रामपुर कृषि क्याम्पसको जग्गा अतिक्रमणविरुद्ध स्थानीय क्रुद्ध

चितवन : गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशाला निर्माण गर्ने नाममा रामपुरमा अवस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयको जग्गा अतिक्रमण गर्ने कामका विरुद्ध स्थानीय जनता र नेकपा चितवनले विरोध जनाएका छन् ।

शुक्रबार नेकपाका जिल्ला सेक्रेटरी ध्र्रुवले प्रेसविज्ञप्ति जारी गर्दै रंगशाला रामपुरबाट अन्यन्त्र सार्न माग गरेका छन् । भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालयको २० बिघा ६ कट्ठा जमिनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशाला निर्माण गर्न लागेको प्रति विरोध रहेको जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘चितवनका अन्य स्थानमा निर्माण गर्ने विकल्प हुँदाहुँदै सत्ताशक्ति दुरुपयोग गरेर कृषि र वन विश्वविद्यालयको जग्गा अतिक्रमण गरी क्रिकेट रंगशाला बनाउने कुरा विश्वविद्यालय र विद्यार्थीको हितमा समेत छैन ।’ 

रंगशाला निर्माणका विरुद्ध जेठ १५ गते सडकमा उत्रिएका स्थानीयलाई गिरफ्तार गरिएको घटनाको विरोध गर्दै नेकपाले गिरफ्तार गरिएका सबैलाई बिनासर्त रिहा गर्न माग गरेको छ । विश्वविद्यालयको हाताभित्र कृषि र वनसँग सम्बन्धित बाहेक अरु कुनै पनि संरचना नबनाउन र जमिन अतिक्रमण रोक्न पनि नेकपाले अनुरोध गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यसलाई अटेर गरिरहेमा हाम्रो पार्टी विश्वविद्यालयको जमिन रक्षार्थ जस्तोसुकै कदम चाल्न बाध्य हुनेछ र त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जबाफदेही भरतपुर महानगरपालिका र सम्बन्धित लगानीकर्ता, गैरसरकारी संस्था हुनुपर्नेछ ।’ 

नेपालमा कृषि वनसँग सम्बन्धित अनुसन्धानमूलक विश्वविद्यालय एउटा मात्र रहेको छ । खाद्य सुरक्षाका लागि नयाँ बिउ, नयाँनयाँ रोगका विषादी उत्पादन गर्न हजारौँ प्रकारका अनुसन्धान र विभाग आवश्यक पर्दछ । पशुसम्बन्धी सयौँ अनुसन्धान अनिवार्य छ । हरेक विभागीय अनुसन्धानका लागि जमिन पूर्वसर्त हो । यही विश्वविद्यायले त्यतिकै विशाल र महत्वपूर्ण वन विज्ञानको भारवहन गर्नुपरेको छ । नेपाल कृषि प्रधान देश मानिन्छ । कृषिको आधुनिकीकरण र विकास नगरी औद्योगिकीकरण सम्भव छैन । त्यसकारण विश्वविद्यालयले राम्रोसँग काम गर्ने हो भने भएकै जमिन अपुग हुन सक्छ । त्यस्तो अवस्थामा कलेजलाई जग्गा थप्नुको सट्टा अतिक्रमण गर्नु दीर्घकालीन, अविवेकीय, गैरजिम्मेवार र प्रचारमुखी हर्कत मात्र हुन जान्छ । रंगशाला निर्माणका लागि भण्डारा, खैरहनी, टिकौली, गुन्जनगरलगायत स्थानमा जग्गा नभएको पनि होइन । त्यसकारण कृषि र वन विश्वविद्यालयको दीर्घकालीन हितविरोधी रंगशाला बनाउने कार्य उक्त स्थानबाट स्थानान्तरण गर्नु मुलुककै हितमा हुन जान्छ । नेकपा चितवनले ढिलै भए पनि उक्त कार्य बन्द गर्न दबाब दिनु सराहनीय कदम हो ।

२०७६ जेठ १९ गते आइतबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :