सुनसरीमा नेकपाका पाँच नेताहरु जेल चलान


विराटनगर : नेपाल कम्युनिस्ट पार्टीका कोशी व्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुस्कर’सहित पाँच जना कारागार चलान भएका छन् । जिल्ला अदातल सुनसरीमा बैशाख १७ गते भएको थुनछेकको बहसपछि न्यायाधीश ध्रुबकुमार सुवेदीको एकल इजलासले पुस्करसहित कोशी व्युरो सदस्य माधव गौतम ‘आकाश’, मोरङ ईन्चार्ज कृष्ण कुमार श्रेष्ठ ‘प्रज्वल’ र जिल्ला सदस्य रमेश खड्कालाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो, भने सुनसरीको पानमाराबाट फागुन १५ गते हतियारसहित पक्राउ परेका पाँचथरका देबकुमार साँवा लिम्बुलाई पुर्पक्षकोलागि कारागार चलान गर्न आदेश दिएको थियो ।

दुई दिन भएको बहसपछि चारै जनालाई जनही ५०/५० हजार धरौटीमा रिहा गर्ने अदालतले आदेश दिएको थियो । तर अदालतको आदेशमा रिहा भएलगत्तै पुन प्रहरीले गिरफ्तार गर्ने तयारी गरेपछि उनीहरु धरौटी नबुझाई लिम्बुसँगै कारागार गएका हुन् । पाँचैजनालाई सुनसरीको झुम्कास्थित कारागार चलान गरिएको छ । ओखलढुंगा घर भएका नेकपाका ब्युरो संयोजक श्रेष्ठ र सदस्य काभ्रे घर भएका माधब गौतम गत चैत १० गते मोरङको कानेपोखरीबाट पक्राउ परेका थिए भने चैत १३ गते सुन्दर हरैचाबाट मोरङ जिल्ला इञ्चार्ज, भोजपुर घर भएका श्रेष्ठ र चैत १२ गते इटहरीबाट सुनसरीका खड्का पक्राउ परेका थिए । अदालतको आदेशमा रिहा भएका चारै जना नेतालाई अदालत परिसरबाटै पुनः गिरफ्तार गर्ने प्रहरीको तयारी देखेपछि उनीहरु धरौटी जम्मा नगर्ने भन्दै कारागार गएका हुन् । पछिल्लो समय नेकपाका कार्यकर्तालाई अदालतबाट छुटेलगत्तै पक्राउ गर्ने क्रम बढेको छ । धरौटीमा छोड्न आदेश गरिएकाहरु पनि अदालत परिसरमा पुनः पक्राउ गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएपछि आफुहरु कारागार नै जाने बताएका थिए ।

अदालत परिसरमा उपस्थित गराईएका पाँचै जना नेता तथा कार्यकर्ताहरुलाई बहसका क्रममा ईजलासमा राखिनुबाहेकको पुरै समय अदालतभित्रै प्रहरी भ्यानमा हत्कडी लगाएर नै राखिएको थियो । उनीहरुका परिवारले पाँचै जनालाई अदालत परिसरमा प्रहरी भ्यानभित्रै राखिएको र भेट्न जाँदा तिमि पार्टीको के हौ ? भन्दै प्रश्न गर्ने र भेट्न मिल्दैन भनेर हप्काउदै मानसिक यातना दिएको दुखेसो पोखेका छन् ।
पक्राउ परेका लिम्बुलाई हातहतियार तथा खरखजाना, संगठित अपराध र राजद्रोहको मुद्दा चलाइएको थियो । पक्राउ परेका लिम्बुसँग फोन सम्पर्क गरेको आधारमा अन्य चार जनालाई पनि सोही मुद्दा चलाइएको थियो । बन्दीको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, वरिष्ठ अधिवक्ता राम घिमिरे, अधिवक्ताहरु भरतबहादुर थापा, केदार अधिकारी, आश्मिनी भट्टराई, निराजन ओझा र प्रेम पोख्रेलले बहस गरेका थिए । धरौटी नबुझाएर कारागार चलान भएका पुस्कर, प्रज्वल, माधव र रमेशले अदालतको आदेशमा रिहा भएपनि धरौटी बुझाएलगत्तै पक्राउ गर्ने तयारी गरिएकाले आफुहरुले धरौटी नबुझाएको बताए । क्रान्तिकारी कम्युनिस्टकालागि सामान्य जेल पनि छुट्टै मोर्चा भएकाले बन्द पर्खालभित्र बाटै एकीकृत जनक्रान्तिकालागि संघर्ष जारी राख्ने प्रतिकृया दिएका छन् ।

२०७६ वैशाख १८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :