११ विद्यार्थी संगठनद्वारा सरकारी फाँसीवाद विरुद्ध आन्दोलनमा आउन आह्वान्

अखिल (क्रान्तिकारी)का नेता मदन चन्द कार्यक्रम स्थलबाट गिरफ्तार


काठमाडौं : ५५औं विद्यार्थी दिवसको सन्दर्भमा जेठ १ गते राजधानीमा भएको विरोध सभामा बोल्ने विद्यर्थी नेताहरु सरकारले एकपछि अर्को फाँसीवाद लाद्न खोजेको र त्यसविरुद्ध ११ विद्यार्थी संगठनले आगो दन्काउने चेतावनी दिएका छन् । नेविसंघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले वर्तमान सरकार संविधान विरुद्ध हुने गरेर विदेशीको इसारामा नेकपालाई प्रतिबन्ध लगाएको जिकीर गरे । शाहले जवरजस्त देशलाई युद्धमा धकेल्ने षड्यन्त्र रचेको र लोकतन्त्र मास्न लागेको भन्दै, त्यसलाई खारेज गर्न आम युवालाई सडकमा आउन आह्वानसमेत गरेका छन् ।

अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले हालै गिरफ्तार गरिएका नेकपा निकट विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जीवि ढकाललाई तत्काल रिहा गर्न माग गरेका छन् । अध्यक्ष गजुरेलले शिक्षा क्षेत्रमा भएको विकृति विरुद्ध सबै विद्यार्थी संगठन एक हुन र आन्दोलित हुन आह्वानसमेत गरेका छन् । त्यसैगरी, अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले दलाल सत्ताको विरुद्ध अन्तिम समयसम्म लडिरहने उद्घोष पनि गरेका छन् ।

रायमाझीले शिक्षा र स्वास्थ्यमा माफियाकरण गर्ने दलालहरुलाई रत्नपार्कमा लगेर पछार्ने चेतावनी दिए । सरकारको फाँसीवाद, भ्रष्टाचार, राष्ट्रघात विरुद्ध जनता चाडै सडकमा उत्रन बाध्य नपार्न चेतावनी पनि दिए । अखिल (क्रान्तिकारी)का सचिवालय सदस्य मिलन राइले वर्तमान सरकार लुटेराहरुको जमात भएको आरोप लगाउँदै, क्रान्तिकारीका लाखौं युवाहरुलाई जनमुक्ति सेनामा भर्ति हुन बाध्य नपारियोस् र अध्यक्ष चिरन्जीवि ढाकाललाई तत्काल रिहा नगरिए कडा प्रतिरोध गर्ने चेतावनी समेत दिए ।

कार्यक्रमा अनेरास्ववियु पाँचौका अध्यक्ष घनस्याम मिश्र, नयाँ शक्ति विद्यार्थी युनियन अध्यक्ष श्यामबाबु गौतम, राष्ट्रिय विद्यार्थी संघका महासचिब रन्जित मिश्र, अखिल नेपाल विद्यार्थी युनिनका अध्यक्ष प्रविण मिश्र लगायतका ११ विद्यार्थी संगठनका नेताहरुले वर्तमान सरकारले दुइतिहाइको दम्भले देशलाई खतरामा पार्न खोजेको भन्दै त्यसप्रति खरो उत्रने बताएका छन् ।

बोल्ने वक्ताहरुले ओली सरकार नेकपामाथिको गैरकानूनी प्रतिबन्ध, प्रेस स्वतन्त्रतालाई कुन्ठित गर्ने, भ्रष्टाचार र राष्ट्रघातलाई संस्थागत गर्न लागेको आरोपसमेत लगाएका छन् ।

जेठ १ गते अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष मदन चन्दलाई कार्यक्रम स्थलबाटै प्रहरीले गिरफ्तार गरेको छ ।

२०७६ जेठ २ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :