क्रान्ति, भ्रम र हाम्रो अभिभारा

इतिहासमा नेपालले विभिन्न समयमा ठूलाठूला आन्दोलन, सङ्घर्ष र बलिदानहरू पार गर्दै आएको छ । विभिन्न कालखण्डमा आन्दोलन र सङ्घर्षका रूप र त्यसले उठाएका मुद्दाहरू भिन्नभिन्न थिए र आज पनि पहिलेभन्दा भिन्न नै छन् । क्रान्ति एउटा यस्तो आँधी हो जसलाई रोक्नसक्ने हैसियत कोही पनि शासकसँग हुँदैन र अन्ततः यसले विजय र लक्ष्यलाई प्राप्त गर्दछ । क्रान्ति आफँैमा यथास्थितिको क्रमभङ्ग हो । यसले नयाँको सूत्रपात र पुरानोको विस्थापन गर्दछ । साथै समयक्रमसँगै विकास हुँदै जाँदा स्वतः विभिन्न रूपहरू धारणगर्दै जान्छ र सञ्चालनपद्धति र यसको वर्गसङ्घर्ष पनि नयाँ विषयसहित विकास हुँदै जान्छ । विश्वका विभिन्न सफल र असफल क्रान्तिबारे अध्ययन गर्दा यस्तो देखिएको पनि छ । जस्तो रुसमा मजदुरले, चीनमा किसानले, क्युबामा थोरै युवाहरूले क्रान्तिको सञ्चालन गर्दै सफलतासम्म पु¥याएका उदाहरण छन् । नेपालमा पनि किसानहरूको सहयोग र सहभागितामा दस वर्षसम्म क्रान्तिको ठूलो लहर आयो तर गद्दार नेतृत्वका कारणगर्दा त्यो आज छिन्नभिन्न भएको छ। आज निकै दुःखका साथ भन्नुपर्छ नेपाल मात्र होला हजारौँको बलिदानसहित वयस्क र लक्का जवान भएको क्रान्तिलाई दलाल नेतृत्वले एक झट्कामा चिहानघाटमा पु¥याएको छ र क्रान्ति शब्द उच्चारण गर्नेलाई समेत पुराना क्रान्तिकारी भन्नेहरूले अपराधी र आतङ्ककारी घोषणा गरी जबर्जस्ती युद्धमा धकेलेर क्रान्तिकारी शक्तिलाई नै नामेट पार्ने अभियान सञ्चालन गरिएको छ । तर आज हामी गर्व गर्छौं दलालहरूले सिध्यायौँ सिद्धियो भनेर चिहानघाटमा फालेको क्रान्तिकारी शक्ति र क्रान्ति चिहानघाटबाट पुनर्गठित र सुसङ्गठित हुँदै नयाँ क्रान्तिकारी मालेमावादी विचार र मार्गदर्शनसहित विकास भइरहेको छ ।

हो, अहिले हामीले नयाँ मार्गदर्शन एकीकृत जनक्रान्तिमार्फत नेपालमा क्रान्तिलाई उठान गरेर विकसित गरिरहेका छौँ र हामी सफल हँुदै पनि छौँ । एकीकृत जनक्रान्तिको चित्र कोर्दै गर्दा आज हामीले उठाएको क्रान्तिकारी आन्दोलनको सञ्चालनपद्धति, यसको शक्ति र मुद्दालाई निकै समय सापेक्षित, वैज्ञानिक र माक्र्सवादी हिसाबले उठाएका छौँ । मध्यम वर्ग वा बौद्धिक श्रमिक वर्ग (डाक्टर, नर्स, इन्जिनियर, पाइलट, लेक्चर, प्रोफेसर, वकिल)र सर्वहारा वर्गलाई जोडेका छौँ । साथै हाम्रा मुद्दाहरूमा अहिलेको सामाजिक दलाल पुँजीवादलाई जरैबाट फालेर वैज्ञानिक समाजवाद स्थापना गर्ने विषय उठाएका छौँ । जहाँ सबै अन्याय, अत्याचार, विभेद, श्रमशोषण, असमान सम्झौता, परनिर्भरता, माफियातन्त्र, दलालीकरणको अन्त्य हुनेछ । शिक्षा र स्वास्थ्यको निजीकरण र व्यापारीकरणको अन्त्य गरी यी र यस्ता अन्य आधारभूत अधिकारहरू नागरिकलाई राज्यद्वारा निःशुल्क र सहजतासहित समान किसिमले वितरण गरिनेछ । अहिलेको हाम्रो पार्टी–सङ्गठनको एउटा मात्र एजेन्डा निसङ्कोच ढङ्गले यो दलाल पुँजीवादले गरिरहेको राष्ट्रघाती सन्धिसम्झौता, भ्रष्टाचार र कालोबजारी, बलात्कार, मजदुरमाथिकोशोषण, महँगी, देशलाई विदेशीको गुलाम बनाउने सबै परिपाटीको विरोध र कडा अनि निर्मम प्रतिवाद गर्नु नै हो र गरिरहेका छौँ । साथै यो विजयको दिशामा अगाडि बढिरहेको छ । यसका लागि हामीले धेरै बलिदानीसहितको मूल्य चुकाएका पनि छौँ र यसका अरू सफलताका खातिर हामी अझै पनि जस्तोसुकै मूल्य र बलिदानी दिन तयार छौँ । यस विषयमा कहिल्यै पनि सम्झौता गरिनेछैन । यसकै सिलसिलाका रूपमा दार्चुला–लिपुलेक, नवलपरासी– शुस्ता, एनसेल कर छूट प्रकरण, निर्मला बलात्कार र हत्या, वाइडबडी भ्रष्टाचार, अजय सुमार्गीलगायत धेरै दलालहरूका अर्बौं कालो धन,बालुवाटार प्रधानमन्त्री निवास जग्गा बिक्री प्रकरण, शिक्षा र स्वास्थ्यको निजीकरण र व्यापारीकरण, असमान कोसी उच्च ड्याम, कोसी तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् सम्झौता, बिचौलिया, दलाल र माफियातन्त्र, राष्ट्रिय उद्योग कलकारखानाको बिक्रीलगायत तमाम राष्ट्रियता, जनजीविका र राष्ट्रिय सुरक्षासँग जोडिएका निकै गम्भीर विषयको उठान गर्दै यसको कडा विरोध र यसका मतियार तथा नाइकेहरूसँग खरो प्रतिवादमामा उत्रिएका छौँ। सम्पूर्ण देशभक्त, राष्ट्रप्रेमी, सच्चा कम्युनिस्ट र लोकतन्त्रवादी शक्ति, बुद्धिजीवी, न्यायालय, सुरक्षा अङ्ग, राष्ट्रसेवक कर्मचारी,विद्यार्थी, मजदुर, किसानहरूलाई विरोधलाई विरोधमा मात्र सीमित नगरी अब विरोधलाई विद्रोहमा बदल्दै सङ्घर्षमा उत्रिन आग्रह गर्दै सबैलाई गोलबद्ध गरिरहेका छौँ । यो निकै सकारात्मक देखिएको छ । आज हामी जुन धरातलमा उभिएर क्रान्ति र विद्रोहको कुरा र कल्पना गरिरहेकाछौँ,हामीलाई निक्कै आशा र विश्वास लागेको छ, हामीजस्ता लाखौँ बौद्धिक श्रमिकले आज यो राज्यव्यवस्थामा वास्तविक शोषण, उत्पीडन र अत्याचारको कहालीलाग्दो पीडा भोगिरहेका छौँ । पेसाले चिकित्सक भएपनि हामी लाखौँ बौद्धिक मजदुरहरूको मनमस्तिष्कमा हामीमाथि भएको थिचोमिचो, श्रम शोषण, विभिन्न असमानतालगायत दर्जनौँ पीडा र आक्रोशले चरम सीमा नाघेको छ । यो वर्ग पनि अहिले विभिन्न सङ्ख्या र विभिन्न शैलीमा विरोध र प्रतिरोधमा हाम्रो क्रान्तिसँगै उभिएको छ । यसले निकट भविष्यमा यो क्रान्तिको आँधीबेहरीलाई सहयोग गर्दै अबका दिनमा बलिदानीगर्ने हैसियत राख्नेछ, यो नै अहिलेको क्रान्तिकारी स्पिरिट र आवश्यकता हो ।

दलाल पुँजीपति फासिवादविरुद्धको यो महासङ्ग्राममा हामीले विभिन्न अप्ठ्याराका साथै घोषित–अघोषित युद्ध र प्रतिबन्धको सामना गर्दै आजका दिनसम्म आउँदा हामीले हाम्रो गौरवशाली सङ्गठन जनमुक्ति सेनाका जुझारु र साहसिक कमान्डर कमरेडदेखि विद्यार्थीका आत्मीय सहयात्री कमरेड प्रज्वललगायत दर्जनको हाराहारीमा बलिदानी गरिसकेका छौँ ।

हो हिजोको बालापन जुन हिसाबले नेपालको दसबर्से जनयुद्धको राप, ताप, बम, गोली बारुद, हजारौँ कमरेडहरूको रगतले लतपतिएको एकसरो लुगा र कठोर पीडा र आँसुको भेलसहित गुज्रेको थियो । त्यसलाई भुल्न नपाउदै यो वयस्क अवस्था फेरि अर्को क्रान्तिकारी सङ्घर्ष र सङ्ग्राममा मुक्ति वा मृत्युको महान् अभियानमा अगाडि बढेको छ । क्रान्तिका खातिर हामीजस्ता हजारौँ न्यायप्रेमी, परिवर्तनकामी युवाहरूका लागि बलिदानी कुनै गाह्रो विषय पनि होइन र हुनेछैन । यो त एउटा हो योद्धाका लागि सबैभन्दा ठूलो गर्वको विषय हुनेछ । आज दलाल फासिवादी सरकारले लगाएको प्रतिबन्धको चौतर्फी आलोचना र विरोध भएको छ र उसको असफलता दिन–प्रतिदिन बढ्दो क्रममा छ । यसलाई ढाकछोप र डाइभर्ट गर्न सबै किसिमका आपराधिक हथकण्डाहरू चलाएको छ । हाम्रा नेताहरूलाई झूट्टो मुद्दा लगाएर पक्राउ गर्ने र दुःख दिने, दोहोरो भिडन्तका नाममा घरमा सुतिरहेका सामान्य शुभचिन्तकदेखि सामाजिक अभियानमा खटिएका जिम्मेवार नेताहरूलाई गोली हानी हत्या गर्ने, सार्वजनिक स्थलमा सामान्य हिँडडुल गर्न नदिने,विद्यार्थीलाई पढ्न नदिने, शिक्षकलाई पढाउन नदिने, मजदुरलाई मजदुरी गर्ने ठाउँबाटै अपहरण गर्नेलगायत विषयहरू । अझ निकै निच, तुच्छ र घटिया विषय त केही दलालहरू र डलरवादीहरूको संरक्षण र सञ्चालनमा रहेका केही अनलाइन न्युज र केही भतुवा तथा लिच्चडहरूको झुण्डले बनाएका सामाजिक सञ्जालका केही समूहहरूले म्याउँम्याउँ गर्दै दुईतीन वर्ष अगाडि पार्किङमा राखिएको एउटा अन्जान अमूक हार्ले डेभिडसन बाइकमा बसेर खिचिएको फोटोकै आधारमा मात्र म र पार्टी नेतृत्वलाई जोडेर जसरी एउटा क्रान्तिकारी आन्दोलनलाई नै हमला गर्ने गरी विभिन्न समाचारहरू बनाएकाछन् र त्यसकै आधारमा आफूलाई निकै तर्क र तथ्यसङ्गत विश्लेषक ठान्ने मनुवाहरूले विभिन्न टीकाटिप्पणी गरेकोदेख्दा दलालहरूको यतिसम्मको कायरतापूर्ण, तुच्छ र निच रूप पनि प्रस्ट भएको छ । अतः यी सबै विषयहरू आफ्ना असफलता र कुकर्मलाई ढाकछोप गरी क्रान्तिकारी वेगलाई अल्मल्याउने षड्यन्त्र मात्र हो भन्ने कुरामा कुनै शङ्का छैन । तर यस्तो षड्यन्त्र गर्दाको नतिजा दलालका ती भतुवा, पेसेवर टट्टुहरूलाई सही समयमा सही हिसाबले दिइनेछ तर दुईचार डलर पाउने आस र दुईचारवटा प्रलोभनमा परी क्रान्तिको झोक्कामा रन्थनिएका दलालहरूको तलुवा चटुवा भएर यस्ता कपोलकल्पित भ्रमपूर्ण विषय उठाएको देखेर ती दलाल र तिनका गाँसे कुकुरहरूप्रति दया लाग्छ तर ती सबै फोहोरका डङ्गुरहरू क्रान्तिकारी ज्वालामा खरानी हुनेछन् । क्रान्तिको यो विषम परिस्थितिमा आमनागरिकले हरेक विषयमा आफ्नो धारणा राख्दै गर्दा त्यसको गहिराइमा पुगेर मात्र विषय राख्दा त्यसको अर्थ रहन्छ । नत्र आफैँलाई दुर्गन्धित गर्नु मात्र हुन्छ । जे होस्, यी र यस्ता भ्रमपूर्ण विषयले क्रान्तिको झन्डा अलिकति पनि डगमगाउनेछैन र यस्ता दुष्प्रयासपूर्ण जालझेल र हाम्रो उच्च बलिदानीले क्रान्तिमा ऊर्जा र गतिको सञ्चार गर्नेछ । आज देश हामीले उठाएको एकीकृत जनक्रान्तिको बाटोमा गोलबद्ध भएको छ र दलाल फासिवादी सरकार आफ्नो हरेक असफलताबाट अत्तालिएर वार्तालगायतअन्य थप भ्रमहरू लिएर अगाडि आएको छ तर हामीले हाम्रा होनहार सहिद कमरेडहरूसँगै रातो टीका र मुठी उठाएर कि त हामीलाई वैज्ञानिक समाजवाद मान्य छ कि त त्यसका खातिर हाम्रो बलिदान भन्ने शपथहाम्राऊर्जा हुनेछन् र सधैँ हामी यही दिशामा अगाडि बढिरहनेछौँ र सहिदको सपना हरहालतमा पूरा गरिछाड्नेछौँ । यही नै हामी हाम्रो अभिभारा ठान्दछौँ । दसबर्से जनयुद्धका दस हजार सहिद र एकीकृत जनक्रान्तिकाहोनहार सहिदहरूको उच्च बलिदान र सपनाको सधैँ सम्मान गर्दै क्रान्तिको निरन्तर यात्रामा हामी पनि बलिदान गर्न कुनै कन्जुस्याइँ गर्नेछैनौँ । अन्तिम थोपा रगत र अन्तिम सास रहुन्जेलसम्म क्रान्तिको झन्डा फहराइरहनेछौँ । सल्किँदै गरेको यो क्रान्तिको आगोलाई अब छिट्टै एकीकृत जनक्रान्तिमार्फत डरलाग्दो ज्वालामुखीमा बदल्नेछौँ । हो, हामीले दलाल पुँजीवादको विनाश र वैज्ञानिक समाजवादको स्थापनालाई नै आफ्नो लक्ष्य, उद्देश्य र अभिभारा ठानेका छौँ र यसका निम्ति हरकिसिमको सम्झौताविहीन मूल्य चुकाउन तयार छौँ चाहे आफ्नै बलिदानी किन नहोस् ।

२०७६ जेठ १५ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :