‘आया राम, गया राम, बाबुराम’

कुरा २०४७ सालको हो । भर्खर पञ्चायत ढलेर बहुदलीय व्यवस्था पुनस्र्थापना भएको थियो । पञ्चायती व्यवस्थाका विरुद्ध एकातिर केही वाम र नेपाली काङ्ग्रेस मिलेर वाम—काङ गठबन्धन थियो भने अर्कोतिर तत्कालीन नेकपा (मशाल), मसालसहितको ५ वटा पार्टीको संयुक्त राष्ट्रिय जनआन्दोलन बाबुराम भट्टराई संयोजकत्वमा बनेको थियो । यी दुई शक्तिको बलमा एकदलीय पञ्चायती व्यवस्था ढलेको थियो । पञ्चायतको अन्त्यसँगै नेपालका वाम राजनीतिक पार्टीहरूका बीचमा एकताको लहर पनि चलेको थियो । मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा (मसाल) बाट हरिबोल गजुरेल, बाबुराम भट्टराईहरूले विद्रोह गरेका थिए । त्यही क्रममा नेकपा (मशाल), नेकपा (मसाल), नेकपा (चौम), सर्वहारावादी श्रमिक सङ्गठन र जनमुखी पार्टीका बीचमा एकता भई नेकपा (एकताकेन्द्र बनेको थियो ।

बाबुरामले मोहनविक्रमले नेतृत्व गरेको मसाल छाडेपछि उनी चर्चामा आएका थिए । मोहनविक्रमले उनीहरूलाई कारबाही पनि गरे । त्यही क्रममा बाबुरामले ‘पृष्ठभूमि’ साप्ताहिकको ‘बेलाबखतका कुरा’ स्तम्भमा एउटा लेख लेखेका थिए, ‘ आया राम, गया राम बाबुराम ।’ उक्त लेखमा उनले मुख्य रूपमा संसदीय व्यवस्थामा राजनीतिक पार्टीका नेताहरू एउटा पार्टीमा आफ्नो स्वार्थ पूरा नभएपछि कसरी अर्को पार्टीमा प्रवेश गर्दछन् भन्ने सूची थियो । उनले त्यस लेखमा संसद्वादी पार्टी र नेताहरू कति व्यक्तिवादी हुन्छन्, जनताप्रति उनीहरू किन उत्तरदायी हुन सक्दैनन् भन्ने कुरा प्रस्ट्याएका थिए । तर आफू संसदीय व्यवस्था र पार्टीलाई स्वीकार नगर्ने भएकाले आफूले मोहनविक्रमको पार्टी छाड्नुको मुख्य कारण राजनीतिक–वैचारिक मात्र रहेको ‘दलिल’ पेस गरेका थिए । सायद त्यो लेख अहिले पनि कतै सुरक्षित हुनसक्छ ।

जुन दिन उनले मसाल छाडेका थिए, त्यसै दिनदेखि उनले नेपाली क्रान्तिको कार्यदिशा दीर्घकालीन जनयुद्ध र नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादमा पुग्ने रणनीति अवलम्बन गरेका थिए । साथै त्यसका लागि माक्र्सवाद—लेनिनवाद— माओवादलाई मार्गनिर्देशक सिद्धान्त मानेका थिए । उनी आफूलाई खाँटी माओवादी भन्ने गर्दथे । जवाहरलाल नेहरु विश्वविद्यालयबाट १९८६ मा विद्यावारिधि गर्दा उनको खोज थियो—द नेचर अफ अन्डरडेभलपमेन्ट एन्ड रिजनल स्ट्रचर अफ नेपाल—अ माक्र्सिस्ट एनालाइसिस । नेपालको तत्कालीन अर्थतन्त्र, उत्पादन सम्बन्ध र साधनका बारेमा गहिरो अध्ययन गरिएको उक्त पुस्तक पढ्न लायक छ ।

बाबुराम दसबर्से जनयुद्धमा लागेनन् मात्र, जनयुद्धका एकजना पहलकर्ता नै बने । संयुक्त क्रान्तिकारी जनपरिषद्का अध्यक्ष बनेर स्थानीय सत्ताको नेतृत्व पनि गरेका थिए । युद्धकालमा पार्टीभित्र अन्तरसङ्घर्ष हुँदा उनले भन्ने गर्ने एउटा वाक्यांश थियो— म त माक्र्सवाद पढेर आएको मान्छे । त्यसैले मैलेबराबर माक्र्सवाद कसले बुझेको छ ? म कहिल्यै माक्र्सवादबाट विचलित हुनु सक्तिनँ । म अरूजस्तो होइन ।

घटनाक्रमसँगै बाबुराम भट्टराईले जनयुद्धकालमा नै सामन्तवाद र नयाँ जनवादका बीचमा एउटा चरण रहने भन्दै लोकतन्त्रको वकालत गर्ने गरेका थिए । तर जनयुद्धको राप र तापले त्यसलाई मौलाउन दिएको थिएन । जब जनयुद्ध प्रचण्ड र बाबुरामको नजिक पुग्दै गयो, अनि उनीहरू दुवैले लोकतन्त्रको कुरा गर्न थाले र उनीहरूको स्वर एउटै हुन थाल्यो जसको फलस्वरूप जनयुद्धको विसर्जन हुन पुग्यो । २०६३ साल मङ्सिर ५ गते उनीहरूकै योजना, चाहना र बैठानमा बृहत् शान्तिसम्झौता भएको थियो । त्यो सम्झौता बाबुरामले पढेको कुनै माक्र्सवाद सम्बद्ध थिएन । त्यसपछिको बाबुराम र प्रचण्डको यात्रा गैरमाक्र्सवादतिर गयो । त्यसपछि उनीहरू दुवैले लोकतान्त्रिक गणतन्त्रलाई पूर्ण रूपले आत्मसात गर्न पुगे । उनीहरू दुवैले जनयुद्धको मूल्य र मान्यतालाई लत्याउँदै, सहिद र बेपत्ता योद्धाहरूको सपनामाथि चिसो पानी खन्याउँदै उही पुरानो संसदीय व्यवस्थामा लुटुपुटु हुन पुगेका थिए । यसरी संसदीय व्यवस्थासम्म प्रचण्ड र बाबुरामको सहयात्रा सजीव बनेको थियो । माओवादीकै नाममा उनी प्रधानमन्त्रीसम्म बन्न पुगेका थिए ।

जब दोस्रो संविधानसभाले संविधान घोषणा ग¥यो तब बाबुरामले प्रचण्डले नेतृत्व गरेको तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) लाई रातो स्टिकर टाँसेको घर भन्दै असोज ९ गतेका दिन छाडेका थिए । उनले त्यस दिन उक्त पार्टीलाई मात्र छाडेनन्, माक्र्सवादलाई समेत परित्याग गरेको सार्वजनिक गरे । त्यो बेला उनको माक्र्सवादी खोज र विश्लेषण एकाएक गल्र्यामगुर्लुम ढल्न पुग्यो । उनमा एउटा अहंकार पैदा भएको थियो— आफूमा भएको औपचारिक शैक्षिक प्रमाणपत्र— मेधावी र विद्वता । उनलाई विद्यावारिधिले जे पनि गर्न सक्छ भन्ने भूत सवार भएको थियो । त्यही क्रममा उनले नयाँ शक्ति पार्टी बनाए । तर जुन तामझामका साथ उनले पार्टी बनाएका थिए त्यही क्रममा त्यो विलोप हुँदै गयो । त्यसैले उनी उपेन्द्र यादवसँग एकता गर्न पुगे । आफ्नै कार्यकर्ताहरूलाई रौतहट गौरकाण्डमा मार्ने योजना बनाएका भनिएका उपेन्द्र यादवसँग उनले एकता गरेर विगत ७० वर्षदेखि भारतमा अभ्यास भएको फोहोरी संसदीय राजनीतिमा हुने ‘ आया राम गया राम बाबुराम’ हुन पुगेका छन् । अहिलेका लागि यत्ति नै । सम्पादकीय

२०७६ वैशाख २६ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :