११ विद्यार्थी संगठनद्वारा ढकाललाई रिहा गर्न २४ घण्टे अल्टिमेटम

काठमाडौँ : अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकालको गिरफ्तारी विरुद्ध ११ विद्यार्थी संगठनले आन्दोलनमा जाने चेतावनी दिएका छन् । उनीहरुले शुक्रबार साँझ विज्ञप्ति निकालेर आपत्ति जनाएका छन् ।

सरकारले पञ्चायतकालको झझल्को दिने गरी विद्यार्थी संगठनका राजनैतिक तथा शैक्षिक गतिविधिमा प्रतिबन्ध लगाएको भन्दै विद्यार्थी संगठनहरुले रिहाईको माग गरेका छन् ।

‘पञ्चायतकालमासमेत सरकारले विद्यार्थी संगठनका राजनीतिक एवं शैक्षिक गतिविधिमाथि प्रतिबन्ध गरेको थिएन, केपी ओली नेतृत्वको सरकारले फाँसीवादी शैलीमा गैरन्यायिक तवरले अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकाललाई पत्रकार सम्मेलन गरिरहेकै स्थान युनियन हाउसबाट प्रहरीले गिरफ्तार गर्नुले सरकारको तानाशाही प्रवृत्ति स्पष्ट हुन्छ । सो कार्यको ११ विद्यार्थी संगठन घोर विरोध एवं भत्सर्ना गर्दछ ।’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

विद्यार्थी संगठनहरुले अध्यक्ष ढकाललाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटमसमेत दिएका छन् । रिहाई नगरे सशक्त संघर्षमा जाने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ । साथै, सरकारका यस्ता गतिविधिविरुद्ध संघर्षमा उत्रिन विद्यार्थीहरुलाई अपिलसमेत गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकाललाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलन स्थलबाटै गिरफ्तार गरेको थियो । विज्ञप्तिकाे पूर्णपाठ….

२०७६ वैशाख २७ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :