नेकपाद्वारा देशैभरी सहिदहरुप्रति श्रद्धाञ्जली सभा सम्पन्न

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताको निधनप्रति दुःख व्यक्त गर्दै शुक्रबार देशभर श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

नवलपुरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका लुम्बिनी ब्यूरो सदस्य तथा नवलपुरका इन्चार्ज जुझारुले जनयुद्धको उद्देश्य देशमा जनताको राज्यसत्ता स्थापना गर्ने भएको र त्यो पूरा नगरी केपी–प्रचण्डले संसदवादलाई नै स्वीकार गरेको र सहिदहरुको सपना कैद गरेको बताउदै सहिदका सपना पूरा गर्न अब लड्ने बेला आएको भन्दै सबै जनताहरुलाई तयार रहन आग्रह पनि गरेका छन् । उनले कसैले पार्टी विरुद्ध सुराकी नगर्न र अनावश्यक धरपकड नगर्नेसमेत चेतावनी दिए ।

यस्तै सभालाई सम्बोधन गर्दै कपिलवस्तु जिल्ला सेक्रेटरी सुनिल थारुले सरकारले तानाशाही प्रवृत्ति देखाउदै कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई गोली हानेर मारेको भन्दै भोजपुरमा प्रहरीको गोली लागेर मारिएका तिर्थराज घिमिरेलाई प्रहरीले माथिकै निर्देशनमा योजनाबद्ध हत्या गरिएकोप्रति उनले आक्रोश व्यक्त गरे । सरकारले गोली चलाए जनताहरु पनि चुप नलाग्ने र जवाफ दिने बताए ।

झापाको बिर्तामोडमा पनि श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका जिल्ला सेक्रेटरी सुमनसिंहले विषय वस्तु राख्दै आफ्ना सहयोद्धा, जुझारु, होनहार सपुतहरुले बगाएको रगतलाई खेर जान नदिने बताउनु भयो । उंहाले कार्यक्रममा बोल्दै आफुहरु पनि बलिदानको कोटा चुक्ता गर्न तयार रहेको बताउदै हत्यारो दलाल सत्ता बिरुद्ध भिषण संघर्ष गर्ने उद्घोषसमेत गरेका छन् । कार्यक्रममा जिल्लाका अन्य जिम्मेवार सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

गत जेष्ठ ७ गते भोजपुरको दिक्लामा प्रहरीको गोली लागेर तिर्थराज घिमिरेको निधन भएको थियो, सोही घटना विरुद्धमा संघर्षको कार्यक्रम घोषणा गरेको समय आन्तरिक दुर्घटनामा गोकुल पुन मगर ‘महान’, विभुराम बिश्वकर्मा ‘दिपेन्द्र’, कृष्ण भण्डारी ‘निरन्तर’ र प्रज्वल शाहीको सहादत भएको भन्दै सबै सहिदहरुको सपना पूरा गर्ने प्रतिबद्धता देशैभरीबाट नेकपाका नेताहरुले व्यक्त गरेका छन् ।

२०७६ जेठ १९ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :