मिडिया काउन्सिल विधेयकविरुद्ध नेकपा (विज्ञप्तिसहित)

‘विधेयक पूर्ण रूपले खारेज गर’ 


काठमाडौं : केपी वली सरकारले चालू बर्खे अधिवेशनद्वारा पारित गर्ने गरी ‘नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पेस गरेको छ । हुनत उसले सुरक्षा परिषद्लगायत जनसरोकार तर जनविरोधी विधेयक संसद्मा पेस गरेको छ । अहिले सरकारले ल्याएका सबैजसो विधेयकहरूको विरोध भैराखेको छ । त्यसमा पनि मुख्य रूपमा ‘नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ लाई लिएर चौतर्फी विरोध मात्र नभएर उक्त विधेयकका विरुद्ध नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नेकपा (माओवादी केन्द्र हरूले पार्टीस्तरमा नै संयुक्त आन्दोलन नै घोषणा गरिसकेका छन् । अहिले पत्रकारहरूको साझा सङ्गठन नेपाल पत्रकार महासङ्घले चरणबद्ध आन्दोलन नै गरिराखेको छ ।

यही क्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मंगलबार प्रेसविज्ञप्ति नै जारी गरी उक्त विधेयकको विरोध गर्नुका साथै आन्दोलनहरूमा समर्थन र ऐक्यबद्धता रहेको जनाएका छन् । साथै सबै पत्रकारहरूलाई आन्दोलनमा उत्रिन अपिल गर्नुका साथै निर्देशन पनि दिएका छन् ।

विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘नेपालको प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउने गरी अहिलेको सरकारले संसद्मा पेस गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकलाई लिएर हाम्रो पार्टी आफ्नो धारणा स्पष्ट गर्न चाहन्छ । नेपालका सबैखाले परिवर्तनकारी आन्दोलनमा प्रेसको महत्वपूर्ण योगदान रहँदै आएको छ । जनताको रगत–पसिना र रगतद्वारा प्राप्त सीमित अधिकारहरू पनि अहिलेको केपी सरकारले एकपछि अर्को गर्दै हडप्दै गएको छ । सरकारले गरेका गलत काम, भ्रष्टाचार, कालोबजारी, जग्गा दलाली, जनतन्त्र र राष्ट्रघातका विरुद्ध पत्रिकाहरूले लेख्न थालेपछि केपी—पीके सरकारले सञ्चारमाध्यमहरूलाई नियन्त्रण गर्नका लागि विभिन्न कानुन र ऐनको सिर्जना गर्दै गएको छ । कहिले साइबर क्राइम भन्दै पत्रकार गिरफ्तार गरिरहेको छ । कहिले सरकारविरोधी समाचार लेखेको नाममा यातनासम्म दिने गरेको छ । यो विधेयक पारित भएमा सरकारका विरुद्ध लेख्ने पत्रकारलाई नगद एक करोडसम्म र जेल सजायँ दिनसक्ने प्रावधान राखिएकाले पनि सञ्चार क्षेत्र त्रसित हुनु स्वाभाविक हो । आफूलाई लोकतन्त्र र प्रेस स्वतन्त्रताको वकालत गरेर नथाक्ने केपी सरकारको यस्तो रबैयाका विरुद्ध हामीसहित चार पार्टीहरूले सङ्घर्षको घोषणा गरिसकेका छौँ । त्यही क्रममा पछिल्लो समयमा स्वतन्त्र पत्रकारितामाथि सरकारको ठाडो नियन्त्रणमा राख्ने गरी ल्याइएको यो विधेयकको हाम्रो पार्टी पूर्ण खारेजीको माग गर्नुका साथै अहिले उक्त विधेयकका विरुद्ध राजनीतिक पार्टीहरू, पत्रकार महासङ्घसहितले गरेको आन्दोलनप्रति पूर्ण समर्थन गर्नुका साथै ऐक्यबद्धता व्यक्त गर्दछ । साथै सम्बन्धित पक्षलाई आन्दोलनमा उत्रिन पनि निर्देशन गर्दछ ।’

उक्त विधेयकका विरुद्ध ५ पार्टीले बुधबार दिउँसो रत्नपार्क शान्तिवाटिकामा खुला अन्तक्र्रिया आयोजना गरेका छन् । उक्त कार्यक्रममा विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेलले नेतृत्व गरेको नेकपा, गोपाल किराँतीले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र, सीपी गजुरेलले नेतृत्व गरेको वाम तथा देशभक्त मोर्चाका प्रतिनिधिलगायत सरोकारवालाहरूले बोल्ने भएका छन् । विज्ञप्तिकाे पूर्णपाठ…

२०७६ जेठ ८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :