प्रहरीद्वारा नेकपा नेता राजुको गोली प्रहार गरी हत्या, पार्टीद्वारा गम्भीर खेद तथा आक्रोश व्यक्त


भोजपुर : प्रहरीले गोली प्रहार गरी नेपाल कम्युनिस्ट पार्टी भोजपुरका नेता तीर्थराज घिमिरे ‘राजु’ को हत्या गरेको नेकपाले जनाएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका २ स्थित मैयुङ क्षेत्रको धोद्रे जङ्गलमा मङ्गलबार दिउँसो प्रहरीले गोली प्रहार गरी राजुको हत्या गरेको नेकपाले जनाएको हो ।

२५ वर्षीय राजु षडानन्द नगरपालिका २ कुदाककाउलेका बासिन्दा हुन् । प्राप्त जानकारीअनुसार प्रहरीले राजुको तिघ्रामा गोली प्रहार गरेको थियो । नेकपाले आफ्नो पार्टीका जिल्ला नेताको हत्याप्रति गम्भीर आपत्ति, खेद र आक्रोश प्रकट गरेको छ । सरकारले नेकपाका कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको दाबी गरे पनि नेकपा सगरमाथा ब्युरोका नेता शैलेशले प्रहरीसँग कुनै मुठभेड नभएको र आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

‘प्रहरीले मुठभेडका क्रममा गोली लागेको भनेको छ । यो सरासर झूट कुरा हो’, नेकपा सगरमाथा ब्युरोका नेता शैलेशले भनेका छन्, ‘मुठभेडका नाममा नियन्त्रणमा लिएर हत्या गरिएको हो ।’

भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भने प्रारम्भिक उपचारपछि थप उपचारका लागि लगिँदै गर्दा उनको बाटैमा मृत्यु भएको बताएका छन् । ‘भोजपुर नगरपालिकास्थित भैँसीपङ्खाको आइतबारे भीरनजिकै खसेको पहिरोले बाटो अवरुद्ध भएपछि समयमा अस्पताल पु¥याउन नसक्दा घिमिरेको बाटैमा मृत्यु भएको’ प्रजिअ खतिवडाले सञ्चारमाध्यमलाई बताएका छन् ।

नेकपामाथि प्रतिबन्ध लगाएपछि सरकारले पार्टीका नेता–कार्यकर्तालाई खोजीखोजी गिरफ्तार गर्ने, गिरफ्तारीका लागि गोली प्रहार गर्ने, यातना दिने र झूट्टा मुद्दा लगाई हिरासत तथा जेल चलान गर्ने कार्य गर्दै आएको छ । यसअघि सल्यान, कपिलवस्तुलगायत जिल्लामा पनि प्रहरीले नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गर्न गोली प्रहार गरी घाइते बनाएको थियो । नेकपाले एकीकृत जनक्रान्ति कार्यदिशा कार्यान्वयन थालेदेखि योसमेत तीनजनाको बलिदान भइसकेको छ ।

२०७६ जेठ ८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :