पुष्पकमल दाहालको बर्बराहट

एक दिन प्रचण्डले भने– विप्लव प्रचण्ड बन्ने कोसिस गर्दैछन्, यो सम्भब छैन । मेरो नक्कल गर्दैछन्, यो सम्भव छैन । बिचरा प्रचण्डले २०७६ वैशाख २२ भनेछन्– जङ्गल जाने रे । हत्तेरी आफ्नो दुनो सोझो भएनजस्तो छ । फेरि केपीलाई तर्साउन जङ्गल जान्छु भनेका होलान् । प्रचण्ड काउजु, त्यो धम्कीको पारा केपीले बुझिसकेका छन् । उनलाई केही फरक पर्दैन । उनी त सबै पचाउने हजमोला खाएर बसेका छन् ।

अहिले केपीलाई कुखुरे बैँस पनि आएको छ काउजु विचार गर्नु । मार्ला त्यसका बाजेले । शक्तिवद्र्धक औषधि जो खाएको छ । तपाईंजस्तालाई त मजाले नडकारी पचाउँछन् । पचाएको हेर्ने हामी छँदैछौँ रामराम भन्नलाई । काँध थाप्न सकिन्नँ । हाम्रो काँध थमाइ तपार्इंलाई पचाउन गाह्रो भयो । अब यो कुरै नगरौँ । बेलाबेला तपाईंलाई विचित्र किसिमका भ्याउसा आउँदा रहेछन् र भन्न मन लाग्छ । थर्काउन त अब परैको कुरो हो काकु, अब म आत्महत्या गर्दैछु खुलामञ्चमा भने पनि रमिता हेर्ने मान्छे कमै आउलान् । प्रचण्ड प्रचण्ड रहेन काउजु, प्रचण्ड त फुस्साकमल भएछ । अब तपाईंलाई त एउटा गतिलो हास्यव्यङ्ग्य चलचित्रको भूमिका सुहाउँछ । त्यो पनि खै सिनेमा हलमा नचल्ला भन्ने डर । लगानीकर्ता नै तर्सिएलान् भन्ने डर । काकु, आदर्श मरेपछि मृत्यु भयावह हुँदोरहेछ भन्ने गतिलो उदाहरण । कठै बरा यस्तो अवस्था पनि आउँदो रहेछ ।

अब कुरा गरौँ विप्लब प्रचण्ड बन्ने कसरी भन्ने हिम्मत आयो । इतिहासले कहिल्यै माफ नगर्ने पगरी गुथेको तपाईं, इतिहासमा गद्दार, धोकेबाज, प्रतिक्रान्तिकारी चित्रित भएको तपाईं क्रान्तिकारी आन्दोलनले पुष्टि गरेको जोकर तपाईं प्रचण्ड अनि तपाईंजस्तो भगौडा, कायरको नक्कल विप्लवले कसरी गर्लान् ? सही वैज्ञानिक र क्रान्तिकारिलाई आरोप लगाउने हिम्मत कहाँबाट आयो काउजु ? सुन्दा पनि तपाईंप्रति टिठ लाग्छ हो ! अर्काे फेरि हिजो २२ गते जङ्गल जाने पो बक्नुभयो त हो । दलाल संसदीय पुँजीपतिहरूको स्विमिङ पुलको आहाल खेलाइको २५०० सय एमजीको ट्याब्लेटले काम गर्न छोडेजस्तो छ त काउजु । अब के रामको बनबास हो कि हनुमानको सीता खोजाइ हो फेरि जङ्गल काकु ? अब शिवपुरीको जङ्गलमा नयाँ धाम बनाउनुप¥यो । त्यसको पुजारीचाहिँ सुहाउँछ हो । महान् जनयुद्धलाई संसदीय व्यवस्थामा लिलामी चढाएर केको जङ्गल हो ? फेरि काफल खान जनयुद्धका सहिद, बेपत्ता योद्धा, घाइते– अपाङ्गलाई विश्व बैङ्कमा धितोमा राखी बनाएको आलिसान महलमा निद्रा लागेन त ? जनसत्ता विगठन गरी पुनर्निर्माण गरेको कथित संसदीय व्यवस्थाले भुँडी भरिएन ? नेपाली जनता र महान् वीर सपूतको रगतबाट प्राप्त न्यायालय विगठन गरी पुरानै व्यवस्थाको कानुनले के अपराधी घोषणा ग¥यो ? जनमुक्ति सेनालाई रुवाउँदै घर पठाएर सेना, पुलिसहरूको घेरा पनि असुरक्षित भयो कि एमालेको टाँगमुनि छिराएको पार्टीमा बोलपत्रले एउटा पनि टेन्डर पारेन ? केका लागि जङ्गल हो काकु ? कि विप्लवलाई भेट्न माया लाग्यो ? भेट्ने माया लागे जनताका बीचमा आउनू । त्यो हिम्मत तपाईंमा छैन भन्ने कसलाई थाहा छैन र ?

दलाल संसदीय व्यवस्थाको फोहोरको डङ्गुरको बसाइले निसास्सिएर स्वच्छ अक्सिजनको खोजीमा हो कि जङ्गलको याद । एकपटक जङ्गल सम्झिदिएकोमा तपाईंलाई धन्यबाद । भलै केपीहरूलाई धम्क्याउन भए पनि ओकल्नुभयो । अब हजारौँपटक आउला तपाईंलाई यस्तो याद । प्रचण्ड भएर बाँच्ने विचार भए आउनुहोस् । हामीले मार्गप्रशस्त गरेकै छौँ । महासचिव विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्तिको महान् बाटोमा । हैन भने अरूलाई थर्काउने फर्मुलाको काम छैन । कमाउनिस्टहरूको भुरेटाकुरे नेतो बन्ने सपना पानीको फोकाजस्तै हो । अझै पनि चेतना छ भने नेपाली जनताको महाशत्रु भनेको दलाल संसदीय व्यवस्था हो । के यो फोहोरको डङ्गुरबाट बाहिर निस्कन सकिन्छ त काउजु ? तपार्इंको भनाइ र गराइका बारेमा दुनियाँलाई थाहा छ । नाटक बन्द गर्नुस् संशोधनवादी महाशयहरू । कम्युनिस्ट आन्दोलनभित्र घुसेका शोसक वर्गका मतियार हुन् । क्रान्ति, समाजवाद र माक्र्सवादका शत्रु हुन् । यसको गतिलो उदाहरण तपाईं नै हो ।

अझ बम्केर समृद्धिको खोक्रो भाषण गरिराख्नुभा’ छ । विकास निर्माणको कुरा पनि रटान लगाइराख्नुभा’ छ । दाउरा खोज्न जाँदा रूखले च्यापेर मर्ने नेपाली जनतालाई कहाँनेर छ समृद्धि ? देखाइदिनुहोस् । तपाईंलाई सिंहदरबार पु¥याउने सहिदहरूको सपना कुन बैङ्कमा धितो राख्नुभएको छ ? हिजो सामन्तको घरजग्गा कब्जा गर्न तपाईंको आदेशको पालना गर्दा शरीरका अङ्ग गुमाउने घाइते योद्धा आज त्यही सामन्तको घरमा नोकरी गर्दैछ । जीविकोपार्जन गर्दैछ । यो के व्यवस्था हो ? काकु, खै तपाईंको वारभेट्रेनको सर्टिफिकेट मदन भण्डारीको जबजले खायो कि केपीको टाङमुनि छ, भन्नसक्नुहुन्छ ? १६००० हजार सहिदका सपना बेपत्ता योद्धा, घाइते, अपाङ्ग योद्धाको मेहनत, तमाम क्रान्तिकारीको अथक मेहनतलाई स्विस बैङ्कमा राखेर संसदीय भासमा चुर्लुम्म डुब्दा पनि तपाईंलाई शान्ति भएन र फेरि जङ्गल चाहियो ? कि साँठगाँठमा बार्गेनिङ मिलेन हो ? क्रान्तिकारी विचार, सिद्धान्त, पार्टी, सहयोद्धा, सहिद, बेपत्ता, घाइते योद्धा, जनता, स्वाधीनता, समानता सबै छोड्दाको हालत हो यो । वर्गीय पक्षधरता छोडी दलाल संसदीय व्यवस्थाको डान्स बार र दोहोरी साँझले पनि अमनचैन दिएन है काउजु ? बचेखुचेको पार्टी र कार्यकर्ता पनि एमालेलाई बुझाउनुभयो । पार्टी बुझाएर पनि भनेको जस्तो भएन अनि कहाँबाट आउँछ त निद्रा ? अब त तपाईंको मन बहलाउने कुनै पनि मेडिटेसन सेन्टर नै छैन– मने किन रोइस प्रचण्डे, फुस्साकमलको ढङ्गले आफूलाई त्यो दलदलबाट मुक्त गर्न सक्नुहुन्छ भने आउनुहोस्, एकपटक इतिहासले माफ गर्ला । त्यो एक मात्र बाटो भनेको एकीकृत जनक्रान्ति र त्यसको माध्यमबाट प्राप्त हुने वैज्ञानिक समाजवाद हो । यो नै आजको क्रान्तिकारीहरूको एक मात्र सही वैज्ञानिक बाटो हो । यसले मात्र नेपालको विकास, समृद्धि गर्छ र स्वाधीन बनाउँछ । यो कमरेड विप्लबको नेतृत्वमा मात्र सम्भव छ । नेपाली जनताले, क्रान्तिकारीहरूले पकड्नुपर्ने आजको एक मात्र वैज्ञानिक बाटो यही हो ।

२०७६ वैशाख २६ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :