व्यापारीद्वारा जनअदालतमा मुद्दा पेस : जनकार्वाही गर्ने नेकपा कास्कीको चेतावनी (विज्ञप्तिसहित)


काठमाडौं : पोखरा पृथ्वीचोकस्थित सस्तो बजारका व्यापारीबाट ठेकेदारले धरौटी लिएको ३७ लाख रकम फिर्ता नगरी पचाउन खोजेपछि नेपाल कम्युनिस्ट पार्टीको जनअदालतमा उजुरी परेको छ । आफ्नो पार्टीको जन अदालतमा उजुरी परेपछि नेकपा कास्कीले तत्काल व्यापारीको रकम फिर्ता गर्न भन्दै बिचौलियाहरुलाई आग्रह गर्दै जेठ २ गते (बिहीबार) एक प्रेस विज्ञप्ति जारी गरेको छ ।

‘नेपाल वायुसेवा निगमको स्वामित्वमा कास्की जिल्ला पोखरा महानगरपालिकाको पृथ्वीचोकमा रहेको जग्गामा सञ्चालनमा रहेको सस्तो बजारमा करिब २ सय व्यवसायीहरुले व्यवसाय गर्ने गरे पनि निगमले दलाल मार्फत भाडा उठाउने गरेको व्यहोरा जगजाहेर छ ।’ विज्ञप्तिमा भनिएको छ ।

‘निगमले कृष्णप्रसाद श्रेष्ठलाई मासिक ३१ हजार भाडा उठाउँन दिएको, निज श्रेष्ठले भरत गुरुङलाई विचौलियाको रुपमा भाडा उठाउँन राखेको र भरत गुरुङले मासिक ८ लाखसम्म भाडा उठाएकामा सस्तोबजारमा व्यवसाय गर्ने व्यवसायीहरुले संगठित रुपमा विरोध जनाएपछि ०७२ साउन १ गतेदेखि मासिक रु. ७ लाख भाडा कायम गरिएको र पछि विभिन्न बहानामा तत्कालिन गृहमन्त्री प्रभाकरको ठाडो निर्देशन र सिडियो तारानाथ अधिकारीको आदेशमा त्यहाँका व्यवसायीहरुलाई विस्थापित गरी धरौटी रकमसमेत फिर्ता नगरी दलालहरुको पक्षपोषण गरिएको निवेदन संयुक्त क्रान्तिकारी जनपरिषद्मार्फत हाम्रो पार्टीमा विभिन्न कागजातसहित प्राप्त भएको छ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भरत गुरुङले सस्तो बजार व्यवस्थापन समितिबाट मिति ०७२ असार २४मा ३७ लाख ५० हजार धरौटी स्वरुप लिएको र सम्झौता सकिएको १० दिनभित्रमा सस्तो बजार व्यवस्थापन समितिलाई फिर्ता गर्नुपर्नेमा हालसम्म सो रकम फिर्ता नगरेको, यस विषयमा दलालहरुलाई प्रशासनको संरक्षण रहेको कारण दलालहरुले सर्वसाधारण व्यवसायीहरुबाट रकम संकलन गरी बदनियतपूर्ण तरिकाबाट फिर्ता नगरेको घटनाप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको कास्कीले जनाएको छ । यस्तै नेकपाले बजार समितिबाट भरत गुरुङले धरौटी स्वरुप लिएको रकम १५ दिनभित्र तत्कालिन बजार समितिलाई फिर्ता गर्न र तत्कालिन बजार समितिले सार्वजनिक सुचना जारी गरी सम्बन्धीत व्यवसायीहरुलाई फिर्ता गर्न ध्यानाकर्षण पनि गराएको छ ।

नेकपाले यो वा त्यो वहानामा रकम फिर्ता नगरे यसबाट पर्ने विषय परिस्थितिको जिम्मेवार भरत गुरुङ र तत्कालिन बजार समिति हुने गम्भीर चेतावनी दिएको छ । यस्तै नेकपाले हङङ बजार, वास्तोला कम्प्लेक्स लगायत पोखराका विभिन्न ठाउँमा रहेका व्यापारीक बजारहरुमा बिचौलिया वा दलाल पक्षलाई राज्यले ठाउँ दिंदा व्यापारी हजारौं प्रतिशतको महँगो भाडाको मारमा परेको स्वतः सिद्ध भइसकेको बताएको छ ।

‘फेरी पनि दलाल र बिचौलियालाई बलवान बनाउँदै उनीहरुको हितमा राज्यका प्रशासनिक अंग सुरक्षा अंग र सरकारमा रहेका दल र गृहमन्त्रीसमेत यो मामिलामा मुछिएर सतहमा देखापरेका छन् । यो बजारको समस्याले नेपालका राजनीतिक दल र नेतालाई राजनीतिले कमाण्ड गर्ने नभएर डन, दलाल र बिचौलियाले निर्देशन गर्ने र सोही अनुसार एउटा हिस्साकालागि उनीहरुले भाग लिने तल्लो दर्जाको राजनीतिक भद्दा संस्कार उजागर भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

साथै नेकपाले सार्वजनिक सरकारी सम्पतिहरुलाई दलालहरुमार्फत लुटको माध्यम बनाउने र जनतालाई निर्मम शोषण गर्ने यस्ता प्रवृत्तिहरुको विषयमा आवाज उठाउन र जनताको पक्षमा संगठित हुन आम न्यायप्रेमी जनसमुदायसँग जोडदार अपिलसमेत विज्ञप्तिमार्फत गरेको छ । यो एउटा प्रतिनिधि घटनामात्र रहेको र यस्ता अनेक घटनाहरुको बारेमा आफ्नो पार्टीले अध्ययन गरिरहेको र सबैखाले शोषक र दलालहरुको विरुद्ध जनताको आवाजमा पार्टीको जाहेर गर्दै नेकपाले न्यायप्रेमी जनसमुदायलाई दलाल र ठगहरुका विरुद्ध गोलबद्ध हुन आह्वान पनि गरेको छ । विज्ञप्तिकाे पूर्णपाठ….

२०७६ जेठ २ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :