देशभर बन्दको प्रभाव, जताततै बम विस्फोट

पोखरामा शक्तिशाली बम बिस्फोट

पोखरा : नेपालबन्दको दिनपोखरामासोमबार शक्तिशाली बम विस्फोट भएको छ । विप्लव नेतृत्वको नेकपाकाकार्यकर्ताले पोखराको सिर्जनाचोकमा रहेको एनसेलको कार्यालयमाविस्फोट गराएको समाचार प्राप्तभएको छ ।

विस्फोटबाट कुनै मानवीयक्षतिभने भएको छैन । शक्तिशाली बम विस्फोट भएकाकारण एनसेलको कार्यालयमाक्षतिपुगेको छ । विस्फोटपछि पोखराको जनजीवन थप त्रसित बनेको छ ।

बन्दकर्ताद्वारा बसमा आगजनी
सुर्खेत :
पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी भएको समाचार प्राप्त भएको छ । गुर्भाकोट नगरपालिका १४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसमा नेकपाका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगो लगाएका हुन् ।
आगलागीबाट बस पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए । बस जेलेको ठाउँनजिकै शङ्कास्पद वस्तु फेलापरेको छ ।

बन्दले नुवाकोट र धादिङ ठप्प, धादिङ र विदुरमा बम विस्फोट

नुवाकोट : नेकपाले आह्वान गरेको नेपाल बन्दका कारण जिल्लाबाट चल्ने लामो दूरीका सार्वजनिक गाडी चलेका छैनन् भने छोटो दूरीका गाडी पनि ठप्प भएको समाचार प्राप्त भएको छ । सबैजसो स्कुल र कलेज बन्द भएका छन् । आइतबार बन्दका लागि ठाउँठाउँमा बम विस्फोटका घटना भएको हुँदा आजको बन्दप्रति आम सर्वसमधारण त्रसित भएका छन् ।
यसैबीच विदुर नगरपालिका ५ कार्यालयनजिकै बम विस्फोट भएको छ । विस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

धादिङ नौबिसे र महादेवबेसीमा बम भेटियो

नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको बन्दको समयमा धादिङको नौबिसे र माहादेवबेसीमा बम फेलापरेको समाचार प्राप्त भएको छ । बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

दलित मुक्ति मोर्चा झापाका अध्यक्ष प्रवीण पक्राउ
 झापा : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक नेता आइतबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा दलित मुक्ति मोर्चाका झापा जिल्ला अध्यक्ष प्रवीण दर्नाल रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोसाकमा खटिएका प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको समाचार प्राप्त भएको छ । पक्राउ परेका दर्नाललाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।

मोरङका दुई स्थानमा शङ्कास्पद वस्तु

मोरङका दुई स्थानमा बमजस्तो शङ्कास्पद वस्तु फेलापरेको छ । सुन्दरहरैंचा ७ को बिजुलीको पोलमा राखिएको कुकर बम हुनसक्ने स्थानीयले बताएका छन् । त्यसैगरी बूढीगङ्गा गाउँपालिका १ स्थित कोसी राजमार्गमा बमजस्तो लाग्ने शङ्कास्पद वस्तु फेलापरेको छ । उक्त स्थानमा प्रहरीले आवतजावतमा रोक लगाएको छ । दुवै स्थानमा सेनाको बम डिस्पोजल टोली गइरहेको समाचार प्राप्त भएको छ । बमजस्तो शङ्कास्पद वस्तु फेलापरेपछि स्थानीय त्रसित छन् ।

बर्दिबास नगरपालिकाको मूलगेटमै कुकर बम
महोत्तरी :
नेकपाले महोत्तरीको बर्दिबास नगरपालिकाको मूलगेटमा कुकर बम राखेको जानकारी आएको छ । २.५ लिटरको उक्त कुकरमा विस्फोटक पदार्थ राखेर त्यसमाथि एउटा मोबाइल फोन जोडिएको समाचार छ । घटनास्थलमा बम निस्क्रिय बनाउने टोली गइरहेको समाचार छ । 

रामेछाप सदरमुकाममै बम, बन्दकर्ताद्वारा ट्रिपरमाथि आगजनी, यातायात ठप्प

रामेछाप : सरकारले पार्टीका कार्यकर्ता तीर्थराज घिमिरे ‘राजु’ को गोली हानी हत्या गरेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्द आह्वान गरेको दिन सोमबार रामेछाप जिल्लाको मन्थली नगरपालिका ६ हात्तीटारमा आज बिहान ट्रिपरमा आगजनी भएको समाचार प्राप्त भएको छ । खुर्कोटबाट मन्थली जाने क्रममा ना ८ ख ३७७० नम्बरको ट्रिपरमा आगो लगाइएको समाचारमा जनाइएको छ । आगलागीबाट ट्रिपर जलेर ध्वस्त भएको छ ।
बिहानै ट्रिपरमा आगजानी भएपछि मन्थलीबाट राजधानी काठमाडौँ चल्ने सवारी साधन चल्न सकेका छैनन् ।

रामेछापमा बम भेटियो

रामेछापको मन्थली नगरपालिका ६ हात्तीटारमा बम फेलापरेको छ । बिहान २ बजे फेलापरेको बम नेपाली सेनाले डिस्पोज गर्ने तयारी गरेको जनाइएको छ ।
सडकको दायाँबायाँ नै दुईवटा बम फेलापरेपछि लगत्तै डिस्पोज गर्न बम डिस्पोजल टोली परिचालन गरिएको थियो ।

ललितपुरका भैँसेपाटी र खुमलटारमा डेटोनेटर बम फेलाप¥यो

ललितपुर : खुमलटारको टुटेपानीमा रहेको नेपाल लेप्रोसी ट्रस्ट भवनको पेटीमा बम फेलापरेको समाचार प्राप्त भएको छ । उक्त घटनास्थलमा सिनामङ्गलबाट गएका क्याप्टेन अजित थापाको टोलीले बम डिस्पोज पारेको जनाइएको छ ।

त्यसैगरी भैँसेपाटीको आवास क्षेत्रनजिकै उकालो बाटोमा ६ वटा डेटोनेटर र विस्फोटक पाउडरसहितको बम फेलापरेको जानकारी प्राप्त भएको छ । उक्त बम लगनखेलस्थित राजदल गणले निस्क्रिय बनाएको छ । 

सोमबार बिहान ललितपुरका दुई ठाउँमा राखिएका बम निकै शक्तिशाली रहेकोे डिस्पोजमा खटिएका सैनिकले जनाएका छन् । एउटा डेटोनेटरले एउटा घरलाई क्षति गर्न सक्ने सेनाको भनाइ छ ।
बिहानै भैँसेपाटीमा बम डिस्पोज गरी खुमलटार आइपुगेको राजदल गणको टोलीले क्षति कम गर्नका लागि सिनामङ्गलबाट रोबोट झिकाएको समाचार छ ।

मोरङमा दुईवटा कुकर बम

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका १ र सुन्दरहरैँचा नगरपालिका ७ मा सोमबार बिहान फेलापरेको अज्ञात वस्तु प्रेसरकुकर बम भएको पुष्टि भएको छ ।
दुवै बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । दुवै ठाउँमा बम भेटिएपछि त्रास उत्पन्न भएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले दुवै ठाउँमा भेटिएको अज्ञात वस्तु प्रेसरकुकर बम भएको पुष्टि सेनाले गरेको जानकारी दिए । कोसी राजमार्गअन्तर्गत बूढीगङ्गा गाउँपालिकाबाट विराटनगर महानगरपालिका प्रवेशद्वारमा भेटिएको बम सेनाको टोलीले डिस्पोज गरेको हो । 

मोरङका दुवै ठाउँमा विप्लव नेतृत्वको नेकपाले नै बम राखेको हुनसक्ने प्रहरीको आशङ्का छ । डीएसपी श्रेष्ठले बम राखेर सर्वसाधारणलाई आतङ्कित पार्नेको खोजी भइरहेको बताए । विप्लव नेकपाको बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुनसकेका छैन । शैक्षिक संस्थाहरू पनि ठप्प छन् । 

सिन्धुलीमा शङ्कास्पद वस्तु

सिन्धुली : सिन्धुलीको दुधौली नगरपालिकास्थित खोरभञ्ज्याङमा फेलापरेको शङ्कास्पद वस्तु नक्कली बम भएको प्रहरीले जनाएको छ । निर्माणाधीन मदन भण्डारी राजमार्गको सिन्धुली दुधौलीस्थित पूर्वीखण्डमा खोरभञ्ज्याङमा सकेट बमजस्तो देखिने शङ्कास्पद वस्तु ‘होक्स’ भएको पुष्टि भएको जानकारी जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दिए ।
दुईवटा सकेट बमजस्ता देखिने शङ्कास्पद वस्तुमा रातो कालो तार जोडिएको र बन्द सफल पारौँलगायत नारा लेखिएको पर्चा पनि भेटिएपछि प्रहरीले बम भएको आशङ्का गरेको थियो ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले शङ्कास्पद वस्तु डिस्पोज गर्दा नक्कली बम भएको पुष्टि भएको सिंहले बताए । शङ्कास्पद वस्तु भेटिएपछि मदन भण्डारी राजमार्ग अवरुद्ध भएको थियो ।

इटहरीको बम डिस्पोज

इटहरी: इटहरी २० पानीपियामा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । दुईवटा पोकामा सडकको बीचमा राखिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो । बिहानै गस्तीमा हिँडेका सुरक्षाकर्मीले उक्त बम भेटेका थिए । समय मिलाएर राखिएको टाइमर बम डिस्पोज गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

रुकुममा पनि बन्दको प्रभाव
रुकुमपश्चिम ः जिल्लामा विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव देखिएको छ । बन्दका कारण रुकुमपूर्व र पश्चिमका मुख्य बजार क्षेत्र सुनसान छन् भने उद्योग, कलकारखाना पनि बन्द छन् । जिल्लामा लामा तथा छोटा दूरीका सवारीसाधन चलेका छैनन् ।

डोटीमा बन्दको पूर्ण प्रभाव
डोटी ः डोटीमा बन्दको पूर्ण प्रभाव परेको छ । सार्वजनिक सवारीसाधनहरू सञ्चालनमा आएका छैनन् । डोटीका मुख्य बजार सिलगढी, पिपल्ला, तलकोट, गोपघाटलगायत क्षेत्र बन्द छन् । जिल्लामा सवारीसाधन सञ्चालन नहुँदा यात्रु मारमा परेका छन् ।

बन्दले धनगढीको जनजीवन प्रभावित

धनगढी : बन्दको प्रभाव कैलालीमा पनि परेको छ । बन्दले गर्दा शैक्षिक संस्था, कलकारखाना, यातायात, बजार ठप्प छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश डाँगीले बिहान पूर्वबाट आएका गाडी स्कर्टिङमा ल्याइए पनि अहिले सार्वजनिक सवारीसाधन ठप्प रहेको बताए । बजारमा बन्दकर्ता नदेखिए पनि बन्दको पूर्ण रूपमा प्रभाव देखिएको छ । सामान्यतया अटोरिक्सा, मोटरसाइकलबाहेक लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका साधन ठप्प छन् ।

२०७६ जेठ १३ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :