन्दै गयो । तब सरकारका विरुद्ध आक्रोशको फोहोरा छुट्न थाल्यो । वली यताबाट टाल्न खोज्छन्, उताबाट भ्वाङ पर्छ, उताबाट टाल्न खोज्छन्, यताबाट भ्वाङ ! आफ्ना कमजोरी र अपराध टाल्दाटाल्दै सरकार हैरान ! जनताका आवाजको प्रतिरोध गर्ने क्षमता यी नैतिक हराम दलालसँग हुने कुरा पनि भएन । एउटा राम्रो मौका र बहाना चाहिएको थियो वलीलाई जनताको ध्यान अन्यत्र मोड्न । संयोगवश त्यही समय एनसेल टावरमाथि हमला र नख्खुमा एक सर्वसाधारणको मृत्युको घटना भयो । यहीँनेर मिल्यो उखानटुक्के नेतालाई सुवर्ण अवसर र आयो प्रतिबन्ध ।

३. फौजी कारण

वली–प्रचण्ड संवादमा प्रायः के कुरा उठ्ने गर्दथ्यो भने विप्लव राजनीतिक रूपमा एउटा शक्ति त बन्यो नै तर यसले फौजी पाटोबाट आफूलाई सुदृढ गर्न पाएको छैन । यसैले मौका यही हो, ढिला गर्नु हुन्न, उनीहरूको षड्यन्त्रकारी मगजले भन्यो । नभए जनयुद्धकालीन समयमा तत्कालीन राज्यले गरेको कमजोरी दोहोरिन पुग्छ । कलिलैमा निमोठ्नु नै बुद्धिमानी हुने निचोड थियो उनीहरूको । अझ त्यसमा पनि नेकपाका केही नेता–कार्यकर्ताको लापरबाहीका कारण सरकारको हातमा महत्वपूर्ण दस्ताबेज, सैन्य सामग्री र प्रविधि एवम् ‘दुई नम्बर कम्पनी– आधारभूत सैन्य तालिम’ लेखिएको ब्यानर नै सरकारको हातमा पुग्यो । अझ त्यसमाथि सत्ता–राजनीतिको हिसाबले जनयुद्धलाई आतङ्ककारी गतिविधि घोषणा गर्दै सङ्कटकालको सहारा लिएर नियन्त्रण गर्न खोज्ने एमाले सत्ताको बागडोर समालिरहेको छ भने जनयुद्धका योजनाकार– डिजाइनर प्रचण्ड उसको वर्तमान सत्ता–सारथि रहेको बेला ढिला गर्नुपर्ने कुनै कारण थिएन । अझ जनयुद्धबारे समीक्षा गर्दा त्यस समय राज्यले २०५२–०५८ को अवधिमा सशस्त्र शक्ति परिचालनमा गरेको कमजोरीको निष्कर्ष छ उनीहरूसँग । २०५२–०५८ को झन्डै ६ वर्षका अवधिमा माओवादीले सैन्य हिसाबले आफूलाई सुदृढ गरेको र पछि सेना परिचालन गर्दा पनि माओवादी नियन्त्रणमा नआएको उनीहरूलाई तितो अनुभव छ । त्यसैले फौजी रूपमा सुदृढ र विस्तार नहुँदै घाँटी अँठ्याउने र दमनमार्फत क्रान्तिको हत्या गर्ने योजनाका साथ प्रतिबन्ध आयो ।

४. प्रतिपक्षलाई तर्साउन

प्रतिपक्षी नेपाली काङ्ग्रेस र अन्य दलले बेलाबेलामा सरकारलाई दबाब दिएर हैरान पारिरहेका थिए । वली– प्रचण्डजस्ता स्वार्थी, दम्भी र मैमत्त चरित्र बोकेका माान्छेहरूका लागि यो पाच्य भइरहेको थिएन । यसैले ‘छोरी कुटेर बुहारी तर्साउने’ उखानटुक्काले दिमाग भरिएको वली र कपटी प्रचण्डले हामीलाई प्रतिबन्ध लगाउने र अरूलाई संसद् र सबैतिर दबाउने नीतिअन्तर्गत प्रतिबन्धको झटारो हान्यो– एक तीर दुई सिकार !

प्रतिबन्धका असरहरू

हाम्रो पार्टीलाई प्रतिबन्धले पारेको असरबारे नकारात्मक र सकारात्मक गरी दुई तरिकारले प्रकाश पार्न सकिन्छ । हुनत सरकारले गरेको यो हमलापछाडिको उद्देश्य हामीलाई सम्पूर्ण रूपले नष्ट गर्नु नै हो तर सधैँ यस्तो हुँदैन ।

१. नकारात्मक असर
(क) प्रतिबन्धलगत्तै सरकारले बढाएको देशव्यापी धरपकड र दमन अभियानले सुरुको चरणमा पार्टी–जीवनलाई केही हदसम्म अस्तव्यस्त बनायो ।
(ख) प्रतिबन्धले पार्टी कार्यकर्ताहरूमा एक हदसम्म त्रास–आतङ्क सृष्टि ग¥यो ।
(ग) दुस्मनको चाललाई सही तरिकारले बुझ्ने र सोहीअनुरूप कार्यशैली अवलम्बन गर्न नसक्दा कैयौँ महत्वपूर्ण कमरेडहरू दुस्मनको कब्जामा परे ।
२. सकारात्मक असर
(क) प्रतिबन्धले पार्टीमा तलदेखि माथिसम्म राजनीतिक, वैचारिक, सङ्गठनात्मक र भावनात्मक रूपमा शक्तिशाली एकता पैदा ग¥यो, पार्टीलाई अझ सुदृढ बनायो ।
(ख) पार्टीमा प्रतिरोधी र फौजी मनोविज्ञानको विकास गरायो ।
(ग) पार्टीलाई सदृढ गर्न मद्दत पु¥यायो । कहिलेकहीँ दुस्मनको चाल र योजनाले यो कार्यलाई सहज बनाउँछ । प्रतिबन्धपछिको दमन अभियानले क्रान्तिका नाउँमा फाइदा लिन लुकेर बसेका अवसरवादीहरूलाई सतहमा ल्याइदियो । यसका लागि वली महोदयलाई धन्यवाद नदिनु अन्याय हुन्छ ।

३. शुद्धीकरण

जब कमरेड महासचिव विप्लवले पार्टी केन्द्रमा स्पष्ट क्रान्तिको खाका प्रस्तुत गर्नुभयो, त्यस समय नै पार्टी क्रान्तिको बलमा कमाउधन्दा चलाउने मनसाय बोकेका कतिपय केन्द्रीय सदस्य विप्लवलाई तथानाम आरोपको वर्षा गर्दै प्रचण्डको फोहोरी संसदीय आहालमा गौरवका साथ हाम्फाल्न पुगे । प्रचण्डको पाउमा छाँद हाल्दै आफूहरूले गल्ती गरेको बयान दिँदै अवसरवादी डम्फु बजाउन पुगे । अहिले ती भगौडा र इतिहासका ज्युँदा लासहरू हाम्राविरुद्ध भत्तावाल सीआईडी र अफवाह फलाउने संयन्त्रका विश्वासपात्र बनेका छन् ।

प्रतिबन्धको अन्य असर

१. प्रम वलीले प्रस्ताव गरेको प्रतिबन्धका पक्षमा आफ्नो मन्त्रिमण्डललाई नै एकमत बनाउन सकेनन् । प्रस्ताव अगाडि बढाउनासाथ मन्त्री मातृका यादवले चर्को स्वरमा विरोध जनाए भने खानेपानीमन्त्री एवम् प्रचण्डकी बुहारीले पनि मातृका यादवको स्वरमा स्वर मिलाइन् । वनमन्त्री सुरेश सिंह पनि प्रतिबन्ध प्रस्तावका विपक्षमा उभिए र ऊर्जामन्त्री वर्षमान पुनले सुरेश सिंहकै तालमा लय मिलाए ।

२. प्रतिबन्धका पक्षमा सरकारी नेकपा आफैँ एक ढिक्का हुन सकेन । केपी–पीकेमण्डलीका आपराधिक चरित्र बोकेका बाहेक पार्टीको ठूलो पङ्क्ति यसको विपक्षमा उभियो । वली–प्रचण्ड यो बहसमा आफ्नै पार्टीलाई एकै ठाउँमा उभ्याउन असफल भए । वरिष्ठ नेता माधव नेपालले त सार्वजनिक मञ्चमै ‘यो सरकारको काम हो, नेकपाको हैन’ भनेर प्रतिबन्धको खुला विरोध गरे । नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, भीम रावलदेखि कृष्णबहादुर महरा, जनार्दन शर्मासम्मले हामी (पार्टी प्रतिनिधि) सँगको भेटमा प्रतिबन्धको खुलेर विरोध गरे र आफूले सक्दो सहयोग गर्ने वचन दिए ।

३. प्रतिबन्धको बहसले संसद्वादी पार्टीहरूलाई दुई खेमामा उभ्यायो । दलाल चरित्र बोकेका र सत्ताका निमित ¥याल काढ्ने एकाध अवसरवादी पार्टीबाहेक संसदीय मूल धाराका धेरै पार्टी र नेताहरूले प्रतिबन्धका विरुद्ध उभिए । यो स्थितिले वली–प्रचण्डलाई उकुसमुकुस बनायो ।

४. सिङ्गो राष्ट्रलाई प्रतिबन्धले दुई भागमा बाँडिदियो । विदेशीका तलुवा चाट्नेहरूले प्रतिबन्धलाई नमीठो गन्ध डकार्दै स्वागत गरे भने राष्ट्रका असली प्रतिनिधि–राजनीतिकर्मी, नगारिक समाज, मानवअधिकारकर्मी, उद्योगी, व्यवसायी, बुद्धिजीवी, पत्रकार, सङ्घ–संस्था, सेना प्रहरीका पूर्वअधिकृतलगायत सबैसबैले सरकारी रबैयाको धज्जी उडाउँदै प्रतिबन्धको सातो लिए । उनीहरू सबैले हामीलाई संयम अपनाउन र जिम्मेवार बन्न अपिल गरे ।

‘मुर्दालाई ताकेको बन्चरो घुँडोलाई’ भनेझैँ प्रतिकूल परिस्थितिको मारमा परे प्रचण्ड–वली । खपिनसक्नु भएर उनीहरू पागलपूर्ण प्रलापमा उत्रिए । गृहयुद्धको बहाना खोज्दै हास्यास्पद र कुतर्क गर्दै मिथ्या आरोपको वर्षा गर्न थाले । यसो भनेर भएन, उसो भनेर भएन, जेजेभन्दा पनि स्थिति विस्फोटक बन्छ; त्यहीत्यही भन्दै गए देशका यी धमिराहरू किनकि, यिनलाई राष्ट्रको माया छैन, जनताको पर्वाह छैन । बेतुकको तर्क र उखानको बाढीमा हामीलाई बगाउने दुःस्वप्न थियो उनीहरूको । सबै सबैले हावा खायो !

उनीहरूको अनुभव र अनुमान थियो, जब राज्य प्रतिबन्ध लगाएर दमनमा उत्रिन्छ, हाम्रो पार्टी उत्तेजित भएर चौकी आक्रमणमा उत्रिन्छ, दसबर्से जनयुद्धमा झैँ । उनीहरूले यस्तै कल्पना गरेका थिए । त्यसपछि राज्यको पूरै शक्ति हाम्राविरुद्ध हमलामा आउने दाउ थियो । हाम्रो निशानामा त न चौकी थियो, न उद्योगी–व्यवसायी नै । हामीले युद्ध चाहेका थिएनौँ, हामीले चाहेका थियौँ क्रान्ति । जनताको जीवनमा शान्ति, समृद्धि र ठाडो शिर गरेर उभिएको हाम्रो मातृभूमि । हाम्रो राष्ट्र र जनताको जिम्मा लिने सङ्कल्प गरेर उभिएको पार्टी हो, जनतालाई अधिकारसम्पन्न गराउन खडा भएको पार्टी तर यी दलालहरू हाम्रो र जनताको जीवनमा अभाव थोपरिरहेका छन्; यिनै हुन् हाम्रो राष्ट्र र जनताका बैरी । यिनै हुन् तपाईं–हाम्रा साझा दुस्मन । उनीहरू देशलाई युद्धमा धकेल्न चाहन्छन् । प्रतिबन्धभित्रको डरलाग्दो र भयङ्कर सत्य यही हो ।

यो कुरा हामीले बुझ्यौँ । नेपाली सेनाले बुझ्यो । सशस्त्र प्रहरी, जनपद प्रहरी, शान्ति चाहने र जनताको जीवनमा सुख चाहने सबैले यो कुरा बुझ्नुभयो र हामी सफल भयौँ । प्रतिबन्धले स्वागत गर्न खोजेको भयङ्कर अनिष्ट चकनाचुर भयो । आगामी दिनमा हाम्रो सहकार्य अझ धेरै जरुरी रहनेछ । हामी राष्ट्रको उज्यालो भविष्य र जनताको सुन्दर जीवन चाहन्छौँ । यसैले तपाईं हाम्रो एकता अनिवार्य छ । विदेशी मालिकको आशीर्वादमा उभिएका दलालहरू हाम्राविरुद्ध यस्तै षड्यन्त्र गर्छन् र विपत्ति निम्त्याउने दुस्साहस गर्छन् । हाम्रो सामूहिक तागतमा यसको जमेर प्रतिरोध गर्नुपर्छ । तपाईं–हामीलाई कसैले हराउन सक्दैन– जनता र राष्ट्रको स्वप्निल संसार सम्भव छ ।

हामीविरुद्ध प्रतिबन्ध घोषणालगत्तै गृहप्रशासनको नाउँमा जारी गरेको विज्ञप्ति र वली–प्रचण्डले सार्वजनिक कार्यक्रममा दिएको भाषणमा बारम्बार प्रयोग भएका केही शब्दले हामीलाई गम्भीर बनाएको छ । उनीहरूले जनतालाई दिग्भ्रमित गर्दै प्रत्येक भाषणमा हामीलाई ‘लुटेरा’ भएको दाबी गरेका छन् । देशको ढुकुटीमा ब्रह्मलुट मच्चाउने, जनमुक्ति सेनाको अर्बौं रुपैयाँ हिनामिना गर्ने, सार्वजनिक जमिनमा आफ्नै पार्टीका नेताले कब्जा गरेको तथ्य सार्वजनिक हुँदा पनि चूँसम्म नबोल्ने वली–प्रचण्ड लुटेरा कि भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ भन्ने हामी लुटेरा ? अर्को डरलाग्दो आरोप हो ‘ आतङ्कवादी ।’ राष्ट्र र नागरिकको जीवनमा चौतर्फी सङ्कट र अशान्ति मच्चाउने, घरघरमा रुवाबासी गराउने, भोकभोकै जनता मराउने, वली–प्रचण्ड आतङ्कवादी कि नागरिकको जीवनमा शान्ति–समृद्धि हुनुपर्छ भन्ने हामी आतङ्कवादी ? अर्को बीभत्स र क्रूर आरोप हो ‘हत्यारा’ । नौजवान युवकयुवतीलाई स्वदेशमै रोजगारी दिनुको साटो विदेशमा नर्कतुल्य जीवन भोग्न बाध्य बनाएर मार्ने को ? वैदशिक रोजगारीमा जान बाध्य पारिएका, अस्मिता अपहृत भएका हाम्रा छोरीचेलीको क्रूर हत्या र कहालीलाग्दो आत्महत्याको कारक को ? हरेक दिन मृत–जीवनको जिम्मेवार को ? युवालाई यहीँ रोजगारी दिन, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न, उद्योगधन्दा खोलौँ भन्ने हामी हत्यारा कि वली–प्रचण्ड ? नागरिकलाई बेकसुर मृत्युको मुखमा धकेल्ने हत्यारा कि हामी ?

नेता महोदयको अर्को सङ्गीन आरोप हो, ‘ विध्वंसकारी ।’ जुन सरकार देशको हरेक क्षेत्रलाई बर्बाद गरिरहेछ, विध्वंसकारी ऊ हुन्छ कि राष्ट्रलाई बर्बादीबाट बचाउनुपर्छ भन्नेहरू ? गृहप्रशासनको प्रत्येक वक्तव्यमा हामीलाई लक्षित गर्दै आरोपित गरिएको हुन्छ, ‘हिंसात्मक तत्व’, ‘आतङ्क मच्चाउने तत्व ।’ आज नेपाली जनताको जीवनमा कहाँ छ शान्ति ? शिक्षालाई व्यापारीकरण गर्ने राज्यको गलत नीतिका कारण कमजोर आर्थिक अवस्थाका कारण चाहेको विषयबाट वञ्चित हुने लाखाँैँ विद्यार्थीको जीवनमा शान्ति छ ? रोगले थला परेका र पैसाको अभावमा काल कुरेर बाँच्न विवश नेपालीको जीवनमा शान्ति छ ? चालीस लाखभन्दा बढी सुकुमबासी जसको नाउँमा एक इन्च जमिन छैन, शान्ति छ उसको जीवनमा ? विदेशी दलाल पुँजीको मारमा थिचिएर थला परेका, टाटपल्टेका र सडकमा झरेका राष्ट्रिय पुँजीपति, उद्योगी– व्यवसायीमा छ शान्ति ? आधा पेट खाएर मालिकको मार सहेर मूल्यहीन जीवन बाँच्न बाध्य लाखौँ मजदुरको जीवनमा छ शान्ति ? अशान्तिको सर्जक संसदीय व्यवस्था र त्यसका सारथि वली–प्रचण्ड अशान्ति मच्चाउने तत्व कि यो कहालीलाग्दो जीवनबाट नागरिकलाई बचाउने क्रान्तिकारी अभियन्ता हामी अशान्तिको तत्व ? खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने दोकान हो संसदीय सत्ता । यसको विशेषता नै अशान्ति हो किनकि पुँजीवाद भनेको हिंसा हो, हत्या, लुटपाट र अत्याचार हो । दलालहरू जे गर्छन्, त्यो बोल्दैनन्; जे गर्दैनन्, त्यो जोडतोडले हल्ला गर्छन् ।

प्रतिबन्धले नेपाली राजनीतिमा सानोतिनो भूकम्प नै ल्याइदियो । सरकार २०७२ वैशाख १२ भन्दा पनि भयङ्कर र विध्वंसकारी हर्कत गर्न चाहन्थ्यो । यसैले उनीहरूलाई हाम्रा नेता–कार्यकर्ताको धरपकड र राजनीतिक कार्यक्रममा रोक लगाएर मात्रै पुगेन । उनीहरूको रक्तपिपासु आत्मालाई नेपाल आमाका होनहार छोराहरूको रगत नपिई धित मरेन । कतिपय गिरफ्तारीमा झुटो मुठभेडको नाटक रचियो भने कतिपयमा विप्लवको भयानक तयारी भनेर प्रचार गरियो । यसैको उत्कर्ष थियो, भोजपुर र खोटाङ जिल्लाको सीमावर्ती क्षेत्र टेम्केमैयुङ गाउँपालिका वडा नं २ को धोत्रे जङ्गलको जेठ ७ गतेको घटना । जहाँ पार्टी काममा हिँडेका क. तीर्थ घिमिरेलाई घेरा हाली गिरफ्तार गरेर पहिला खुट्टामा गोली हानियो, अमानुषिक यातना दिइयो । त्यतिले पुगेन वली–प्रचण्डलाई । अनि निर्ममतापूर्वक नौजवान युवाको कत्लेआम गरियो । पुनः प्रचार गरियो सङ्कटकाल सम्झाउने गरी– मुठभेडमा एक आतङ्ककारी मारियो, हातहतियार बरामद !

वातावरण एकाएक रापिलो भयो । हत्याको विरोधमा चौतर्फी आक्रोश पोखियो । हाम्रो पार्टी र आम जनसमुदायलाई शोकाकुल बनायो । आँखाहरू रसाए । मनहरू बेचैन भए । मुठीहरू कसिए र पार्टीले प्रतिरोधस्वरूप जेठ १३ गते नेपाल बन्द आह्वान ग¥यो । घटना असामान्य थियो । बदलामा मुटुहरू रोकिएका थिए । सामान्य कोणसभा र जुलुसमा पनि राक्षसी दमन गर्ने हत्याराहरूलाई आफ्नै तरिकाले चोटिलो जबाफ दिनुपर्ने बाध्यकारी स्थिति सिर्जना भयो । खुलेआम घोषणा गर्नु थियो– हत्या र दमनको यो शृङ्खला जारी राखे तिम्रो महलमै पनि सुरक्षित छैनौ तिमी । तिम्रै सहरमा सुरक्षित छैनौ तिमी । यसैले यिनका बहिरा कानलाई ठूला धमाका सुनाउनु थियो, जनताको तागत बुझाउनु थियो । तिनको अपराध कति गम्भीर छ, त्यसको बोध गराउनु थियो । यसका निम्ति जेठ १३ गतेको बन्द शक्तिशाली बनाउनु थियो । यो क्रान्तिकारीको आफ्नै तरिका थियो । प्रतिरोधको दायित्व थियो । किनकि केपी–पीकेको खुनी हर्कतले सीमा नाघिरहेको थियो । नेपाली धर्तीमा भोजपुरको पाखामा राष्ट्रलाई अति नै माया गर्ने नौजवान तीर्थ घिमिरेको ज्यान लिइएको थियो– देश बेच्ने दलालहरूबाट । यो क्षण पीडाको थियो, वेदनाको थियो अनि थियो बदला र आक्रोशको ।

यही जिम्मेवारी पूरा गर्न जुटेका थिए जेठ १२ गतेको बिहानैबाट नौजवान युवाहरू, आँखाभरि आँसु र मुटुभरि आक्रोश बोकेर हत्याराहरूको मुटुमै क्रान्तिकारी दमाहा ठोक्ने उच्च मनोबलसहित । दिन ढल्किँदै थियो– समय आफ्नै गतिमा बगिरहेको थियो । बेखबर थियो काठमाडौँ । खबरभित्रै पनि थियो काठमाडौँ । तर घडीले ४ः२० मिनेटको सङ्केत गर्दै थियो । प्राविधिक गड्बडीका कारण राजधानीको मुटु कम्पायमान हुनेगरी विस्फोट भयो, घट्टेकुलो र सुकेधारामा । बमको भयङ्कर आवाज र कालो धुवाँसँगै विलीन हुन पुगे क. महान्, क. दीपेन्द्र, क. निरन्तर र क. प्रज्वल । एकपटक फेरि आँखामा बारुद विस्फोट भयो । अन्धकार छायो चारैतिर । पीडाले गाँज्यो मुटुहरू र स्तब्ध भयो समय । हामीले उहाँहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्छौं र घाइते कमरेडहरूको शीघ्र स्वास्थ्यलाभको कामना ! र गर्छौं प्रतिबद्धता वैज्ञानिक समाजवाद प्राप्तिको महान् बाटोमा हामी उनीहरूको बलिदान कदापि खेर जाने दिनेछैनौँ । घटनापछि धेरै कोणबाट प्रतिक्रिया र टिप्पणी आए । धेरैलाई केही भन्नु छैन तर मानवीय संवेदना गुमाएका केही पाखण्डीले ‘अरूलाई थाप्ने पासोमा आफैँ’ भनेर दाह्रा ङिच्याएको धेरैलाई मन परेन । कैयौँ समाचार एकदमै भ्रामक, तथ्यहीन र उत्तेजना फैलाउने प्रकारका पनि आए । हुनत गन्तव्यमा लम्किएको हात्तीलाई पछाडिबाट आवाज दिने भुस्याहा कुकुरहरूको कुनै पर्वाह हुँदैन तर वातावरणमा ध्वनि प्रदूषण भने पक्कै हुँदो रहेछ ।

यी सबै घटना–दुर्घटनाको ‘मुहान’ हो प्रतिबन्ध र त्यसको केन्द्रमा छन् वली–प्रचण्ड । यिनको फासिवादी दिमागले ल्यायो प्रतिबन्ध । प्रतिबन्ध नआएको भए प्रतिरोध हुँदैनथ्यो । भोजपुरमा हत्या नभएको भए नेपाल बन्द आउँदैनथ्यो । बम जरुरी नहुँदा यो दुर्घटना हुँदैनथ्यो । यो घटना नहुँदा युवाहरू सहिद हुँदैनथे । तसर्थ तथ्यहरूका आधारमा भन्न सक्छौँ– यी साराका सारा घटनाका कारक वली–प्रचण्ड सरकार हो । मैले यो आलेखलाई बिट मार्दै गर्दा हाम्रा अनुभवहरूका आधारमा भन्नैपर्छ– सङ्घर्षमा, क्रान्तिमा, कहिलेकहीँ प्राविधिक गडबडीका कारण अकल्पनीय, हृदयविदारक र भयानक दुर्घटना हुने गर्छन् । मैले पनि क्रान्तिमा यस्ता धेरै भोगेको छु, पढेको छु, देखेको छु र सुनेको छु । तत्कालीन भारतीय कम्युनिस्ट पार्टी (पिपुल्स वार ग्रुप) हाल भाकपा माओवादीले एम– ३६ ग्रिनेटको प्रविधि आफूले परीक्षण गर्दा पार्टीका एक होनहार कमरेड गुमाउनुपरेको थियो । उनी सहिद भए र पिपुल्स वार ग्रुपले आफ्नै उत्पादनको ४–३६ को ग्रिनेट पायो । हाम्रै जनयुद्धमा पश्चिम नेपालमा ८१ एमएम तोपको मोर्टार (सेल) निर्माणपछि प्रयोग गर्ने क्रममा तोपको ब्यारेल नै विस्फोट भयो र हामीले अति महत्वपूर्ण कमरेडहरू गुमाएका थियौँ । पञ्चायतविरुद्ध लडिरहेका रामराजाप्रसाद सिंहका एक कार्यकर्ता २०४२ सालमा पोखरामा टाइम बम बनाउँदै गर्दा विस्फोटमा परे र बमको धमाकासँगै उहीँ टुक्राटुक्रा भए । नेपाली सेनाको जागिरमा रहेका कतिपय जवान र अफिसर यस्तै दुर्घटनाको सिकार हुने गरेका छन् । मैले कैयौँसँग साक्षात्कार हुने मौका पाएको छु । आज हामी जुन विज्ञान–प्रविधिको प्रयोग गरिरहेका छौँ, त्यसका लागि हाम्रा हिजोका धेरै वैज्ञानिकले आफ्नो अमूल्य जीवन बलिदान गरेका छन् र उनका रगतसँग साटिएका प्रविधि प्रयोग गर्दै हामी अगाडि बढिरहेका छौँ ।

तोड्छौँ हामी प्रतिबन्ध तिम्रो घेराबन्दी
क्रान्ति हाँक्ने वीरहरूको हेर लामबन्दी
हुन्छ जित सत्यको तिमी हार्नेछौ
हामी जित्नेछौँ सुन तिमी हार्नेछौ ।।

२०७६ जेठ २२ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :