लिँडे कुकुरको हविगत

कविता

देख्यौ ?
कुकुरबाट पुच्छर
पुच्छरबाट कुकुर छुटि सक्यो
अब पर्खनु छ र हेर्नु छ
लिँडे कुकुरहरूको हविगत ।

उतिखेर
गल्लीको छेँडबाट हामी हिँड्यौँ भने
यिनै कुकुरहरूको नेतृत्वमा हो
हामीलाई घेराबन्दी पारेर
भुस्याहा कुकुरहरूले आक्रमण गरेका
यिनै कुकुरले भुक्न उक्साएर नै हो
टोलभरि सन्त्रास पोतिएको ।

कुकुरहरू
स्वाभाविकै असभ्य हुन्छन्
जङ्गली हुन्छन्
आफ्नो क्षेत्रमा नचिनेका आए भने
भुक्छन्, टोक्छन्
झुत्रे झाम्रै देखे भने
उछित्तो काट्छन्
सुकिला मुकिला,
सुटेट बुटेट आए भने
लुरुक्क हुन्छन्
बडो वर्गीय दमन गर्ने
शोषक, सामन्त चरित्रका हुन्छन्– कुकुरहरू ।

कुकुरहरू
फरक फरक हुन्छन्
कुनै
बिरालो जस्ता गाँठीका हुन्छन्
कुनै
स्याल जस्ता खिरिला हुन्छन्
कुनै
बाघ नै सिध्याउने जङ्गी स्वभावका हुन्छन्
मुल अनुसार
भारतीय,
कोरियन,
चाइनिज,
जापानिज,
जर्मन,
बेलायती,
फ्रेन्च,
इटालियन जस्ता
भिन्न भिन्न हुन्छन्– कुकुरहरू ।

यो गल्लीको यो छेँडमा बस्ने कुकुरहरू
सबै मुलका हुन्
मौका मिले
आआफ्ना मौलिक विशेषता अनुसार
आफू आफू पनि
बाझ्न पछि पर्दैनन् कुकुरहरू ।

यति बेला
सबै कुकुरहरू पुच्छरविहीन छन्
त्यसैले
कुकुरलाई लाग्ने झिँगाबाट बँच्न
शरीरमा आएको लुतो कनाउन
समय बितेकैले हुनु पर्छ
जो कोही आए पनि भुक्दैनन्
बरु आफ्नै शरीरमा
मुख गाडेर रगताम्मे बनाउँदै
लुतो कनाउँछन्
फनफन घुम्छन्
घरी यो कुना
घरी ऊ कुना गरी हिँड्छन् ।

देख्यौ ?
कुकुरबाट पुच्छर
पुच्छरबाट कुकुर छुटि सक्यो
अब पर्खनु छ र हेर्नु छ
लिँडे कुकुरहरूको हविगत ।

२०७६ जेठ २२ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :