नियमविपरित भर्ना गरेकाे भन्दै विद्यार्थीद्वारा उपकुलपति शार्मामाथि कालोमोसो


काठमाडौं : केही दिनदेखि लगातार विवादमा पर्दै आएको पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवी शर्मामाथि कालो मोसो दलिएको छ । चोभारको मञ्जुश्री पार्क नजिकै विद्यार्थीहरुको एउटा समूहले उनीमाथि बैशाख १७ गते दिउँसो मोसो दलेको हो ।

परिवारका सदस्यहरुसहित आफ्नो सवारीमा रहेका शर्मालाई विद्यार्थीहरुको समूहले मोसो दलेको थियो । नियमविपरित विद्यार्थी भर्ना गरेका पोखरा विश्वविद्यालय अन्तरगतका ४२ वटा निजी कलेजलाई कारबाहीको माग गर्दै आन्दोलनरत विद्यार्थीहरुले मोसो दलेका हुन् ।

१५ दिनदेखि पोखरा विश्विद्यालयको केन्द्रीय कार्यालयमा नगएका उनी काठमाडौंमा बस्दै आएका थिए । आन्दोलन चर्काउँदै जाँदा पनि माग सम्बोधन गर्न चासो नदिई प्रहरी लगाएर दमन गरेको भन्दै विद्यार्थीहरु आक्रोशित भएका हुन् । विद्यार्थीहरुले नियमविपरित भर्ना गर्ने कलेजमाथि कारबाही माग गर्दै काठमाडौं र पोखरामा दिनहुँ प्रदर्शन गरिरहेका छन् । बैशाख १६ गते प्रदर्शनमा उत्रिएका पोखरामा ८ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो ।

विद्यार्थीको आन्दोलनकाबीच पोखरा विश्वविद्यालयले सेमेस्टर परीक्षालाई प्रहरीको सुरक्षामा सञ्चालन गरिरहेको छ । बैशाख १६ गते करिब ४५ जना विद्यार्थीले परीक्षा दिन पाएनन् भने बैशाख १८ गते पनि करिब सय जनाले परीक्षा बहिष्कार गरेका छन् ।

२०७६ वैशाख १८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :