बर्बराहट किन ?

विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले गत जेठ १३ गते सोमबार नेपाल बन्द घोषणा गरेको थियो । केपी वलीको सरकारले उक्त पार्टीमाथि प्रतिबन्ध लगाएदेखि स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिटब्युरो सदस्यहरू भरत बम, मोहन कार्की, केन्द्रीय सदस्यहरू वसन्त श्रेष्ठ, चूडामणि ओली, चन्द्रबहादुर खड्का, बन्धु चन्दलगायत नेताहरूलाई गिरफ्तार गर्ने, कार्यकर्ताहरूलाई ताकीताकी गोली हान्ने, गिरफ्तारपछि चर्को यातना दिने गरेपछि चरणबद्ध आन्दोलन गर्दै आएको थियो । गत जेठ ७ गते युवा सङ्गठनमा कार्यरत तीर्थराज घिमिरेलाई गोली हानी हत्या गरेको थियो । यसरी आफ्ना कार्यकर्ताको हत्या, नेताहरूको गिरफ्तारी, दमन र यातनाका विरुद्ध उक्त पार्टीले प्रतिरोधस्वरूप नेपाल बन्द घोषणा गरेको नेकपाका महासचिव विप्लवले जेठ ८ गते विज्ञप्ति जारी गरी जनाएका थिए ।

केपी वलीको नेतृत्वको सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि सरकारले विप्लव नेतृत्वको नेकपाको गतिविधि कम हुँदै गएको, पार्टी पनि कमजोर भएको भनिरहेको अवस्थामा गत सोमबार सङ्घीय राजधानी काठमाडौँमा नै ठूलाठूला विस्फोटका घटना भएका छन् । आइतबार भएको विस्फोटका क्रममा उक्त पार्टीका कार्यकर्ता, जनमुक्ति सेनाका सदस्य, जनवर्गीय सङ्गठनका नेताको दुर्घटनामा परी मृत्यु भएको पनि महासचिव विप्लवको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । उक्त विज्ञप्तिमा गोकुल राना ‘महान्’, दीपेन्द्र, विद्यार्थी नेता प्रज्वल शाही र कृष्ण भण्डारी ‘निरन्तर’ को निधन भएको जनाइएको छ । उनीहरूलाई सहिद घोषणा गर्दै विस्फोटको कारण पत्ता लगाई सार्वजनिक गर्ने बताइएको छ ।

यही नेपाल बन्द, राजधानीलगायत देशका विभिन्न ठाउँमा भएका विस्फोट, नेपाल बन्दको प्रभावलाई लिएर प्रधानमन्त्री केपी शर्मा वली, सरकारी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा र नेपाली काङ्ग्रेसका महामन्त्री शशाङ्क कोइरालाले विभिन्न खालका प्रतिक्रिया दिएका छन् । यति मात्र नभएर सोमबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा त हङ्गामा नै सिर्जना भएको थियो । यसरी हङ्गामाको मुख्य कारण गृहमन्त्री रामबहादुर थापा र सरकारी नेकपाका भक्तपुरका सांसद महेश बस्नेतले संसद्मा दिएका अभिव्यक्तिहरू रहेका थिए । रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपाले देशैभरि जनपरिषद्का नाममा जनसत्ता स्थापना गरेको, ४ वटा कम्पनी बनाएको र काठमाडौँलाई मुख्य निशाना बनाई आक्रमण सुरु गरेको बताएका थिए । साथै उनले बम विस्फोट गर्ने र मारिने नेपाली नागरिक नभएको भनी दिएको अभिव्यक्तिका कारण निकै हङ्गामा भएको थियो । त्यसैगरी महेश बस्नेतले बन्दको कुनै प्रभाव नपरेको, आफू घरबाट संसद् आउँदै गर्दा चक्काजाममा परेको भनेपछि अन्य सांसदले उनको भनाइलाई उडाएका थिए ।

केपी वलीले राष्ट्रिय मानवअधिकार आयोगको एक कार्यक्रममा बोल्दै हिजो बम पड्काउनेहरूले के गर्न खोजेका हुन् ? उनीहरूका मागहरू के हुन् ? भन्दै आक्रोश व्यक्त गरेका थिए । ठीक यसैगरी सरकारी नेकपाका दोस्रा अध्यक्ष पुष्पकमल दाहाल नेपाल बन्द गरेर र बम विस्फोट गरेर नेकपाले वार्ताको वातावरण बनाएको भन्दै थिए । यति मात्र नभएर उनले अब क्रान्तिबाट केही नहुने पनि भन्न भ्याएका थिए । त्यसैगरी नेपाली काङ्ग्रेसका महामन्त्री शशाङ्क कोइरालाले विप्लवले नेतृत्व गरेको नेकपा र सरकारी नेकपाका बीचमा तालमेल भएको भनेका थिए । कहाँसम्म भने उनले त नेकपालाई आतङ्ककारी घोषणा गरे पनि हुन्छ भन्न भ्याएका थिए जब कि उक्त पार्टीका प्रवक्ता र प्रमुख सचेतकहरूले आधिकारिक वक्तव्य र अभिव्यक्तिमार्फत नै सरकारलाई दमन नगर्न, वार्ताको वातावरण बनाउन भन्दै आएका छन् ।

यहाँ कुरा गर्न खोजिएको यी महोदयहरूले जेजस्तो र जुनजुन अभिव्यक्ति दिएका छन्, यिनीहरूका यस्ता अभिव्यक्तिहरू उनीहरूको पार्टीनीतिको एकरूपतामा रहेको छैन नै साथै असङ्गतिपूर्ण पनि रहेका छन् । सरकारी नेकपाका तर्फबाट प्रधानमन्त्री हुन पुगेका केपी वली आतङ्ककारी भन्छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल वार्ताका लागि वातावरण बनेको भन्छन् भने त्यही पार्टीका तर्फबाट गृहमन्त्री बन्न पुगेका रामबहादुर थापा दमन र वार्ता सँगसँगै लगिएको भन्ने हास्यास्पद कुरा गर्दछन् । यसरी एउटै पार्टी मात्र नभएर राज्यको बागडोर समालेका व्यक्तिहरूले एकदमै विवादास्पद अभिव्यक्ति दिनुलाई के भन्ने ? एउटै वस्तु र परिघटनालाई लिएर उनीहरूले यस्तो अभिव्यक्ति दिनुको कारण के हो ? यस्ता असन्तुलित र असङ्गतिपूर्ण अभिव्यक्ति आउनुको प्रमुख कारण असन्तुलित मानसिकता हो । दुई तिहाइ बहुमत प्राप्त गरेको भनिएको नेकपाको सरकारले अहिले जे गरिरहेको छ, त्यसले जनतामा एक किसिमको आक्रोश पैदा भएको छ । सरकारको १६ महिनामा कुनै पनि सूचकाङ्क धनात्मक रहेको छैन । यसै परिवेशमा जनताले विकल्प खोजिरहेका छन् । त्यही विकल्पका रूपमा विप्लवले नेतृत्व गरेको नेकपातिर जनमानस फर्किरहेको छ । यसले गर्दा शासक वर्गहरूमा छट्पटाहट पैदा भएको छ । त्यसैले उक्त पार्टीले गरेका आन्दोलनबाट उनीहरूमा बर्बराहट पैदा हुन थालेको छ । त्यसैको परिणति हो यी महोदयहरूको असन्तुलित अभिव्यक्ति । सम्पादकीय

२०७६ जेठ १५ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :