अप्रिल २२ र लेनिन

विषय प्रवेश

विश्व सर्वहारा वर्गका नेता तथा माक्र्सवाद—लेनिनवादका प्रवर्तक भ्लादिमिर इल्यानोभ इल्यिच लेनिनको जन्म पहिलाको सिमिस्र्क नाम रहेको र पछि युल्यानोभोस्क भनिएको ठाउँमा आमा मारिया अलेक्जान्ड्रोभना र बुबा इल्या निकोलायेभिच इल्यानोभबाट २२ अप्रिल १८७० मा भएको थियो । माक्र्स र एङ्गेल्सले वैज्ञानिक साम्यवादी सिद्धान्त प्रतिपादन गरिसकेपछि त्यसलाई अक्टोबर क्रान्तिको माध्यमद्वारा व्यवहारमा लागू गर्दै माक्र्सवादलाई माक्र्सवाद—लेनिनवादमा विकास गर्नुमा लेनिनको असाध्यै महत्वपूर्ण भूमिका रहेको छ । गत वैशाख ९ गते सोमबार महान् लेनिनको जन्म भएको १ सय ४९ वर्ष पुगेको छ । आफूलाई क्रान्तिकारी समाजवादी भन्न रुचाउने पार्टीकी एक सदस्य फ्यानी इफिमोन्भा कप्लान नामकी महिलाले ब्राउनिम पिस्टोलले ३ पटकसम्म गोली हानी घाइते बनाइनुभएका लेनिनको मृत्यु २१ जनवरी १९२४ मा भएको थियो । केवल ५४ वर्षको उमेरसम्म बाँचेर पनि माक्र्सवादमा नयाँ विकास गर्नुका साथै पहिलो समाजवादी सत्ता सोभियत समाजवादी गणतन्त्रको स्थापना गर्न सफल लेनिनका योगदानहरू निकै महत्वपूर्ण रहेका छन् ।

लेनिनका योगदानहरू

यो सानो लेखमा लेनिनका योगदानहरूको व्याख्या गर्न सम्भव छैन । अहिले सर्वहारा वर्गीय कम्युनिस्ट आन्दोलन विश्वभरिमा नै प्रतिरक्षामा रहेको छ । लेनिनले क्रान्ति गर्दैगर्दा प्रथम विश्वयुद्ध भए पनि वैज्ञानिक समाजवाद स्थापना गर्ने वातावरण बनेको थिएन । अझ माक्र्स र एङ्गेल्सकालीन कार्ल काउत्स्की र प्लेखानोभहरूले त लेनिनले क्रान्तिको तयारी गर्दै गर्दा नै विराध गरेका थिए जसले आफूलाई माक्र्सका सच्चा अनुयायी घोषित गरेका थिए । उनीहरूले अक्टोबर क्रान्तिको धुवाँदार विरोध गरेका थिए । तर यी सबै भ्रम र परिस्थितिहरूलाई चिर्दै अत्यन्त प्रतिकूल अवस्थामा रुसमा लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सफल भएको थियो । र, विश्वमा पहिलोपटक वैज्ञानिक समाजवाद स्थापना भएको थियो जुन सर्वहारा वर्गको अधिनायकत्वमा सञ्चालित थियो । यसरी पहिलो वैज्ञानिक समाजवादी राज्यसत्ताको स्थापना गर्नु लेनिनको सबैभन्दा ठूलो योगदान हो ।

अक्टोबर क्रान्ति एकैचोटि सफल भएको थिएन । लेनिनले क्रान्तिको तयारी र त्यसलाई सफल पार्नका लागि राजनीतिक, वैचारिक, साङ्गठनिक, फौजी तयारी गर्नुभएको थियो । यिनमा पनि अझ लेनिनले माक्र्सवादका ३ सङ्घटक अङ्गहरूमा नयाँ विकास गर्नुभएको थियो । दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा उहाँले माक्र्स र एङ्गेल्सले गरेको आविष्कारमा नयाँ विकास गर्नुभएको थियो । साथै माक्र्सवादका ३ सङ्घटक अङ्गहरूमा पनि विकास गर्नुभएको थियो । त्यसमा पनि माक्र्स र एङ्गेल्सले आविष्कार गरेको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादमा थप विकास गर्नुभएको थियो ।

उहाँले सबैभन्दा पहिला माक्र्स र एङ्गेल्सको मृत्युपछि माक्र्सवादका नाममा स्वयम् माक्र्स र एङ्गेल्सका समकालीनहरूले व्याख्या गरेका संशोधनवादको चरित्र खोजेर त्यसको खण्डनमण्डन गर्नुभयो । उहाँले संशोधनवादबारे लेख्नुभयो र सबैखाले संशोधनवादको विरोध गरेर माक्र्सवादको प्रचारप्रसार गर्नुभएको थियो । त्यसपछि रुसलगायत युरोपको समग्र अध्ययन गर्न थाल्नुभयो । त्यही क्रममा १९०५ मा मजदुर आन्दोलनको उठान गर्नुभयो । शान्तिपूर्ण रूपले लाखौँ मजदुरको जुलुस जारको दरबारमा मागसहित जाँदा जारको सेनाले भीषण दमन गरेको थियो । त्यस दमनमा हजारजनाभन्दा बढी मजदुरको हत्या भएको अनुमान गरिन्छ । उक्त दमनले रुसको कम्युनिस्ट आन्दोलनमा ठूलो उदासीनता ल्याएको थियो । त्यसले लेनिनलाई पनि छोएको थियो । त्यही क्रममा उहाँले क्रान्ति शीर्षकमा लामो कविता लेख्नुभएको थियो । त्यसपछि लेनिनले रसियन समाज र सिङ्गो युरोपका बारेमा नयाँ अध्ययन थाल्नुभएको थियो । त्यही क्रममा उहाँका दर्शनसम्बन्धी १९०८ मा ‘ द्वन्द्वात्मक भौतिकवाद, अनुभवसिद्ध आलोचना’ लेखेर उहाँले दर्शनमा स्पष्ट पार्नुभएको थियो । त्यसैगरी उहाँले प्रथम विश्वयुद्ध हुँदै गर्दा पुँजीवादमा आएको परिवर्तनको नयाँ विशेषताको खोजी गर्नुभएको थियो । उहाँका अनुसार माक्र्स र एङ्गेल्सले भनेको जस्तो पुँजीवादको चरित्रमा केही फेरबदल भएको खोज गर्नुभएको थियो । उहाँले पुँजीवाद अबदेखि एकाधिकार चरित्र भएको भन्नुभएको थियो । त्यसैले साम्राज्यवाद भनेको अनिवार्य युद्ध हो भन्नुभएको थियो । त्यसलाई तत्कालीन अवस्थामा विश्वयुद्ध हुनुको कारणको खोज मान्न सकिन्छ । साथै विश्व राजनीतिक अर्थशास्त्रको नयाँ व्याख्या पनि उक्त पुस्तक रहेको थियो । लेनिनको उक्त पुस्तकलाई कार्ल माक्र्सको पुँजीको नयाँ संस्करण पनि भन्न सकिन्छ । यसले गर्दा लेनिनलाई वर्गविश्लेषण गर्न सजिलो हुनुका साथै क्रान्तिको तयारी र चरित्र निर्धारण गर्न सजिलो भएको थियो ।

माक्र्सवादी दृष्टिकोण निर्माण र स्पष्ट पार्न लेनिनको निकै ठूलो योगदान रहेको छ । माक्र्स, एङ्गेल्सले आफैँ समाजवादी सत्ता निर्माण गर्ने क्रान्तिको नेतृत्व गर्न पाउनुभएको थिएन । साथै अभ्यास पनि गर्न पाउनुभएको थिएन । तर लेनिनले पुरानो राज्यसत्ताको ध्वंस र समाजवादी राज्यसत्ताको अभ्यास गर्ने अवसर पाउनुभएको थियो । त्यसको मुख्य कारण के थियो भने राज्यसत्ताका बारेमा उहाँले स्पष्ट दृष्टिकोण निर्माण गर्नुभएको थियो । पुरानो राज्यसत्ताको ध्वंस र नयाँ राज्यसत्ता निर्माणको अनिवार्यतालाई उहाँले आफूले बुझ्ने र आमपार्टी पङ्क्ति, नेता, कार्यकर्ताका साथै किसान र मजदुरहरूलाई बुझाउनुपर्ने आवश्यकतालाई मनन गर्दै १९१७ मा अक्टोबर क्रान्ति हुनुभन्दा अगाडि नै ‘राज्य र क्रान्ति’ लेख्नुभएको थियो । यसरी मूल रूपमा अक्टोबर क्रान्ति गर्नुभन्दा अगाडि दर्शन ‘द्वन्द्वात्मक भौतिकवाद : अनुभवसिद्ध आलोचना’, राजनीतिक अर्थशास्त्रमा ‘साम्राज्यवाद : पुँजीवादको चरम अवस्था’ र वैज्ञानिक समाजवाद वा राजनीतिमा ‘राज्य र क्रान्ति’ को खोज र आविष्कार क्रान्तिको वैचारिक तयारी रहेको थियो ।

यसका साथै लेनिनले कुन अवस्थामा क्रान्ति सम्भव रहेको हुन्छ भन्ने कुरा पनि पत्ता लगाउनुभएको थियो । मूल रूपमा सहरिया विद्रोहका आधारहरू खोज्नुभएको थियो । लेनिनले क्रान्ति सफल हुनुका मुख्य अवयवहरू भनेर ३ वटा कुरालाई लिनुभएको थियो : पहिलो, समाजमा विशेषतः साम्राज्यवादी युद्धले आर्थिक सङ्कट देखापर्नु, दोस्रो समकालीन राज्यप्रणालीको दमन र शोषणलाई ठूलो सङ्ख्याले सहन गर्न नसक्नु र तेस्रो, एउटा क्रान्तिकारी समाजवादी पार्टीले जनतामा सङ्घर्षको माध्यमबाट जनताको भावना जित्दै जानु र भनाइलाई गराइमा बदल्न सक्नु भन्ने निष्कर्ष निकाल्नुभएको थियो ।

यसरी उहाँले एकातिर राजनीतिक, वैचारिक रूपमा नयाँ खोज गर्नुभएको थियो भने अर्कोतिर साङ्गठनिक रूपमा पनि प्लेखानोभ र ट्राट्स्कीको अवधारणालाई खारेज गर्दै ‘नयाँ ढङ्गको पार्टी’ निर्माणको अवधारणा ल्याउनुभएको थियो । यति तयारी वास्तवमा रुसको विशेषतामा अन्तर्र ाष्ट्रिय अनुभव र आवश्यकतामा पहिलो विश्वयुद्धमा लखतरान परेको रुसमा उहाँले क्रान्ति सफल पार्नुभएको थियो । पुँजीवादको विकास भएको तर समग्र युरोपको तुलनामा कम विकसित रुसमा क्रान्ति सफल भएको थियो । त्यसैले प्लेखानोभ, कार्ल काउत्स्कीहरूले महान् अक्टोबर क्रान्तिलाई क्रान्ति नभनेर षड्यन्त्र भन्दै विरोध गरेका थिए । उनीहरूले माक्र्सको विकसित राष्ट्र बेलायतमा पहिला क्रान्ति हुन्छ भन्ने भनाइलाई अगाडि सारेर अक्टोबर क्रान्तिको विरोध गरेका थिए । यसरी अक्टोबर क्रान्तिको माध्यमबाट कुनै पनि देशमा क्रान्ति सफल गरी सर्वहारा वर्गीय अधिनायकत्व स्थापना गर्न सकिने जीवित दलिल लेनिनले पेस गर्नुभएको थियो ।

त्यसैगरी उहाँले पार्टी सङ्गठन कसरी सञ्चालन गर्ने भन्ने विधिको पनि निर्माण गर्नुभएको थियो । त्यो विधिलाई जनवादी केन्द्रीयता भन्ने गरिन्छ जुन अहिलेसम्म पनि उत्तिक्कै वैज्ञानिक रहेको छ । अर्को लेनिनको योगदान भनेको विश्व कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्नु हो । एङ्गेल्सको मृत्युपछि मृतप्रायः भएको कम्युनिस्ट अन्तर्राष्ट्रियलाई ब्युँताएर उहाँले तेस्रो अन्तर्राष्ट्रिय गठन गर्नुभएको थियो । त्यसैले गर्दा अक्टोबर क्रान्तिपछि विश्वमा समाजवादको लहर नै चलेको थियो । दोस्रो विश्वयुद्धमा जर्मन साम्राज्यवादलाई स्टालिनको नेतृत्वमा ध्वस्त पारेपछि विश्वका १६ वटा राष्ट्र भूगोलका हिसाबले एकतिहाइ विश्वमा समाजवाद स्थापना हुन पुगेको थियो । यसरी लेनिनलाई माक्र्सवादको सही प्रयोगकर्ता, विकासकर्ताका रूपमा लिन सकिन्छ । अहिले पनि लेनिनका योगदानहरूको विश्व कम्युनिस्ट आन्दोलनमा त्यत्तिक्कै महत्व रहेको छ ।

नेपाली कम्युनिस्ट आन्दोलनले के सिक्ने

महान् कमरेड लेनिनबाट नेपाली कम्युनिस्टहरूले मात्र नभएर विश्व कम्युनिस्ट आन्दोलनले धेरै कुरा सिक्न जरुरी छ । सबैभन्दा पहिला माक्र्सवादमा विकास गरेका दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादलाई आत्मसात गर्न जरुरी छ । सबैभन्दा महत्वपूर्ण कुरा स्वयम् लेनिनले पनि भन्नुभएको छ र आफ्नो जीवन व्यवहारमा लागू पनि गर्नुभएको कुरा भनेको माक्र्सवाद कुनै जीवनविहीन जडसूत्र होइन भन्ने कुरालाई बुझ्न र जीवनव्यवहारमा लागू गर्न जरुरी छ । लेनिनले ठोस वस्तुको ठोस विश्लेषणका आधारमा सिद्धान्तहरूलाई विकसित गर्दै अक्टोबर क्रान्ति गर्नुभयो अथवा सशस्त्र विद्रोहको कार्यदिशा निर्माण गर्नुभयो ।

अहिले नेपाली कम्युनिस्ट आन्दोलन मात्र नभएर विश्व कम्युनिस्ट आन्दोलन अगाडि बढ्न नसक्नुको मुख्य कारण माक्र्सवादका आधारभूत सिद्धान्तलाई दह्रोसँग नपकड्नु हो । अथवा माक्र्सवादको अध्ययन र त्यसलाई आत्मसात नगर्नु हो । लेनिनले माक्र्सवादालई दह्रोसँग पकड्नुभएको थियो । गहिरो अध्ययन गर्नु भएको थियो । अर्को आफ्नो परिवेश र वदलिँदो विश्वपरिवेशका कैयौँ नयाँ विशेषताहरूलाई माक्र्सवादी दृष्टिकोणबाट अध्ययन गरेर माक्र्सवादी संश्लेषण गर्न नसक्नु हो । लेनिनले रुसको सम्पूर्ण चरित्रको माक्र्सवादी दृष्टिकोणबाट अध्ययन गर्नुभयो । घागडान कहलिएका र गुरु भनिएकाहरूको आलोचना र जडसूत्रलाई पनि बेवास्ता गरी समकालीन विश्व पुँजीवादको अध्ययन गर्नुभएको थियो । नेपालमा माक्र्सवादलाई बुझ्ने र लागू गर्ने सन्दर्भमा दुईवटा अति देखापरेका छन् ः सिद्धान्तमा दृढ रहने नाममा नयाँलाई बुझ्ने र बदल्ने कुरामा साहस नगर्ने, नयाँ गर्ने नाममा माक्र्सवादका आधारभूत कुरालाई पूर्ण रूपले छाडिदिने । त्यसैले यहाँ लेनिनबाट के सिक्न जरुरी रहेको छ भने लेनिनले जसरी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा नयाँ खोज गर्नुभयो र त्यसैलाई आधार बनाएर क्रान्तिको उद्घोष गर्नुभयो ठीक त्यसैगरी यहाँ पनि नयाँ खोज र अनुसन्धानको आवश्यकता परेको छ । एकीकृत जनक्रान्तिले यी कुराहरूको सुरुआत गरेको छ ।

जहाँसम्म २२ अप्रिलको कुरा छ त्यो दिन केवल लेनिनको जन्मदिन मात्र होइन, नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको दिन पनि हो । त्यसैले २२ अप्रिल नेपाली कम्युनिस्टहरूका लागि महत्वपूर्ण दिन हो । यस दिनमा लेनिन दिवस मनाउँदै गर्दा लेनिनबाट सिक्न जरुरी छ ।

२०७६ वैशाख १३ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :