दुई राजबन्दीको स्वास्थ्य अवस्था गम्भीर


काठमाडौं : राजद्रोहको मुद्दामा बन्दी बनाइएका नेपाल कम्युनिस्ट पार्टीका दुई नेताको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । राजद्रोह र बम विस्फोटको मुद्दामा चैत ९ गते काभ्रेबाट पक्राउ परी वैशाख १० गते अदालतको आदेशमा पुर्पक्षका लागि ललितपुरस्थित नख्खु जेल चलान गरिएका नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र प्रहरी हिरासतमा बन्दी बनाइएका नेपाल कम्युनिस्ट पार्टीका नेता मोहनबहादुर कार्की ‘जीवन्त’ को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको हो ।

नेकपाको मध्यकेन्द्रीय कमान्ड इन्चार्ज र उक्त पार्टीको केन्द्रीय पार्टी स्कुलिङ विभागका इन्चार्ज रहेका नेता सुदर्शन विगत १२ वर्षदेखि उच्च रक्तचाप र ७ वर्षदेखि मधुमेहका बिरामी छन् । पारिवारिक स्रोतका अनुसार सुदर्शन पछिल्लो समय कोलेस्ट्रोल, युरिक एसिड, प्रोस्टे«ट र खाना

नपच्ने समस्याबाट समेत पीडित छन् । दैनिक ५ प्रकारका औषधी सेवन गर्ने गरेका उनी पक्राउ परेसँगै हिरासत र जेलको बसाइका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको छ । यही सोमबार दाँतको उपचारका लागि उनलाई सरकारी अस्पताल वीर अस्पतालमा लगिएको थियो भने अहिले उनको रक्तचाप निकै उतारचढाव हुने गरेको र अनियन्त्रित बनेपछि उनको घरपरिवार चिन्तित बनेका छन् ।

यस्तै चैत २४ गते आइतबार सरर्वोच्च अदालतको आदेशमा रिहालगत्तै गेटबाटै गिरफ्तार गरिएका नेकपाका पोलिटब्युरो सदस्य जीवन्त मधुमेह र मृगौला रोगबाट पीडित छन् । उनले त्यससम्बन्धी दैनिक रूपमा कडा औषधी लिइरहेका छन् । सङ्गठित अपराध अभियोगमा अनुसन्धानका लागि भन्दै हाल सङ्खुवासभा जिल्ला प्रहरी हिरासतमा राखिएका उनलाई स्वास्थ्य परीक्षण गराउनसमेत नदिएको उनको परिवारका सदस्यले जनाएका छन् । भेटघाट गर्न पुगेकाहरूसँग नेता जीवन्तले आफ्नो स्वास्थ्यमा समस्यामा परेको भन्दै उपचारका लागि काठमाडौँ लैजाने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

२०७६ वैशाख १८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :