कार्यदिशा, कार्यविभाजन र नेतृत्वको अन्तरसम्बन्ध

जब मान्छे जन्मन्छ, त्यसपछि उसको जीवनपर्यन्त विभिन्न घटनाहरू भइरहन्छन् । ती सबै घटना हुनुको उपजचाहिँ उसको व्यक्तिगत कारण नभई त्यो समाजको प्रतिबिम्बका रूपमा अभिव्यक्त हुने एउटा जीवन्त प्रक्रिया हो । यी र यस्ता घटनाहरू समाजमा जति भइरहन्छन् ती सबै एकै किसिमका नभई केही घटना समाजले स्वीकार्नेखालका हुन्छन् भने केही घटना अस्वीकार्यखालका हुन्छन् । केही घटना व्यक्तिगत हिसाबले भएको हुन्छ भने केही घटना सिङ्गो समाजको अगुवाइमा भएको हुन्छ । यीमध्ये पनि केही परिघटनाहरू यो समाजलाई अग्रगमनतिर लैजाने हुन्छ भने केही घटनाहरू पश्चगमनतिर फर्काउने प्रवृत्तिका हुन्छन् । यो दिशालाई अगाडि लैजाने वा पछाडि फर्काउने भन्ने निर्धारणचाहिँ विद्यमान समाजमा चलिरहेको मुख्य नीतिले गर्छ । त्यसकारण यो समाजलाई वैज्ञानिक ढङ्गले सही दिशामा बदल्न सही नीति तथा योजना, सही दृष्टिकोण र वैज्ञानिक कार्यदिशा आवश्यक हुन्छ । त्यो वैज्ञानिक कार्यदिशा सहर्ष रूपमा यो धर्तीमा आकाशबाट बर्सिंदैन र पातालबाट उर्लिंदैन । त्यो त केवल यो समाजमा रहेका सचेत क्रान्तिकारी योद्धाहरूको ऐतिहासिक पहलकदमी, जनताको असली आवाज र समाजको वर्गधरातलबाट प्राप्त गर्न सकिने दृष्टिकोण हो । उक्त वैज्ञानिक कार्यदिशामार्फत नै आजसम्म संसारका हरक्षेत्रका उत्पीडित र विभेदमा परेका श्रमिक वर्गको आफ्नो सुन्दर भविष्य निर्माण गर्ने ऐतिहासिक कार्यहरू पूरा हुँदै आएको छ । सही र वैज्ञानिक कार्यदिशा भएर मात्र उत्पीडित श्रमिक जनताको सुन्दर भविष्य निर्माण गर्न सम्भव छैन । जनताको सुनौलो भविष्य निर्माण गर्न त्यतिबेला सम्भव छ जतिखेर श्रमिक जनताको आफ्नै राज्यसत्ता प्राप्त हुन्छ । सर्वहारा श्रमिक जनताको आफ्नै राज्यसत्ता प्राप्तिका निमित्त उनीहरूसँग सही र वैज्ञानिक कार्यदिशा आवश्यक पर्दछ । उक्त कर्यदिशालाई सही ढङ्गले कार्यान्वयन गरी पुरानो राज्यसक्तालाई परिवर्तन गरी जनताको राज्यसत्ता स्थापना गर्न सही नेतृत्व र इमानदार कार्यकर्ता आवश्यक पर्दछ । निडर, साहसी र सचेत नेता–कार्यकर्ताबिना त्यो कार्यदिशा लागू गर्न असम्भव छ । कार्यदिशालाई सही ढङ्गले लागू गरेर योजनालाई सफलताको चुलीमा पु¥याउन नेतृत्वले कार्यकर्ताको क्षमता, बदलिँदो परस्थिति र जनताको चाहनाअनुसारको कार्यविधि बनाएर सही र इमानदार नेतृत्वलाई कार्यक्षेत्रमा पठाएन भने त्यो कार्यदिशा बीच बाटैमा अलपत्र पर्ने खतरा हुन्छ । त्यसकारण सर्वहारा श्रमिक जनताको आफ्नै राज्यसत्ता प्राप्त गर्न कार्यदिशा, कार्यविधि र नेतृत्वको सवाल अपरिहार्य हुन्छ ।

कार्यदिशा

आजसम्म मानव जगत्को लिखित इतिहासको मात्र अध्ययन गर्न हो भने पनि थुप्रै र धेरै प्रकारका कार्यदिशाहरू (नीति तथा नियमहरू) हामीले प्राप्त गरिसक्यौँ । ती नीति तथा नियम–कानुनहरू निर्माण गर्दैखेरि एकाध अपवादबाहेक सबै नीति तथा नियमहरू तत्कालीन समयका सचेत मान्छेहरूको योजनाबद्ध पहलमा समयसापेक्षित नै भएको पाइन्छ । तर ती कार्यदिशाहरूले किन दुनियाँलाई बदल्न सकेनन् ? किन श्रमिक जनताको सेवामा समर्पित भएर जनहितकारी काम गर्न सकेनन् ? त्यसको ठोस कारण ती कार्यदिशा निर्माण गर्ने मान्छेहरू सचेत र शिक्षित थिए तर श्रमिक जनताका थिएनन् । तिनीहरू केवल कबिला, कुलीन, मालिक, सामन्त, पुँजीपति, दलाल र नोकरशाही थिए । तिनले जनताको नौलो भविष्य निर्माण गर्ने र युगलाई बदल्ने कार्यदिशा नभएर आफ्नो लुटको स्वर्ग निर्माण गर्ने र सधैँभरि जनतालाई शोषण– दमन गरी आफू बादशाह बनिरहने कार्यदिशा मात्र निर्माण गरे । सोही कारण आजसम्म जनअपेक्षित रूपमा दुनियाँको कायापलट हुन सकेन । जनताको परिवर्तन र मुक्तिको चाहना पनि अधुरै रह्यो । यसप्रकारका गतिविधिहरू यो दुनियाँमा अनन्तकालसम्म निरन्तर रूपमा चली नै रह्यो । त्यसप्रकारका गतिविधिहरू चलिरहँदा पनि कसैले केही नगरेको भन्ने होइन । केही मान्छेहरूले दुनियाँ बदल्ने र जनताको जीवनमा आइपरेको समस्या समाधान गर्न कार्यदिशा निर्माण गर्न प्रयास त गरे तर ती प्रयासहरू निष्कर्षरूपी हुन सकेन । जब सन् १८४८ मा माक्र्स र एङ्गेल्स मिलेर कम्युनिस्ट घोषणापत्र जारी गरियो त्यसबखत नै विश्वमा पहिलोपटक श्रमिक तथा सर्वहारा (गरिखाने जनताको सत्ता प्राप्त गर्ने र युग बदल्ने हतियार प्राप्त भयो । उक्त दिनबाट नै सर्वहारा वर्गले कुलीन तथा पुँजीपति शासक वर्गका विरुद्ध सैद्धान्तिक रूपमै सङ्घर्षको शुभारम्भ ग¥यो । केही सङ्घर्षमा सर्वहारा वर्गले जित हासिल ग¥यो भने केही सङ्घर्षहरूमा पुँजिपति वर्गले आफ्नो पुरानै लुटको स्वर्ग सुरक्षित गर्न सफल भयो । आज दुनियाँमा सबैभन्दा ठूलो सङ्घर्ष सर्वहारा वर्ग र पुँजिप्रति वर्गकै बीचमा छ । यही सर्वहारा श्रमिक जनताको राज्यसत्ता प्राप्त गर्न नेपालमा पनि जनताको स्तरबाट ठूला जनसङ्घर्षहरू भए । त्यसको ज्वलन्त उदाहरण नेपालमै पहिलोचोटि जनताले आफ्नो राज्यसत्ता आफँै निर्माण गर्न दस वर्षसम्म जनयुद्धको पनि नेतृत्व ग¥यो । तर त्यो मुख्य नेतृत्वको सैद्धान्तिक विचलन र क्रान्तिप्रतिको गद्दारीका कारण फलतः निष्कर्षमा पुग्न नसकी निष्कर्षविहीन ढङ्गले पुरानै व्यवस्थामा गएर पतन हुन पुग्यो । यी सबै आरोह, अवरोह र धोकाधडीका बीचबाट फेरि जनताको आफ्नै राज्यसत्ता स्थापना गर्न नेपाल कम्युनिस्ट पार्टीले मालेमावादको मार्गनिर्देशनमा आधारित एकीकृत जनक्रान्तिको कार्यदिशा निर्माण गरेर नेपाली श्रमजीवी उत्पीडित जनताको आफ्नै राज्यसत्ता वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त गर्ने महान् अभियानमा घनीभूत ढङ्गले जनताको माझमा क्रान्तिको तयारीमा जुटिरहेको छ । एकीकृत जनक्रान्ति कुनै अमूक नेताको मनोगत चाहनाको उपज नभई अहिलेको फेरिएको विश्वपरिस्थिति, नेपाली जनताको आधारभूत चाहना र नेपालको वस्तुगत धरातलको संश्लेषणपछि ठोस गरिएको २१ औँ शताब्दीको श्रमिक जनताको राज्यसत्ता प्राप्त गर्ने र पुँजीपति वर्गको राज्यसत्तालाई ध्वंस बनाउने सुस्पष्ट वैज्ञानिक कार्यदिशा हो । कार्यदिशा निर्माण गर्नु र नगर्नुले कुनै खास अर्थ राख्दैन । अर्थ केले राख्छ भने त्यो कार्यदिशा कुन वर्गको स्वार्थसिद्ध गर्न बनेको छ ? त्यो वर्गको वर्गीय लक्ष्य प्राप्त गर्नका निमित्त उक्त कार्यदिशाले निष्कर्षमा पु¥याउने भुमिका निर्वाह गर्छ कि गर्दैन भन्ने प्रश्नसँग मात्र सवाल राख्छ । त्यसकारण कार्यदिशा भनेको वैज्ञानिक, वस्तुवादी, जनताको जीवन र राष्ट्रलाई बदल्न प्रेरित गर्ने वैज्ञानिक अस्त्र हुनुपर्छ ।

कार्यविधि

आजसम्म मानव दुनियाँमा जति सिद्धान्तहरू प्रतिपादित भए ती सबै सिद्धान्तहरूलाई प्रयोग तथा कार्यान्वयन गर्न निश्चित कार्यविधिहरू बनाएको हुन्छ । चाहे त्यो लुट्ने सिद्धान्त किन नहोस् या त सेवा गर्ने सिद्धान्त नै किन नहोस्, सारमा भन्दाखेरि बदमासी गर्न पनि निश्चित कार्यविधिको आवश्यकता पर्छ । त्यही कार्यविधिको आडमा मात्र त्यो योजना सफल कार्यान्वयन हुन्छ । उद्देश्य ठूलो होस् वा सानो होस्, त्यसलाई कार्यान्वयन गरेर प्राप्त गर्ने प्रक्रिया एउटै हुन्छ । त्यही निश्चित उद्देश्य प्राप्त गर्न बनाइने ठोस मार्गचित्र नै कार्यविधि हो । त्यसकारण नेपाल कम्युनिस्ट पार्टीले संश्लेषण गरेको एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद प्राप्त गर्न त झनै यो संसारको सबैभन्दा उत्कृष्ट वैज्ञानिक कार्यविधि आवश्यक पर्छ । त्यो कार्यविधिको अभावमा वैज्ञानिक समाजवाद स्थापना गर्न त परै जाओस्, केवल लुट्ने धन्दा पनि असफल हुन्छ । कार्यदिशाको पक्षपोषण गर्ने, जनताको जीवन व्यवहारमा सहज रूपमा लागू गर्न सकिने र जनअपेक्षाअनुरूप जनताको मनोभावनालाई संकेन्द्रित गरेर मुख्य उद्देश्य प्राप्तिका लागि दिशाबोध गर्ने वैज्ञानिक अस्त्र नै कार्यविधि हो । विशेषतः कम्युनिस्ट पार्टीका क्याडरहरूले सिद्धान्त र जनअपेक्षाअनुसार तारतम्य मिलाउन सकिने कार्यविधि बनाउन जरुरी छ । जनताको मानोभावनाविपरीत सिद्धान्तको आडमा मात्र कार्यदिशा लागू गर्ने कोसिस गरियो भने त्यो कार्यदिशा लागू होइन, तुहिने खतरा हुन्छ । त्यसकारण सिद्धान्त, वस्तुगत धरातल, जनताको अपेक्षा र क्याडरको क्षमताअनुसारको कार्ययोजना बनाएर मात्र एकीकृत जनक्रान्तिलाई उचाइमा पु¥याउन सकिन्छ । अन्यथा त्यसो हुन सकेन भने एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद होइन, पुँजीवादभित्रै बिलाउने खतरा हुन्छ ।

नेतृत्व

सबै विचार दृष्टिकोण र योजनाहरू तय गर्दा समाजका खासखास व्यक्तित्वहरूको विशेष भूमिका रहने गर्छ । ती भूमिकामध्येमा पनि मुख्य नेतृत्वको झनै उच्च भूमिका हुने गर्छ । यी समग्र व्यक्तित्वहरूको सामूहिक पहलकदमीको संकेन्द्रित अभिव्यक्तिलाई केन्द्रीकृत गरेर ठोस गरेको मार्गदर्शन नै दृष्टिकोण हो । जब दृष्टिकोण निर्माण भएपछि त्यो जनताको तहसम्म लागू गर्ने र क्रान्तिको प्रक्रियालाई अघि बढाउने दिशामा अघि बढ्छ । त्यसबखत एक व्यक्तिको मात्र प्रधान भूमिकाले त्यो प्रक्रिया अघि बढ्न सकिँदैन । त्यसका निम्ति विभिन्न तहको फरकफरक भूमिका निर्वाह गर्न कुशल नेतृत्वको आवश्यकता पर्छ । जनताको चाहना र सङ्गठनको आवश्यकताविपरीत नेतृत्वको भूमिका भयो भने त्यो विचार, दृष्टिकोण जनताको तहसम्म लागू गर्न असम्भव हुन्छ । त्यसकारण कार्यदिशा कार्यान्वयन गर्न सही कार्यविधि भएर मात्र पुग्दैन । त्यो कार्यविधिलाई सही ढङ्गले जनताको तह र क्रान्ति सम्पन्न गर्ने प्रक्रियामा लैजान खासखास तहमा निश्चित नेतृत्वको गहन भूमिका हुनुपर्छ । त्यसका निम्ति नेतृत्वको वैचारिक, राजनीतिक, साङ्गठनिक तथा फौजी क्षमता, सामाजिक धरातल, संस्कार, संस्कृति र उमेरसमूह (शारीरिक सबलता) का कारणले पनि मुख्य भूमिका खेल्ने गर्दछ । जसको कारण नेतृत्वलाई कार्यविभाजन गर्दाखेरि यी तत्वहरूलाई ख्याल गर्न सकिएन भने सही विचार र दृष्टिकोण भए पनि अन्ततः त्यो उद्देश्य निष्कर्षविहीन ढङ्गले असफल हुने खतरा हुन्छ । त्यसकारण विचार दृष्टिकोण निर्माण गर्ने नेतृत्व एउटा तहको, दृष्टिकोण तथा योजनालाई तल र माथि संयोजन गर्ने मध्यस्थताको भूमिकामा रहने नेतृत्व एउटा तहको र त्यो सम्पूर्ण दृष्टिकोण र योजनालाई जनताको तहमा गएर कार्यान्वयन गर्ने नेतृत्व एउटा तहको टिम निर्माण गरेर कार्यविभाजनको प्रक्रियालई अगाडि बढाउन सकिएन भने जतिसुकै वैज्ञानिक र क्रान्तिकारी दृष्टिकोण भए पनि अन्ततः त्यो कार्यदिशा बेकम्मा नै हुन्छ । त्यसकारण अहिले नेपाल कम्युनिस्ट पार्टीले ठोस गरेको एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद प्राप्त गर्न पनि उल्लिखित तीनै तहको नेतृत्वलाई सही ढङ्गले कार्यविभाजन गर्दा मात्रै हामीले भनेको जनताको राज्यसत्ता प्राप्त गर्न सकिन्छ ।

२०७६ जेठ ८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :