प्राधिकरणका इन्जिनियरहरुको सामूहिक राजीनामा


काठमाडौं : राष्ट्रिय पुनः निर्माण प्राधिकरणका इन्जिनियरहरुले बैशाख १२ गते सामूहिक राजीनामा दिएका छन् ।
भूकम्पपछिको पुनः निर्माणमा जुटेका इन्जिनियरहरुले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने आफूहरुको माग सरकारले सुनुवाई नगरेको भन्दै सामूहिक राजीनामा दिएको घोषणा गरेका छन् ।

४ वर्षअघि विनाशकारी भूकम्प गएको स्मृतिमा बिहीबार देशभर विभिन्न कार्यक्रम भइरहँदा पुनः निर्माणमा जुटेका इन्जिनियरहरुले भने सरकारले आफूहरुको माग सुनुवाई नगरेको भन्दै काठमाडौंमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएका छन् ।
भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउन गर्दै आएको माग ९ महिनासम्म पनि सरकारले सुनुवाई नगरेपछि ३२ जिल्लामा पुनः निर्माणमा जुटेका इन्जिनियरहरु सामूहिक राजीनामा दिन बाध्य हुनु परेको राष्ट्रिय पुनः निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिका अध्यक्ष अविनाश अमरले जानकारी गराएका छन् ।

प्राधिकरणका इन्जिनियरहरुले ९ महिनायता कटौती गरिएको भत्तालगायतका सेवा, सुविधा उपलब्ध गराउन सरकारसँग माग गर्दै आन्दोलन गर्दै आएका थिए । तर सुनुवाई नभएपछि बाध्य भएर राजीनामा दिनु परेको समितिका अध्यक्ष अमरको भनाई छ ।

आफूहरुको माग सरकारले सम्बोधन गरे पुनः फर्कने प्रतिवद्धता पनि जनाएका छन् । भत्तालगायतको सेवा, सुविधा उपलब्ध गराउन माग गर्दै पुनः निर्माणमा खटिएका करिब १ हजार ५ सय इन्जिनियरहरुले गत २५ फागुनबाट आन्दोलन सुरु गरेका थिए ।

२०७६ वैशाख १२ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :