देशैभर मजदुर दिवस मनाइँदै

क्रान्तिकारी मजदुरहरू एकै ठाउँमा


काठमाडौं : आज बुधबार वैशाख १८ गते अर्थात् मे १, अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा मात्र होइन विश्वभरि मनाइँदैछ । पहिला विश्वका सर्वहारावर्गीय पार्टी र सङ्गठनहरूले मात्र अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउने गर्दथे । अहिले आएर पुँजीवादी देश र सङ्गठनहरूले पनि यसलाई उत्सवका रूपमा मनाउने गरेका छन् । त्यसैअनुरूप नेपालमा पनि सरकारी तहबाटै यस दिन सार्वजनिक बिदा दिने गरिएको छ । यही क्रममा नेपालका क्रान्तिकारी मजदुर सङ्गठनहरूले संयुक्त रूपमा काठमाडौँमा विभिन्न कार्यक्रम गरेर दिवस मनाउँदैछन् । वर्तमान केपी शर्माको सरकारले विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र उसका भ्रातृ सङ्गठनहरूमाथि प्रतिबन्ध लगाएको भए पनि अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल टेड युनियन महासङ्घ (रिफेन), नेकपा (संयुक्त) निकट अखिल नेपाल टे«ड युनियन फेडेरेसन र सीपी मैनालीले नेतृत्व गरेको नेकपा (माले) निकट प्रगतिशील नेपाल स्वतन्त्र टे«ड युनियन महासङ्घ (पिकोट) मा आबद्ध मजदुर सङ्गठनहरूले संयुक्त कार्यक्रम आयोजना गरी मजदुर दिवस मनाउँदैछन् ।

माक्र्स र एङ्गेल्सले कम्युनिस्ट घोषणापत्र लेख्नुभन्दा पहिला विश्व मजदुर आन्दोलन दिशाविहीनजस्तै थियो । यसका माग र नारा नै स्पष्ट थिएनन् । वास्तवमा कम्युनिस्ट घोषणापत्र नै मजदुरहरूका मागहरूलाई व्यवस्थित गर्नका लागि भनेर लेख्न लगाइएको थियो । माक्र्स र एङ्गेल्सले मजदुर वा कामदारहरूको माग राज्यसत्तासँग जोडिएकाले जबसम्म वैज्ञानिक समाजवाद हुँदै साम्यवाद लागू हुँदैन तबसम्म विश्वका कामदारहरूले मुक्ति पाउँदैनन् भन्दै मजदुर मुक्तिलाई सत्ता संरचनासँग जोड्नुभएको थियो । त्यसैले उहाँहरूले नै मजदुरहरूका मागहरूलाई कम्युनिस्ट लिगको १८६४ को पहिलो बैठकले ८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा मनोरञ्जन, महिला कामदारहरूलाई पनि समान ज्याला, कामअनुसारको ज्यालाजस्ता मागहरू ठोस गर्नुभएको थियो । माक्र्स र एङ्गेल्सले तयार पारेका मागहरूलाई आधार बनाएर तयार पारिएको मागलाई लिएर विश्वभरिका मजदुर हरूले मालिकहरूका विरुद्ध आन्दोलन गरेका थिए । त्यही क्रममा अमेरिकाको सिकागोमा भएको मजदुर आन्दोलनका क्रममा भीषण दमन भएको थियो । त्यो आन्दोलनको सम्झना गर्दै यो दिनमा मजदुर दिवस मनाउने गरिएको छ ।

अहिले विश्व मजदुर आन्दोलनमा पुँजीवादको चरम प्रभाव परेको छ । त्यसको प्रभाव नेपालमा पनि परेको छ । प्रथम अन्तर्राष्ट्रियसँगै देखापरेको अर्थवाद र ट्रेड युनियनवादले नेपालको श्रमजीवी वर्गको आन्दोलनमा पनि जबर्जस्त जरा गाडेको छ । यसका विरुद्ध लड्दै क्रान्तिकारी मजदुर आन्दोलनको विकास गर्न जरुरी रहेको छ ।

२०७६ वैशाख १८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :