सहिद पत्रकारको सम्मानमा नेपाल पत्रकार महासङ्घको स्मृति सभा

देशैभर पत्रकार सहिद इच्छुुुकको स्मृति र १७ औँ बलिदान दिवस

काठमाडौं :  नेपाल पत्रकार महासङ्घले सहिद पत्रकारको सम्मानमा स्मृति सभाको आयोजना गरेको छ । महासङ्घअन्तर्गतकोे द्वन्द्वपीडित पत्रकार संरक्षण समितिले सोमबार आयोजना गरेको स्मृतिसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकार कृष्णसेन इच्छुक मारिएको दिन जेठ १३ गतेलाई महासङ्घले हरेक वर्ष महासङ्घका सबै तहमा सहिद पत्रकारको सम्मानमा स्मृति दिवस मनाइने बताए ।

उनले नेपालमा पत्रकारहरू पत्रकारिता गरेकै कारण मारिएका तथा बेपत्ता पारिएको हुँदा घटनाका दोषीलाई कारबाही नभएसम्म महासङ्घले आवाज उठाइरहने बताए ।

महासङ्घका उपाध्यक्ष विपुल पोख्रेलले महासङ्घले पत्रकारको पेसालाई चिन्ने भन्दै मारिएका तथा बेपत्ता परिएका पत्रकारको न्यायका लागि सधैँ लागिरहने बताए । उनले महासङ्घ सत्तामा को छ भन्ने भन्दा पनि प्रेस स्वतन्त्रताका पक्षमा लड्ने बताए ।

प्रेस काउन्सिलका सदस्य ईश्वरी ओझाले जुनसुकै पृष्ठभूमिमा बनेका सरकार आए पनि पत्रकारहरू त्यसको सिकार बन्नुपरेको बताए ।
नेपाल पत्रकार महासङ्घका पूर्वमहासचिव उजिर मगरले सहिद तथा बेपत्ता पत्रकारका सदस्यको सहभागितामा आगामी दिनमा स्मृति दिवस मनाउनुपर्ने धारणा राखे । उनले पत्रकार कृष्णसेन ‘इच्छुक’ मारिएको दिनमा महासङ्घले सहिद पत्रकार तथा बेपत्ता पत्रकार स्मृति दिवसको रूपमा प्रारम्भ गरेको भन्दै यसलाई स्थापित गर्नुपर्ने धारणा राखे ।

प्रगतिशील पत्रकार सङ्घ नेपालका अध्यक्ष नारायण शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका क्रममा लड्दालड्दै आफ्नो ज्यानको आहुति दिएका पत्रकारहरूले हाल देशमा गणतन्त्र स्थापना भइसक्दा समेत उनीहरूले लिएको लक्ष्य पूरा नहुँदा दुःख लागेको बताए ।

कार्यक्रममा समितिका संयोजक रहेका महासङ्घका केन्द्रीय सदस्य जन्मदेव जैसीले नेपालमा द्वन्द्वकालदेखि हालसम्म ३७ जना पत्रकार मारिएकोर ५ जना पत्रकार बेपत्ता रहेको जानकारी दिए ।

यसैबीच सोमबार देशैभर विभिन्न पार्टी, सङ्गठन र स्वतन्त्र रूपमा कार्यरत सांस्कृतिक मोर्चा र क्रान्तिकारी पत्रकारहरूले सांस्कृतिक एवम् पत्रकार सहिद इच्छुुुकको स्मृति र १७ औँ बलिदान दिवस मनाएका छन् । ती सङ्गठनहरुमा आबद्ध संस्कृतिकर्मी र पत्रकारले इच्छुक नेपाली क्रान्तिकारी आन्दोलन तथा पत्रकारिता क्षेत्रका महान् व्यक्ति भएको बताएका थिए । इच्छुकलाई राजनीतिक आस्थाकै आधारमा राज्यले हत्या गरेको तर इच्छुकका हत्याराहरुलाई सत्ताधारीहरुले फुली थपिदिएको भन्दै आक्रोश व्यक्त गरे । उनीहरुले आज पनि राज्यले जनपक्षीय साहित्य र पत्रकारहरूलाई आस्थाकै आधारमा पक्राउ गरिरहेकाले राजनीतिक–सांस्कृतिक रुपमा आमूल परिवर्तनका लागि क्रान्ति आवश्यक र अपरिहार्य रहेको बताए । २०५९ साल जेठ १३ गते पत्रकार तथा चर्चित सांस्कृतिक योद्धा कृष्णसेन ‘इच्छुक’ लाई राजधानीको महेन्द्र पुलिस क्लबमा तत्कालीन डीएसपी विक्रमसिंह थापा नेतृत्वको प्रहरीको टोलीले चरम यातना दिएर हत्या गरेको दिनको सम्झनामा पत्रकारहरूले इच्छुक स्मृति दिवस तथा बलिदान दिवस मनाउँदै आएका छन् ।

२०७६ जेठ १४ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :