किन चाहिन्छ विद्रोही शक्ति ?

aasthaआस्था घिमिरे
मेरो मानसपटलमा यतिबेला एउटा मर्मस्पर्सी कथाले साध्यै छोएको छ । त्यो कथालाई यहाँ उल्लेख गर्न उपयुक्त ठान्छु । एउटा गाउँमा आमाछोरा बस्छन् । आमाको आँखा हुँदैन । एउटा आँखा नभएको कारणले ती महिला असाध्यै कुरूप देखिन्छिन् । छोरालाई आमा कुरूप भएको रत्तिभर मन पर्दैन । आमा भने छोराको पढाइ र पालनपोषणका लागि दिनरात बनीबुतो गर्छिन् । छोरालाई सफाचट बनाएर स्कुल पठाउँछिन् । अर्काको भारी बोकेरै भए पनि राम्रै स्कुलमा पढाउँथिन् । आफू भोकै बसेर भए पनि छोरालाई मीठो खुवाउँथिन् । एक दिन आमाछोराको स्कुलको मासिक शुल्क तिर्नका लागि स्कुल गएकी हुन्छिन् । छोरालाई आफ्नी आमा स्कुल आएको मन पर्दैन । छोरो खुब रिसाउँछ र बेलुका घर आएर आमासँग खुब झगडा गर्छ । ‘साथीहरूका आमा कति राम्रा छन् । तिमी कुरूप बुढी, स्कुल गएर साथीहरूको अगाडि मेरो बेइज्जत ग¥यौ । अब यस्तो कुरूप अनुहार लिएर स्कुल नआउनू ।’ छोराले आमालाई भन्यो । आमा बोलिनन् । चित्त दुखाएर भित्रभित्र रोइन् तर छोरालाई नराम्रो लाग्ला भनेर केही नभनी अबदेखि स्कुल नजाने बाचा गरिन् ।

छोरो पढेर ठूलो भयो । देशविदेशमा उसले चर्चापरिचर्चा कमायो । धन, सम्पत्ति, घर, गाडी, ऐस, आराम सबै प्राप्त ग¥यो । ऊ आमालाई गाउँमै छोडी सहर गएर बस्यो । विवाह ग¥यो । छोराछोरी जन्मायो । तर आमालाई कहिल्यै माया गरेन । आमालाई गाउँकै छाप्रोमा एक्लै छोडेर गएपछि एकपटक पनि फर्किएन । एक दिन छोराको जन्मदिनमा आमा सोध्दै खाली गोडा र च्यातिएका कपडा लगाएर छोराको ढोकामा पुगिन् । छोराले देखे पनि नदेखेजस्तै ग¥यो । ‘कस्ताकस्ता माग्नेहरू आउँछन्’ भन्दै बुहारीले ढोका लगाइन् ।

बिहानै गेट खुल्ना साथै छोराको आँखा एउटा पत्रमा प¥यो । त्यो पत्र आमाले छोडेर गएकी थिइन् । उसले खाम खोल्यो र पत्र पढ्यो । त्यसमा लेखिएको थियो ः ‘मेरो प्रिय छोरा ! आज तिम्रो जन्मदिन हो । आज ठ्याक्कै तिम्रो आँखाको अप्रेसन गरेको पनि चौबीस वर्ष भयो । डाक्टरले भनेको थियो यो आँखाले २४ वर्ष मात्र काम गर्छ । २४ वर्षपछि यो आँखाले काम गर्न छोड्नेछ । त्यसपछि यो आँखा झिकेर अर्को आँखा प्रत्यारोपण गर्नुपर्छ । हो, तिमी सानो थियौ बाबु त्यतिबेला । तिम्रो बाबा, तिमी र म एकैपटक गाडी दुर्घटनामा परेका थियौँ । तिम्रो बाबा त्यहीँ बित्नुभयो । तिम्रो एउटा आँखा फुट्यो । मेरो खुट्टा भाँचियो । अप्रेसन गरेपछि मेरो खुट्टा निको भयो तर तिम्रो आँखा ठीक भएन । तिमीलाई तिम्रा साथीहरूले एकआँखे भनेर हेपेको सुन्न नसकेर तिम्रो पाँचौँ जन्मदिनमा मैले तिमीलाई आफ्नो आँखा उपहार दिएकी थिएँ । आज २४ वर्ष बित्यो । तिम्रो आँखाको समय सकियो । अब तिमी मजस्तै एकआँखे हुनेछौ अनि तिम्रा छोराछोरीले तिमीले मलाई गरेजस्तै कुरूप भनेर हेला र तिरस्कार गर्नेछन् । मेरो छोरालाई हेला र तिरस्कर गरेको मैले कसरी सहनु बाबु ! त्यसैले मेरो अर्को आँखा पनि तिम्रो २९ औँ जन्मदिनमा उपहार दिन आएकी थिएँ । तिमीले ढोका नै खोलेनौ । मैले गाउँको नेत्र अस्पतालमा बाँकी रहेको एउटा आँखा पनि तिम्रो नाममा दान गरेकी छु । भोलि नै प्रत्यारोपण गर्नू । उही तिम्री आमा !’

यो पत्र हात पर्नासाथ ऊ रुँदै आमालाई भेट्न गाउँ गयो । अफसोच ! आमा मरिसकेकी थिइन् । जुन अस्पतालमा छोराका लागि आँखा दान गरेकी थिइन् त्यही अस्पतालमा आमाको लास मात्र भेट्यो छोराले । हो, अहिले विद्रोही पार्टी त्यही छोरालाई आँखा दान गर्ने आमाजस्तै पीडित भएको छ । देश चुनावमय भएको बेला दसबर्से जनयुद्धमा मृत्युसँग एकाकार गर्ने कार्यकर्ताहरू फेरि हिरासत र जेल पुगेका छन् । चरम यातना भोग्न बाध्य छन् । एमाले र काङ्ग्रेसले फेरि देशमा हालीमुहाली कायम गरेका छन् । राजतन्त्रको अन्त्य, सङ्घीयता, धर्मनिरपेक्षतालगायत विषयवस्तु जुन दसबर्से जनयुद्धको महत्वपूर्ण उपलब्धि हो । यो आमाले छोरालाई गरेको आँखा दानजस्तै हो । अब सामाजिक र राजनीतिक कुनै पनि क्रान्ति नेपालमा आवश्यक छैन भन्ने विषयमा समेत तर्कवितर्कहरू गर्न थालिएका छन् । अब के साँच्चै राजनीतिक क्रान्तिको विश्राम गर्ने बेला आयो त ? पक्कै आएको छैन ।

समाजमा जबसम्म असमानता कायम हुन्छ तबसम्म देशमा विद्रोही शक्ति आवश्यक हुन्छ । विद्रोही शक्ति भनेका उत्पीडित समुदायका आवाज हुन् । विद्रोही शक्ति भनेका समाजलाई गतिशील गराइरहने तत्वहरू हुन् । क्रान्ति लक्ष्यमा पुग्न दौडने दौड हो । कल्पना गरौँ त विद्रोही शक्ति नभएको भए दास युगको अन्त्य हुन्थ्यो होला ? हुँदैनथ्यो किनकि कुनै यस्ता नकाम यथास्थितिवादी शक्तिहरू हुन्छन् जसले परिवर्तित वैज्ञानिक प्रक्रियालाई रोकेर यथास्थितिमा राख्न चाहन्छन् । कुनै पनि चीजलाई यथास्थानमा राख्न खोज्नु भनेको विज्ञानलाई अस्वीकार गर्नु हो । जुनसुकै चीजलाई पनि गति दिनु आवश्यक छ । गतिशील अवस्थामा रहेको शक्तिले मात्र विश्वब्रह्माण्ड धानिएको छ । पानी पनि जमेर बस्यो भने दूषित हुन्छ । कलकल बनेको पानी नै सफा र स्वच्छ हुन्छ । छहरा, ढुङ्गामुढासँग पौँठेजोरी खोल्दै समुद्र भेट्न दौडिएका खोला र झरनाहरू जसरी प्राकृतिक अनुपमका निधिहरू हुन् । त्यसैगरी समाजमा विकृति, विसङ्गति, असमानता, अन्याय, अच्याचारसँग पैँठेजोरी खेल्दै समाजलाई सभ्य र दीक्षित दिशातिर लिएर दौडने साहस गर्ने विद्रोही शक्ति नै समाज विज्ञानका सबैभन्दा ठूला सम्पत्ति हुन् । महात्मा गान्धीले विद्रोहको नेतृत्व नगरेका भए ब्रिटिस साम्राज्यवादबाट भारत मुक्त हुँदैनथ्यो । अब्राहम लिङ्कन विद्रोहीले विद्रोहको नेतृत्व नगरेका भए आजसम्म कालाहरू गोराहरूको दासदासी भएर पशुसरह खरिदबिक्री भैरहेका हुने थिए ।

माक्र्सले विद्रोहको नेतृत्व नगरेको भए विश्वमा न्याय र समाजनताको आवाज आजसम्म दबिएकै हुन्थे । माओले विद्रोहको नेतृत्व नगरेका भए आज चीन विश्व उदीयमान शक्तिका रूपमा हुँदैनथ्यो । आज कतिपयले सतही किसिमका तर्क र वितर्क गर्ने गरेका छन्– देशमा राजनीतिक क्रान्ति पूरा भैसक्यो । यस्ता तर्कहरू केवल सतही र कुतर्कहरू हुन् । वास्तवमा क्रान्ति तबसम्म जारी राख्नुपर्छ जबसम्म देश राज्यविहीन, हतियारविहीन, सेनाविहीन, अदालत र कानुनविहीन उच्च नैतिकवान् हुँदैनन् । हाम्रो देशको अहिलेको परिस्थितिको कुरा गर्ने हो भने सबैभन्दा पेचिलो राजनीतिक र सामाजिक क्रान्तिको आवश्यकता छ । किनकि यहाँ असमानता छ । धनी र गरिबबीच, गाउँ र सहरबीच, महिला र पुरुषबीच यस्तै अन्य धेरै चीजमा असमानता छ । यसलाई परिवर्तन गर्नुपर्छ । त्यसैले क्रान्ति आवश्यक छ । आजसम्म हाम्रो देशमा जुन राजनीतिक उचाइ हासिल भएको छ यो सबै विद्रोही शक्तिको कारण भएको हो । कुनै दिन काङ्ग्रेस पनि विद्रोही शक्तिनै थियो । एमाले र माओवादी पनि विद्रोही शक्ति थिए । आज हाम्रो पार्टी यो व्यवस्था
नै परिवर्तन गर्नुपर्छ भन्ने धारणासहित विद्रोहको नेतृत्व गर्न मैदानमा आउने साहस गरेको छ । जुन समाज र राष्ट्रका लागि नै गौरवको विषय हो ।

उल्लिखित कथामा आमा पात्रले आफ्नो छोरालाई आँखा दिएर समाज र संसार देखाएजस्तै । समाजमा स्थापित गराएजस्तै । विद्रोही शक्तिले राष्ट्रलाई आफ्नो रगत दिएर, जीवन कुर्वानी गरेर सचेत गराएको छ । असम्भव भनिएका राजनीतिक संरचना परिवर्तन गरेर ठूलो योगदान गरेको छ । यसलाई बिर्सने भुल कदापि नगरौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :