ट्रकको ठक्करबाट सुनिताको मृत्यु


काठमाडौँ : कैलालीको लम्कीमा वैशाख १७ गते बिहान ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय सुनिता रावलको मृत्यु भएपछि उक्त क्षेत्र तनावग्रस्त भएको छ । मृतकका आफन्त र स्थानीय बासिन्दाले ट्रक तोडफोड गरेपछि स्थिति तनावग्रस्त भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको छ । साथै प्रदर्शन उग्र भएर भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले प्रदर्शन उग्र भएपछि भीड नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरिएको दाबी गरे । प्रदर्शनका क्रममा स्थानीयले हानेको ढुङ्गा लागेर केही सुरक्षाकर्मी घाइते भएका छन् । उनका अनुसार स्थिति तनावग्रस्त भएपछि लम्कीमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ६ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनका अनुसार १ जना सर्वसाधारण घाइते भएका छन् । स्थानीय बासिन्दाले ३ राउन्ड हवाईफायर भएको बताए पनि प्रहरीले भने त्यसको पुष्टि गरेको छैन । घाइतेहरूको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

मृतकका आफन्त र स्थानीयहरूले दोषीलाई कारबाहीको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्ग अवरुद्ध भएपछि यातायातका साधन लम्कीमै रोकिएका छन् ।

२०७६ वैशाख १८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :