नेपाली समाजको वर्तमान अन्तरविरोध

यतिबेला नेपाली समाज दलाल पुँजीपति वर्ग र श्रमिक जनताहरूबीचको सङ्घर्षको प्रक्रियाबाट अगाडि बढिरहेको छ । सामाजिक दलाल पुँजीपति वर्गद्वारा नेतृत्व गरिएको दलाल पुँजीवादी राज्यसत्ताले श्रमिक वर्गको वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माणको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएपछि नेपालको राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरणसहित वर्तमान राज्यसत्ताको पटाक्षेप हुन पुगेको छ । अनौठो कुरा त के रह्यो भने झन्डै डेढ दशक लामो जेलजीवन बिताएका वर्तमान प्रधानमन्त्री केपी वली र सोही समयबराबर भूमिगत राजनीतिक जीवनवाट शान्तिप्रक्रिया हुँदै वर्तमान अवस्थामा पुगेका पीके दाहालको गठजोडमा यस प्रकारको डिजाइन प्रयोग गरिएको छ । यी दुवैले नेपालमा कम्युनिस्ट राज्यसत्ता स्थापनाका लागि लामो समय पार्टीको नेतृत्व गरे । सामन्तवादविरोधी विभिन्न सङ्घर्षको नेतृत्व गरे । उनीहरूको आह्वानलाई स्वीकार्दै नेपाली श्रमिक जनताले ठूलाठूला सङ्र्षहरूमा भाग लिए । बलिदान दिए । अझ पीके दाहालले त संसदीय व्यवस्थाका विरुद्ध जनयुद्धको नेतृत्व पनि गरे जहाँ हजारौँ नेता–कार्यकर्ता तथा जनसमुदायको वीरतापूर्ण सहादत भयो । तर आज उनीहरूले कम्युनिस्ट राजनीतिलाई लामो समयको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त भएका सकारात्मक उपलब्धिहरूलाई भँजाएर केवल आफूलगायत आफ्ना सीमित समूहको नकारात्मक स्वार्थपूर्ति गर्ने माध्यम बनाएका छन् ।

आज उनीहरूले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध लगाएका छन् । उनीहरूले नेपाल कम्युनिस्ट पार्टीका विरुद्ध अपनाएको प्रवृत्तिले के सङ्केत गर्दछ भने पहिलो उनीहरूले राजनीतिक विज्ञानलाई बुझ्न सकेनन् वा बुझेर पनि बुझपचाएका छन् किनभने राजनीतिक विज्ञानद्वारा निर्देशित क्रान्ति शासकवर्गको दमनले रोकिने भए उनीहरू यो अवस्थामा पुग्ने थिएनन् । उनीहरू उत्तिखेरै मारिन्थे वा अहिले जेलमा हुने थिए । दमनले राजनीतिक विज्ञानको यात्रा रोकिने भए मानव समाज आज पनि दासयुगमा नै हुने थियो । दोस्रो, उनीहरू भूमिगत जीवनमा राज्यसत्ताको दमन (प्रतिबन्ध, धरपकड, हत्या, गिरफ्तारी, जेल–हिरासत आदि) बाट निकै आतङ्कित हुने गर्दथे भन्ने कुरालाई उनीहरूको वर्तमान व्यवहारले स्पष्ट गर्दछ । हुन पनि उनीहरू दुवैजना राज्यसत्ताका सामु आत्मसमर्पण गरी लत्रिएका पात्रहरू हुन् । कुनै बेला एकअर्कालाई विभिन्न आरोप–प्रत्यारोप गर्दै भौतिक रूपले समाप्त पार्ने दिशामा रहेका दुवै पात्रहरू आज एकै ठाउँमा बसेर क्रान्तिकारीहरूलाई दमन गर्ने अभियानमा लागिरहेका छन् । यो कुरा पुनः साबित हुनेछ– उनीहरूको सम्पूर्ण दमन अभियानका षड्यन्त्रहरूलाई पराजित गर्दै नेपाली क्रान्ति सफल भइछाड्नेछ । यो आलेखमा नेपाल कम्युनिस्ट पार्टीविरुद्ध लगाइएको प्रतिबन्धका बारेमा सङ्क्षिप्त चर्चा गर्ने जमर्को गरिएको छ ।

पहिलो, प्रतिबन्धको अन्तर्राष्ट्रिय आयाम

आज विश्वको राजनीतिक परिवेश बहुध्रुवमा विभाजित हुन पुगेको छ । सोभियत सङ्घको विघटनपछि केही दशक एकल ध्रुवीय विश्वराजनीतिमा आफ्नो एकछत्र प्रभुत्व कायम गर्नपुगेको अमेरिकी साम्राज्यवादको एकाधिकारलाई तोड्दै रुस, चीनलगायत देशहरूले अर्को ध्रुवको नेतृत्व गर्न पुगेका छन् । यसरी आज एकातिर रुस, चीन, जनगणतन्त्र कोरिया (उत्तरकोरिया), इरान र भेनेजुयलाजस्ता राष्ट्रहरूको बलियो समीकरण बन्न पुगेको छ भने अर्कोतिर अमेरिका, बेलायत, फ्रान्स, जापान, दक्षिणकोरियालगायत मुलुकहरूको गठबन्धन रहेको छ । यी दुई ध्रु्रवको नेतृत्व गर्न पुगेका महाशक्ति राष्ट्रहरूको आपसी टक्कर र अन्तरविरोधको मूल कारण संसारभर आफ्नो बजार विस्तार गर्नु तथा विभिन्न राष्ट्रहरूमा रहेका कच्चा पदार्थहरू कब्जा गर्नुमा निहित रहेको छ । यिनै उद्देश्यहरू हासिल गर्न आज उनीहरू एकअर्कालाई राजनीतिक र फौजी घेरा र प्रतिघेरा गर्दै अगाडि बढिरहेका छन् । यसै सिलसिलामा एक्काईसौँ शताब्दीको पहिलो दशकमा आफूलाई अभूतपूर्व विकाससहित आर्थिक र सैन्य दृष्टिकोणले विश्वकै पहिलो शक्तिका रूपमा विकास गर्दै एसियाली राष्ट्र चीन अगाडि बढिरहेको छ । चीन जापानको उपनिवेशताका अमेरिकाले गरेको संश्लेषण : चीनलाई सुतिरहन देऊ । त्यो ब्यँुझियो भने संसारलाइ निल्नेछ भन्ने कुरालाइ चरितार्थ गर्दै विश्वमा नयाँ शक्तिका रूपमा उदाइरहेको चीनलाई घेरा हाल्न अमेरिकी साम्राज्यवाद जोरजुलुमका साथ लागिपरेको छ । यसको पुष्टि दलाई लामाद्वारा नेतृत्व गरिएको फ्रि तिब्वत आन्दोलनलाई विश्वव्यापी रूपमा आर्थिक सहयोग गर्न अमेरिकी सिनेटले गरेको निर्णय तथा उनीहरूको आन्दोलनलाई कतै पनि हस्तक्षेप नगर्न गरिएको आह्वान, चीनसँगको व्यापारमा लगाइएको करवृद्धिका कारण पछिल्लोपटक विकसित चीन– अमेरिका व्यापारयुद्ध, दक्षिण चीन सागरमा अमेरिकी सेनाको नेतृत्वमा सञ्चालित बृहत्तर सैन्य अभ्यास तथा ताइवानमा ठूलो सङ्ख्यामा सेना र हतियारको केन्द्रीकरण आदि घटनाक्रमले उपरोक्त तथ्यहरूलाई स्पष्ट गर्दछन् । यसका साथै अर्को महत्वपुर्ण तथ्य के रहेको छ भने चीनलाई घेरा हाल्न अमेरिकी साम्राज्यवादलाई सबैभन्दा सजिलो नेपालको भूगोल प्रयोग गर्नु रहेको छ । त्यसका लागि उनीहरूले आफ्ना विभिन्न रणनीतिक महत्वका गतिविधिहरू दक्षिणएसिया र मुख्यक्त नेपाल केन्द्रित गर्न पुगेका छन् जसअन्तर्गत धर्मनिरपेक्ष भनिएको देशमा एकनाथ ढकालको संयोजनमा दक्षिणकोरियाका नागरिक होक्जामुनद्वारा आयोजित धार्मिक कार्यक्रममा प्रम केपी वली कार्यक्रम अवधिभर सोही स्थानमा बसेबापत दिइएको एक करोड अमेरिकी डलरको पुरस्कार तथा सङ्घ, प्रदेश र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति तथा त्यहाँ भएका गतिविधिहरूले हामी सम्पुर्ण नेपालीलाई लज्जित तुल्याएको छ । यसलाई होली वाइन प्रकरण भनेर बुझिन्छ ।

नेपाल–अमेरिका सम्बन्धको इतिहासमा लामो समयपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई आफ्नै देशमा मन्त्रणा गरी ठूलो धनराशिको प्रलोभनसहित इन्डोप्यासिफिक रणनीतिक सम्झौताका लागि दबाब उत्पन्न गरिएको छ । पछिल्लोपटक पुष्पकमल दाहाललाई अमेरिका बोलाइ उक्त सम्झौता जसरी पनि गर्नुपर्नेमा जोड दिइएको छ । विगतमा अमेरिकाको नेपाल नीति भारतद्वारा हुने गरेको सन्दर्भमा साउथ ब्लक बिस्तारै रसियन क्याम्पमा ढल्किनुले अमेरिकालाई झस्काएको हुनु पर्दछ जसका कारण उनीहरूकै डिजाइनमा नेपालको तराई क्षेत्र र भारतको बिहार एवम् उत्तरप्रदेशका निश्चित भूभागहरूलाई मिलाएर छुट्टै राष्ट्र बनाउने सीके राउतको घोषित योजनामा भारतबाट हुनसक्ने सम्भावित खतराका कारण सीके राउत प्रकरण अगाडि बढाइएको छ । यद्यपि उनीहरूका बीचमा सम्पन्न ११ बँुदे सम्झौताका बारेमा आआफ्नै तर्क र व्याख्याहरू सतहमा आएका छन् । त्यसैगरी रूपमा कम्युनिस्ट नाम गरेका सामाजिक दलाल र सारमा उनीहरूकै दलालहरूमार्फत नेकपामाथि प्रतिबन्ध लगाइएको छ । अमेरिकी साम्राज्यवाद कम्युनिस्टको ‘क’ पनि सुन्न चाहँदैन । उनीहरूले सरकारी संसदीय कम्युनिस्ट वा सामाजिक  लालहरूलाई उपयोग गरी कम्युनिस्ट पार्टीलाई ध्वस्त पार्ने रणनीतिअन्तर्गत प्रतिबन्धको प्रकरण अगाडि बढाएका छन् । यो पनि निश्चित छ– सामाजिक दलालहरूलाई पनि एउटा निश्चित सीमासम्म परिचालन वा प्रयोग गर्ने हो । जब सीमा अर्थात् उनीहरूको उपयोगिता सकिनेछ तब साम्राज्यवादले केपी–पीकेमण्डलीलाई पनि रद्दीको टोकरीमा मिल्काइदिनेछ जसरी पश्चिमबङ्गालका ज्योति वसुलाई प्रयोग गरेर चारु मजुमदारलगायत नक्सलवादी सङ्घर्षलाई सिध्याए । अन्ततः उनलाई पनि अब कहिल्यै सरकारमा फर्किन नसक्ने गरी सिध्याइदिएको छ । उनीहरू यही फर्मुला नेपालको हकमा प्रयोग गर्न चाहन्छन् । अमेरिकी साम्राज्यवादीहरूकै डिजाइनअनुसार उपेन्द्र–बाबुरामका बीचमा पार्टी एकता भएको छ । यी दुवै प्रो–अमेरिकीहरू हुन । विभिन्न गुटहरू सञ्चालन गरेर देशलाई अस्थिर बनाउने रणनीतिअन्तर्गत यो प्रक्रिया अगाडि बढाइएको छ । यी सम्पूर्ण अन्तर्राष्ट्रिय शृङ्खलाहरूको एकीकृत आयामका रूपमा वर्तमान नेपालका राजनीतिक घटनाक्रमहरू अगाडि बढिरहेका छन् ।

दोस्रो, प्रतिबन्धको राष्ट्रिय आयाम

देशमा सञ्चालित सामाजिक दलाल वर्ग अर्थात् संसदीय कम्युनिस्टहरूको नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ । राष्ट्रघात, जनघात, भ्रष्टाचार, महँगी, बेलगाम करवृद्धि र कालोबजारीले जनतालाई आक्रान्त बनाएको छ । व्यापारघाटा, वैदेशिक ऋण अहिलेसम्मकै उच्च रहेको छ । निर्मला हत्याकाण्ड, वाइडबडी काण्ड, एनसेल काण्ड, होली वाइन काण्ड, अरूण तेस्रो काण्ड, बूढीगण्डकी काण्डलगायत काण्डैकाण्डमा सामाजिक दलालहरूको नेतृत्वमा रहेको सरकार फसेको छ । शिक्षा, स्वास्थ्य, खाद्य सम्प्रभुताजस्ता नैसर्गिक अधिकारबाट जनतालाई विमुख बनाइएको छ । निर्वाचित जनप्रतिनिधिहरू आफ्नै विकास बजेटमा कमाउधन्दामा लागेका छन् । रोजगारीको अभावमा लाखाँै युवाहरू विदेश पलायन भएका छन् । रेमिट्यान्स, वैदेशिक ऋण र वैदेशिक सहयोगको कुल योगमा राष्ट्रको बजेट तय गरिन्छ । राष्ट्रिय उद्योगहरू निजीकरण गरिएका कारण राष्ट्रिय उत्पादन घट्न गई कुल राष्ट्रको निर्यात ९ प्रतिशतमा सीमित हुन पुगेको छ । राष्ट्रिय गौरवका विकास आयोजनाहरू प्रायः ठप्प हुन पुगेका छन् । सामाजिक असुरक्षा र विकृति– विसङ्गतिले सिङ्गो समाजलाई धरापमा पार्दै लगेको छ । राष्ट्रघातका कारण देशभक्त शक्तिहरू मर्माहत भएका छन् । यी सम्पूर्ण असफलताहरूलाई विषयान्तर गर्न सामाजिक दलाल सरकारद्वारा प्रतिबन्धको प्रकरण अगाडि सारिएको छ । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको निष्कर्ष छ– दलाल संसदीय व्यवस्थाबाट देश र जनताको शान्ति र समृद्धि किमार्थ सम्भव छैन । गत तीन तहको निर्वाचनकै क्रममा उनीहरूका राष्ट्र र जनतालाई झुक्याउने चालबाजी चलिरहेकै बेला हामीले भनेका थियौँ– यी सबै नाटक र बकबास मात्र हुन् । आज घटनाक्रमले हाम्रो निष्कर्षलाई सही साबित गरिदिएको छ । हाम्रो यो निष्कर्ष कुनै हवाईकल्पना थिएन । हामीले देखिरहेका छौँ– आज विश्वव्यापी रूपमा संसदीय व्यवस्थाले कतै पनि श्रमिक जनतालाई शान्ति र समृद्धि दिएको छैन, बरु चौतर्फी अशान्ति र विशृङ्खलता मात्र दिएको छ । यसको समाधान केवल वैज्ञानिक समाजवादले मात्र दिन सक्छ । त्यसका लागि वर्तमान दलाल राज्यसत्ताको भण्डाफोर गर्दै वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापनाका लागि वैचारिक, सङ्गठनात्मक र अन्य विभिन्न तयारी गर्न हाम्रो पार्टीले चारमहिने सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गरेको थियो । उक्त अभियानमा सम्पन्न भएका पार्टीको विचार, राजनीति, सङ्गठनात्मक, सांस्कृतिक कार्यक्रम, सङ्घर्ष, प्रचारप्रसार, जनश्रम तथा देशव्यापी हजारौँको सङ्ख्यामा राजनीतिक ध्रुवीकरणले सामाजिक दलाल सरकार रक्षात्मक बन्न पुग्यो । देशव्यापी रूपमा सत्ताधारी वा प्रतिपक्षी संसदीय राजनीतिक पार्टीहरू सत्ताको वरिपरि केन्द्रित भइरहेको सन्दर्भमा हाम्रो पार्टीले जनताको बीचमा गई चलाएका राजनीतिक कार्यक्रमहरूले जनतामा ठूलो उत्साह थप्दै आम जनता पार्टीको सहयोगी सङ्गठनमा आबद्ध हुन पुगे । संसद्वादी पार्टीहरूले चुनावमा जनताका बीचमा गरेका प्रतिबद्धताहरू पूरा गर्नुको साटो उल्टो दिशामा हिँड्न थालेपछि आमजनतामा दलाल सरकारप्रति घृणा बढ्न थाल्यो । बौद्धिक वर्ग, कर्मचारी, व्यापारी तथा राष्ट्रिय पुँजीपति वर्गमा समेत असन्तुष्टि बढ्न थालेपछि आफूलाई दुई तिहाइको दम्भको घोषणा गर्ने वली सरकार सङ्कटको भुमरीमा पर्न थाल्यो । यसप्रकारको वस्तुगत अवस्थामा आफ्ना राष्ट्रघाती तथा जनघाती क्रियाकलाप ढाकछोप गर्न वली सरकार के निहँु पाऊँ कनिका बुक्याऊँको चरितार्थ गर्दै ७२ अर्ब कर छली गर्ने सूचना प्रदायक संस्था एनसेलमाथि गरिएको जनकारबाहीको बहाना बनाई नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउन पुगेको छ । निष्कर्षमा के भन्न सकिन्छ भने केपीको नेतृत्वमा रहेको सामाजिक दलाल सत्ताले आफ्ना असफलताहरूको ढाकछोप गर्न देशलाई गृहयुद्धमा लैजान हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाएको छ । यो सत्य नै आज नेपाल राष्ट्र र नेपाली जनताको निष्कर्ष हो ।

तेस्रो, केपी–प्रचण्डको साम्राज्यवादी दलालीकरणको भद्दा रूप

आफ्नो सत्ता स्वार्थका लागि साम्राज्यवादको दलाली गर्नु अल्पविकसित राष्ट्रहरूका सरकारको आमविशेषता हुने गरेको छ । आजको साम्राज्यवादी युगमा यो कुरा राम्ररी प्रस्ट भएको छ– हाम्रोजस्ता अल्पविकसित मुलुक वा तेस्रो उत्पीडित मुलुकहरूले आफ्ना साम्राज्यवादी मालिकहरूको दलालीकरण नगरीकन उनीहरूको सत्ता एकछिन पनि टिक्न सक्दैन किनकि साम्राज्यवादले योजनाबद्ध रूपमा प्रत्येक देशमा दुई वा दुईभन्दा बढी गुटहरू निर्माण गरी एकसाथ परिचालन गरिरहेको हुन्छ । उनीहरू आफ्नो स्वार्थका लागि जो अनुकूल पात्र वा पार्टी अगाडि आउँछ, उसैलाई प्रयोग गर्न पुग्छन् । यति मात्र होइन, उनीहरूले आफ्नो हितअनुकूल काम गरेनन् भने भौतिक रूपले सफाया गर्नेसम्मको योजना बनाउँछन् । अन्तर्राष्ट्रिय रूपमा हेर्दा इराकका सद्दाम हुसेन, अफगानिस्तानका बिन लादेन, लिबियाका कर्णेल गद्दाफीलगायतलाई कुनै बेला जिहादीका रूपमा आर्थिक र भौतिक सहयोगसहित आफैँले निर्माण गरी हुर्काएको थियो । जब उनीहरूले आफ्नो राष्ट्र र जनताप्रति अलिकति अडान लिन थाले तब उनीहरूलाई सैनिक हस्तक्षेप गरी हत्या गर्न पुगे । आज उनीहरूले विश्वव्यापी अस्थिरता पैदा गर्न विभिन्न आतङ्कवादी सङ्गठनहरूको निर्माण गरी परिचालन गरिरहेका छन् । माथि नै चर्चा गरिसकिएको छ– आज नेपाल साम्राज्यवादीहरूले आफ्नो सत्तास्वार्थका लागि विभिन्न रणनीतिक योजनाहरू अगाडि सारिरहेका छन् । त्यसका लागि उनीहरूले केपी–प्रचण्डमण्डलीलाई अधिकतम प्रयोग गर्न चाहन्छन् भने केपी–प्रचण्ड पनि आफ्नो सत्तास्वार्थका लागि आफ्ना मालिकको जस्तोसुकै आदेशको पालना गर्न चाहन्छन् । उनीहरूले आफू साँचो अर्थमा कम्युनिस्ट नभएको, बरु उनीहरूको बफादार भएको देखाउन चाहन्छन् भने जनतालाई कम्युनिस्ट भएको र समाजवाद आफ्नो रणनीतिक उद्देश्य भएको कुरा बताइरहेका छन् । राजनीतिक तथा वैचारिक दृष्टिले उनीहरूको दिवालियापनको पर्दाफास भइसकेको छ भने व्यावहारिक रूपले पनि उनीहरूको चरित्र क्रमशः पटाक्षेप हँुदै गइरहेको छ । साम्राज्यवादको विभिन्न दबाब र षड्यन्त्रहरूको डिजाइनमा उनीहरूले आज राष्ट्रघात र जनघात शृङ्खलाको निरन्तरतामा नेपालको भूराजनीतिमा दीर्घकालीन असर पुग्ने गरी कैयौँ रणनीतिक सम्झौताहरू गर्न पुगेका छन् । यी घटनाक्रमहरू केपी–पीकेको गठजोडमा आफ्ना साम्राज्यवादी मालिकहरूलाई खुसी तुल्याउनका लागि गरिएका शृङ्खलाबद्ध राष्ट्रघात तथा जनघातका घटनाक्रमहरू हुन् । आफ्नो सत्ताको रक्षार्थ आगामी दिनमा थप राष्ट्रघात र जनघातका शृङ्खलाहरू अरू बढेर जाने कुरा निश्चित छ ।

चौथो, क्रान्तिकारी पार्टीको दायित्व

क्रान्तिकारी पार्टी त्यस्तो पार्टी हो जसको काँधमा सिङ्गो राष्ट्र र जनताको भाग्य र भविष्य जोडिएको हुन्छ । आज हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको काँधमा नेपाल राष्ट्र र नेपाली जनताको भाग्य र भविष्य जोडिएको छ । नेपालको दलाल संसदीय व्यवस्था र त्यसका सञ्चालक पार्टीहरूमा देखापरेको साम्राज्यवादपरस्त सोचाइका कारण व्यक्त भइरहेको राष्ट्रघात र जनघातका शृङ्खलाहरूले जनताहरूमा देखापरिरहेको निराशा र उनीहरूका विरुद्ध भइरहेका जनविद्रोह, देशको कहालीलाग्दो अर्थव्यवस्था, विकृति र विसङ्गति, लूट, भ्रष्टाचार र वलात्कारका घटनाक्रमहरू, बेरोजगारी, महँगी तथा शिक्षा र स्वास्थ्यमा भइरहेका निजीकरण र माफियाकरणले जनतालाई आजित तुल्याएको छ । हाम्रो पार्टीको स्पष्ट दृष्टिकोण छ– यी सम्पूर्ण समस्याको मूल स्रोत विश्वमा असफल संसदीय व्यवस्था हो । यसको समाधान वैज्ञानिक समाजवादी राज्यव्यवस्थाबाट मात्र सम्भव छ । वैज्ञानिक समाजवादी राज्यसत्ता त्यस्तो राजनीतिक प्रणाली भएको व्यवस्था हो जहाँ राष्ट्र स्वाधीन हुनेछ । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सञ्चारको ग्यारेन्टी हुनेछ । मान्छेले मान्छेमाथि गर्ने सम्पूर्ण असमानता र विभेदको अन्त्य हुनेछ । जनता राज्यसत्ताका मालिक हुनेछन् । हाम्रो पार्टी वैज्ञानिक समाजवाद निर्माणको यही महान् अभियानको नेतृत्व गरिरहेको पार्टी हो । सामाजिक दलालहरू हम्रो पार्टीको यो अभियानबाट आतङ्कित बनेका छन् । उनीहरू हाम्रो पार्टीका विरुद्ध सङ्कटकालीन अवस्थाझैँ राजनीतिक र फौजी रूपमा हमला गर्न पुगेका छन् । उनीहरू हाम्रो पार्टीलाई उत्तेजनामा ल्याएर प्रतिक्रियावादी युद्धमा धकेल्न चाहन्छन् । तर हामी कमरेड माओले भनेझैँ तिमी तिम्रो तरिकाले लड, हामी हाम्रो तरिकाले लड्छौँ भन्ने तरिका अपनाउँदै अघि बढिरहेका छौँ । हामी हाम्रो विकसित विचार, दर्शन, कार्यदिशा र नेतृत्वमा नेपालमा एकीकृत जनक्रान्ति सङ्गठित गर्न लागिरहेका छौँ । नयाँ नेतृत्वद्वारा विकसित विचार, दर्शन र कार्यदिशा जसलाई साम्राज्यवादी, प्रतिक्रियावादी र संशोधनवादीहरू ‘अन्धाले हात्ती छामेझैँ’ विभिन्न विश्लेषण गरिरहेका छन् । नेपाल राष्ट्र र जनताका वर्गवैरीहरूले एकीकृत जनक्रान्तिका विरुद्ध विभिन्न षड्यन्त्रका जोरजुलुमसहित लागिरहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टीले योजनाबद्ध रूपमा आफ्ना कामहरूलाई अगाडि बढाउनु पर्दछ । राजनीतिक क्रान्ति समाज विकासको एउटा अनिवार्य प्रक्रिया हो । मानव समाजमा हालसम्म जेजति विकास, खोज, अनुसन्धान र प्रगतिहरू भएका छन् त्यसको मूल कारण राजनीतिक क्रान्तिको निरन्तरता हो । सत्तासीन वर्ग जहिले पनि राजनीतिक क्रान्तिलाई आतङ्ककारी, उग्रवादी, अराजक गतिविधि, राष्ट्रद्रोह र लुटेराको आरोप लगाउँदै दमन गर्न पुग्छन् । नेपाली क्रान्ति पनि यो अन्तर्राष्ट्रिय परिघटनाबाट अछूत रहन सक्दैन । आज नेपाली क्रान्ति ठीक यही परिघटनासहित अगाडि बढिरहेको छ । राजनीतिक विज्ञान र यसले अनिवार्य झेल्ने नियमलाई आत्मसात गर्दै सिङ्गो पार्टीले विचार, राजनीति र नवीनतम् कार्यदिशालाई आफ्ना सम्पूर्ण निकाय र आमजनतासम्म पु¥याउन जोड लगाउनुपर्छ । यसका साथै सामाजिक दलाल सरकारविरोधी सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, बुद्धिजीवी, व्यापारी र विभिन्न जनवर्गहरूसँग सहकार्य गर्दै सङ्घर्ष सङ्गठित गर्ने प्रयत्न अगाडि बढाउनु पर्दछ । सङ्गठनात्मक दृष्टिले क्रान्तिका तीन साधनलाई सशक्त र जुझारु वनाउँदै लडाकु दस्तामा बदल्न जोड लगाउनु पर्दछ । यसप्रकारका सङ्गठनहरूको निर्माण र परिचालन गर्दा गुणबाट मात्रातिर जाने तथा चेन अफ कमान्ड र चेन अफ युनिटीको विधि अवलम्बन गर्नु पर्दछ । जनवाद र केन्द्रीयताको सही प्रयोगद्वारा क्रान्तिका तीन साधनको सबलीकरणमा जोड लगाउनु पर्दछ । जनताका वैरीहरूले पार्टी र जनतालाई अलगथलग पार्न चाहन्छन् । तसर्थ क्रान्तिकारीहरूले जनसम्बन्धलाई बलियो बनाउन हरदम कोसिस गर्नु पर्दछ । यसका साथै पार्टीका सम्पूर्ण तहका नेता तथा कार्यकर्ताहरूले परिस्थितिमा आउने जस्तोसुकै चुनौतीका लागि पनि आफूलाई तयार गर्न जरुरी छ । मृत्यु, जेल, पारिवारिक समस्याजस्ता विषयहरू क्रान्तिको प्रक्रियामा आउने अनिवार्य चुनौतीहरू हुन् । समाज बदल्ने राजनीतिक क्रान्तिमा सहभागी नेता–कार्यकर्ताहरूले यो एउटा अनिवार्य नियमका रूपमा बुझेर अगाडि बढ्नुपर्छ । हामी सत्यका पक्षमा छौँ । सत्य जनताका पक्षमा हुन्छ । यसका साथै हाम्रो पार्टीद्वारा विकसित दर्शन, राजनीति, विचार र कार्यदिशाको प्रयोगले हामीलाई केपी–पीके मण्डलीको सामाजिक फासिवादको त के दुनियाँको कुनै पनि शक्तिले हाम्रो विजयलाई रोक्न सक्नेछैन । सामाजिक दलाल सत्ताद्वारा लादिएको सामाजिक फासिवादी उत्पीडनका विरुद्ध चौतर्फी क्षेत्रमा जनप्रतिरोधलाई सङ्गठित गर्दै आमजनताको घेरालाई अझ सशक्त र व्यापक बनाउँदै अघि बढौँ । एकीकृत जनक्रान्ति जिन्दावाद ! नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद !!

२०७६ जेठ ९ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :