मिडिया काउन्सिल विधेयक फिर्ता नभए सडक आन्दोलन हुने


काठमाडौं : प्रेस स्वतन्त्रता सेनानीले गत वैशाख २६ गते संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता नलिइए सडक आन्दोलनमा जाने बताएका छन् । सोमबार संयुक्त प्रेसविज्ञप्ति जारी गर्दै उनीहरूले संसद्मा दर्ता भएको उक्त विधेयक फिर्ता लिएर सरोकारवालाहरूसँग छलफल गर्न सरकारसँग माग गरेका छन् ।

विभिन्न समयमा नेपाल पत्रकार महासङ्घद्वारा प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित ३३ जना वरिष्ठ पत्रकार तथा लेखकहरूले संयुक्त विज्ञप्ति जारी गरेर संसद्मा दर्ता भएको उक्त विधेयक फिर्ता गराउन नेपाल पत्रकार महासङ्घद्वारा जारी आन्दोनलमा आफूहरूको ऐक्यबद्धता रहेको बताएका छन् । उक्त विधेयक नेपालको संविधान, लोकतान्त्रिक मूल्य र मान्यता एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको पे्रस स्वतन्त्रता सेनानीहरूको दाबी छ ।
विज्ञप्तिमा प्रस्तावित मिडिया काउन्सिल विधेयक नेपालको संविधान, लोकतान्त्रिक मूल्य र मान्यता एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको ठहर गर्दै यो विधेयक फिर्ता वा संसद्मा छलफल हुनुपूर्व संशोधन नभएसम्म पत्रकार महासङ्घलगायत सङ्घ÷संस्थाले थालेको अभियानमा पे्रस स्वतन्त्रता सेनानीहरूको निरन्तर साथ रहने उल्लेख छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक हक तथा मानव अधिकारको रक्षा पनि भएकाले प्रेस स्वतन्त्रताका अभियन्ता र आम नागरिकहरूको संयुक्त न्यायिक आन्दोलनमार्फत सफलता हासिल गरिछाड्ने उनीहरूको विश्वास छ । विज्ञप्ति जारी गर्नेहरुमा हरिहर विरही, गोपाल थपलिया, केशवराज पराजुली, भैरव रिसाल, दुर्गा बराल, रामरिझन यादव, मेघराज शर्मा, किशोर नेपाल, सुरेश आचार्य, कौशल चेम्जोङ, तारानाथ दाहाल, दिल सहानी, माधव आचार्य, गोविन्दसिंह थापा, सुशील गौतम, कुसुमकेशव पराजुली, कृष्णा ताम्राकार, गया यादव, रामनारायण देव, रीता गुरुङ, शिवबहादुर कार्की, याम प्रधान, बद्रीविनोद प्रतीक, नारायण भट्टराई, झपेन्द्र वैद्य, चिरञ्जीवी अर्याल, हर्ष सुब्बा, कन्हैयालाल केसरी, धर्मेन्द्र झा, गोपाल गुरागाईलगायत छन् ।

२०७६ जेठ २० गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :