महान् जनयुद्धको सम्झनामा

महान् जनयुद्धको २४ औँ दिवस यसपालि देशविदेश सबैतिर औपचारिक÷अनौपचारिक, सानाठूला कार्यक्रमका रूपमा पूर्वमाओवादी पक्षधरहरू सबैले मनाए । कमरेड विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीेले देशैभर गाउँदेखि सहरसम्म, सानादेखि ठूला सभासम्मका कार्यक्रमहरू आयोजना गरी मनायो । यसैक्रममा लुम्बिनी ब्युरोको आयोजनामा बुटवलमा दस हजारभन्दा बढी जनताको सहभागितामा गरिएको प्रदर्शन र सभाले यो वर्षका सबै कार्यक्रमहरूको नेतृत्व गरेको छ ।

यतिबेला जनयुद्धकालीन माओवादी पार्टी ‘संसदीय माओवादी’ र ‘क्रान्तिकारी माओवादी’ दुई धारमा विभाजन भएको छ । संसदीय माओवादी धार संशोधनवादी एमालेसँग पार्टी एकता गरेर वर्तमान दलाल संसद्वादी राज्यसत्ताको नेतृत्व गर्दै सरकार चलाइरहेको छ । यो सामाजिक दलाल पुँजीवादमा पतन भएको छ भने क्रान्तिकारी माओवादीहरूले नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरी २०५२ साल फागुन १ गते सुरु भएको महान् जनयुद्धलाई विकास गर्दै अर्को क्रान्तिकारी कम्युनिस्टहरूको मूलधारका रूपमा अगाडि बढेका छन् ।

अहिले जनयुद्धले कोल्टे फेरेको छ । हिजोको जनयुद्धलाई प्रचण्ड आफैँले समापनको घोषणा गरे । आफैँले सुरु गरेको जनयुद्धलाई आफैँले समाप्त गरेर इतिहासको एउटा घटनाक्रमका रूपमा परिणत गरिदिएको छ । महान् जनयुद्धको गुदी चीज जनमुक्ति सेना, जनसत्ता र जनअदालत थिए । यसको गर्भमा साम्यवादको महान् सपना साकार हुँदै थियो । जनकम्युन, जननमुना विद्यालय र जनवादी स्कुलहरू, जननमुना अस्पताल र सहकारीहरूले सानदार ढङ्गले आकार लिँदै थिए । जनता आफैँ सत्ताका मालिक हुँदै थिए । कमैया, हरुवा–चरुवा, दलित, महिलाहरू बन्धनमुक्त हुँदै थिए । जनजातिहरू, मधेसीहरू, उत्पीडित क्षेत्रका जनताले स्वायत्तताको अधिकार पाउँदै थिए । साम्राज्यवादका सीआईडी संस्थाहरू (विभिन्न गैरसरकारी तथा धार्मिक सङ्घसंस्थाहरू) गाउँगाउँबाट बाहिरिँदै थिए । ठीक यसैबेला साम्राज्यवादी षड्यन्त्र र गुरुयोजनामा जनयुद्धलाई पछाडिबाट थाहा नपाउँदो ढङ्गले छुरा धसेर हत्या गरियो । जनयुद्धको गर्भमा हुर्किरहेको वैज्ञानिक समाजवाद– साम्यवादको भ्रूणको हत्या गरियो । यो महाअपराध र घोर बेइमानीपूर्ण कार्य थियो । त्यो अपराधबाट मोचन पाउनलाई अहिले प्रतिक्रियावादी राज्यसत्ताको सुरक्षा घेराबाट क्रान्तिकारीहरूको हत्या र फेरि अर्को क्रान्तिको भ्रूणहत्याको फर्मान गरेका छन् नवप्रतिक्रियावादी दलालहरूले । फेरि एकपटक यसका विरुद्ध नेपाली जनताले एउटा विद्रोह गर्नुपर्ने बाध्यता बनेर आएको छ । त्यसका लागि पनि यो जनयुद्धको २४ औँ दिवस एउटा सङ्कल्पको दिन बनेर उभिएको छ ।

क्रान्तिकारीहरूले यसपालिको २४ औँ जनयुद्ध दिवस मनाइरहँदा जनयुद्धको घाँटी रेट्नेहरू पनि जनयुद्ध मनाएको नाटक गरी टाउको हल्लाइहल्लाई हाँसिरहेका थिए । यो उनीहरूको ‘ गोहीको आँसु’ मात्र थियो । तर क्रान्तिकारीहरूले भने यो जनयुद्धलाई दुई÷तीन अर्थले मानिरहेका थिए– पहिलो महान् जनयुद्धको सम्झनामा, दोस्रो, जनयुद्धका महान् सहिदहरूको सम्मानमा र तेस्रो, जनयुद्धको महान् उद्देश्य पूरा गर्ने अर्को नयाँ सङ्कल्प र प्रतिबद्धतामा । तर सरकारी कम्युनिस्टहरूले भने यसको उपहास गर्ने र जनतालाई भ्रम दिनका लागि यसलाई औपचारिक कार्यक्रमका रूपमा मनाए । यसरी मनाए दुई धारमा उभिएका कम्युनिस्टहरूले जनयुद्ध दिवस । म २४ औँ जनयुद्ध दिवसको यस महान् अवसरमा जनयुद्धका महान् सहिद तथा बेपत्ता योद्धाहरूलाई उच्च सम्मान गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र घाइते अपाङ्ग योद्धा कमरेडहरू हार्दिक सम्मान व्यक्त गर्दछु ।

जनयुद्ध एउटा महान् र क्रान्तिकारी पहल

नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा जनयुद्ध महान् ऐतिहासिक कदम थियो । नेपाली कम्युनिस्ट आन्दोलनमा तीन ओटा क्रान्तिकारी फड्कोहरू भएकाछन् । पहिलो २०२८ सालको झापा विद्रोह । दोस्रो २०५२ सालको माओवादी जनयुद्ध र तेस्रो २०७१ मङ्सिर ८ को भद्र विद्रोहपछि कमरेड विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्तिको महान् अभियान । यसमध्ये झापा विद्रोह र माओवादी जनयुद्ध घोषित रूपमा सुरु गरिएको सशस्त्र विद्रोह थियो भने एकीकृत जनक्रान्ति सङ्गठनात्मक र वैचारिक क्रमभङ्ग थियो । पछिल्लो चरणमा पार्टीभित्र देखापरेका उत्तरसाम्राज्यवादका नयाँ दलालहरू जो नवसंशोधनवाद तथा छद्म नवसंशोधनवादका रूपमा नेपाली कम्युनिस्ट आन्दोलनमा देखापरेका थिए, तिनका विरुद्धको विद्रोह र क्रान्तिको घोषणा थियो । यसले बिस्तारै आकार लिँदैछ । यसले दलाल शासकहरूको विरुद्ध जेहाद छेडेको छ । यसले राष्ट्रिय स्वाधीनताको अभियान र दलाल पुँजीवादी संसदीय व्यवस्थाका विरुद्ध वैज्ञानिक समाजवादी राजनीतिक कार्यक्रमलाई एकीकृत गरी एकीकृत जनक्रान्तिको कार्यदिशा तय गरेको छ । राष्ट्रियता र जनतन्त्र (जनअधिकार), जनवाद र वैज्ञानिक समाजवाद, वैज्ञानिक समाजवाद र साम्यवादको लक्ष्यमा आमनेपालीलाई प्रशिक्षित गर्दै सुसभ्य, समृद्ध र वैज्ञानिक समाजवादी नेपाल निर्माण गर्नु नै एकीकृत जनक्रान्तिको उद्देश्य हो । यो महान् जनयुद्धको जगमा उभिएको छ ।

निश्चय नै यतिबेला जनयुद्ध हाम्रो अगाडि इतिहास बनेको छ । यो जनताको इतिहास हो । हामी हिजो राजा–महाराजाहरूको इतिहास मात्र पढ्न पाउँथ्यौँ किनकि त्यसबेला जनताको इतिहास लेख्ने कुनै गुन्जाइस थिएन । इतिहासले आफ्ना पल्लवीहरू फेर्दै आएको छ । कुनै बेलामा नेपालमा राजा–महाराजाहरू भगवान्को दूतका रूपमा स्थापित थिए । तिनका बारेमा औँला ठड्याउनु सीधै आफ्नो मृत्युको घोषणा गर्नु हुन्थ्यो । तिनका नियम, कानुन र संविधानको विरोध गर्नु सधै शूली चढ्नु हुन्थ्यो । त्यसबेला पनि राजदरबारमा एकआपसमा ठूलठला पर्व र हत्याकाण्डहरू निरन्तर चली नै रहन्थे । बाईसी, चौबीसी राज्यकालमा आपसी युद्ध र एकले अर्कालाई अधीनस्थ बनाउने कार्य निरन्तर चली नै रहन्थ्यो । शाहवंश कालमा कोतपर्व, अलौपर्व, भण्डारखाल पर्वजस्ता अनेक हत्याकाण्ड र सत्ता हत्याउने घटनाहरू लगातार भैरहन्थे । राणाशासकहरू कोतपर्वबाट उदाए । १०४ वर्ष निरङ्कुश शासन चलाए । त्यो अत्याचारी शासनका विरुद्ध नेपाली काङ्ग्रेसले मुक्तिसेना बनाएर सशस्त्र सङ्घर्षद्वारा मात्र राणा शासनको अन्त्य गर्न सफल भयो । तर जनता र नेपाली काङ्ग्रेसले जसरी सशस्त्र युद्धद्वारा राणा शासनको अन्त्य गरे । त्यसको प्रतिफल जनता मात्र राणा निरङ्कुशतन्त्रबाट मुक्त भए तर निरङ्कुश राजतन्त्रबाट मुक्त भएनन् । यसको परिणाम नेपालमा पहिलोपल्ट कम्युनिस्ट पार्टीका नामबाट सीमित ठाउँ, सीमित व्यक्ति, सीमित साधनस्रोत र वैचारिक धरातल भए पनि २०२८ सालमा भएको झापा आन्दोलन सशस्त्र विद्रोहको उद्घोष थियो । यो उद्घोषका दुई महत्वपूर्ण सङ्केत थिए– पहिलो, तत्कालीन निरङ्कुश राजतन्त्रका विरुद्ध सशस्त्र सङ्घर्षको उद्घोष । दोस्रो, तत्कालीन नेकपाको संशोधनवादी, संसद्वादी नेता र कार्यदिशाबाट विद्रोह र सम्बन्धविच्छेद । अपसोच ! त्यसले पनि सार्थक उद्देश्य प्राप्त गर्न सकेन । तथापि त्यो झापा विद्रोह बनेर नेपाली क्रान्तिको इतिहासमा अङ्कित भएर बसेको छ । यसैको शिक्षा र प्रेरणामा जनयुद्धको उद्घोष भयो । यो नेपाली क्रान्तिको दोस्रो तथा योजनाबद्ध र शक्तिशाली विद्रोह थियो । यसले राजतन्त्रको जरो त उखेलेर फाल्यो तर त्यसमा साम्राज्यवादी हस्तक्षेप, बाह्य शक्तिकेन्द्रहरूको पहल, विद्रोही नेता प्रचण्ड–बाबुरामहरूको विचलन र आत्मसमर्पणले माओवादी आन्दोलनले पनि लक्ष्यमा नपुग्दै विसर्जनको सिकार हुनुप¥यो । यसरी जनयुद्धले पटकपटक प्रतिधक्का बेहोर्दै आयो । प्रत्येक धक्काबाट उफ्रेर फेरि नयाँ शिराबाट विद्रोह हुँदै आएको इतिहास छ । नेपालका प्रत्येक परिवर्तनकारी आन्दोलनको जगमा सशस्त्र सङ्घर्ष छ र त्यसको विसर्जनको पछाडि देशी र विदेशी प्रतिक्रियावादीहरूको मिलोमतो र षड्यन्त्र छ । जनयुद्धको समापनको पछाडि पनि साम्राज्यवादीहरूको महत्वपूर्ण हात छ तर मुख्यतः प्रचण्डको आत्मसमर्पण नै हो ।

जनयुद्धको असफलता वा जनयुद्धको विजय

जनयुद्ध यतिबेला नेपाली जनताको विस्मृतिमा बसेको छ । जनयुद्ध सम्झँदा सायद एकथरी मान्छेहरूको आङमा काँडा उम्रिन्छ होला । एकथरी नेपाली जनतामा गर्व र खुसीको विषय बन्छ होला । अहिले जनयुद्धका विषयमा धेरै देशीविदेशीहरूले विद्यावारिधि नै गरिसके । यसरी आज जनयुद्ध लिखित वा अलिखित ग्रन्थ बनेको छ । यसको नकारात्मक पात्र स्वयम् प्रचण्ड बनेका छन् । सकारात्मक रूपले भन्नुपर्दा प्रचण्ड एउटा निषेधको पात्र अवश्य हो । प्रचण्ड नभएको भए जनयुद्धको थालनी हुन्थ्यो कि हुन्थेन । यो छलफलको विषय बनेको छ । तर प्रचण्ड र बाबुरामहरू राजतन्त्र फाल्ने आन्दोलनभन्दा पर पुग्न सकेनन् । यहाँसम्म आउन उनीहरूले जुन आत्मसमर्पणको विधि अँगाल्न पुगे, यो नै उनीहरूको पनि अन्त्येष्टिको कारण बन्यो । आफ्नै बलबुताले गर्ने क्रान्तिभन्दा पनि आश्रित क्रान्तिको विधि अपनाए । त्यो उनीहरूका निम्ति आत्मघाती बन्न पुग्यो । यो परनिर्भर, परमुखी क्रान्तिको विधि थियो । बाबुरामको विद्यावारिधिले लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउने वर्कत राख्थ्यो भने प्रचण्डले आँट अलि अगाडिसम्म गर्ने तर बलबुताले नभ्याउने । त्यसकारणले पछिल्लो चरणमा बाबुरामको घोडा चडेर बाबुरामकै पथ पछ्र्याए । बाबुराम त्योभन्दा अगाडि जाने स्थिति थिएन । त्यसपछि आन्दोलनबाट हात झिके । प्रचण्डमा अगाडि जाने ह्याउ थिएन । त्यसैले यो सत्तामा टाँसिएर वैतरणी तर्ने बाटो रोजे । यसरी जनयुद्धलाई बीचैमा अलपत्र पारे ।

कतिपय मान्छेहरू भनिरहेका छन्, ‘ जनयुद्धको असफलता कि प्रचण्डको असफलता ?’ यो एउटा जिज्ञासा अवश्य हो । झट्ट हेर्दा जनयुद्धले सेटब्याक खायोजस्तो देखिन्छ । वास्तवमा सेटब्याक खाएको पनि छ तर सत्य भने जनयुद्धको होइन, प्रचण्डको असफलता हो । प्रचण्डले यसलाई गन्तव्यसम्म पु¥याउन नसक्दा जनयुद्धको यो गति भएको हो । प्रचण्ड बीच बाटोबाटै भागेकाले जनयुद्ध अलपत्र परेको हो । आन्दोलन असफल हुनु वा बीचमा अलपत्र पर्नु, क्रान्तिले प्रतिधक्का बेहोर्नु वा अकर्मण्यतामा फस्नुको कारण नेतृत्व हुन्छ । आन्दोलनमा नेतृत्वको भूमिका पाइलटको जस्तै हुन्छ । यसको सफल वा असफल अवतरणको सम्पूर्ण श्रेय पाइलटलाई नै जान्छ । हो, कतिपय अवस्थामा बाह्य आक्रमणका कारण वा मौसमको खराबीको कारण आकस्मिक अवतरण गर्नुपर्ने बाध्यता हुनसक्छ तर दुवै हात उठाएर आत्मसमर्पण गरेर अवतरण हुँदैन । यो जनयुद्ध अपहरणमा परेको पनि होइन । बाबुराम त्यो जनयुद्धरूपी जहाजमा चडेर अरूलाई काबुमा लिएर प्रचण्डलाई बीचैमा लोकतान्त्रिक गणतन्त्रमा अवतरण गर्न लगाएको भन्ने हो भने प्रचण्ड आफैँले मैले सचेत रूपले यहाँ अवतरण गरेको भनिरहेका छन् । यसले के जनाउँछ भने जनयुद्ध त सही नै थियो किनभने यो चीनमा सफल भएको क्रान्तिको कार्यदिशा थियो । यसलाई नेपाली मोडेलमा ढालेर प्रयोग गर्नेमा प्रचण्ड असफल भएकै हो । चीनको जस्तो वा रुसको जस्तो क्रान्ति नेपालमा सम्भव थिएन । त्यहीँनिर प्रचण्डले ड्याङ खाएको कुरो सत्य हो । यसको मतलब के हो भने प्रचण्डले बदलिएको परिवेशमा जनयुद्धको विकास गर्न नसक्नु नै उसको आत्मसमर्पणको मूल कारण हो । ध्यान दिन योग्य कुरा के छ भने बालाजुको पाँचौँ विस्तारित बैठक र खरीपाटी भेलामा उनले भनेका थिए, ‘नेतृत्वको दिमागमा क्रान्ति छैन भने क्रान्ति हुँदैन ।’ यो भनेको जनयुद्धबाट उनले आफ्नो भविष्य देखिरहेका थिएनन् र कुनै पनि बेलामा जनयुद्धबाट क्रान्ति असम्भव छ भन्नेवाला थिए । अझ त्योभन्दा पनि खुला र स्पष्ट कुरा त २०६३ सालमै गिरिजासँग हात मिलाएर जनयुद्धको समापनको खुलेआम समापनको घोषणा गरेर अँगालोमा बेरिइसकेका थिए र गिरिजाले उनलाई उत्तराधिकारी घोषणा गरिसकेका थिए । जबसम्म प्रचण्डले खुला रूपमा विसर्जन र आत्मसमर्पण गरिसकेका थिएनन् त्यस बेलासम्म जनयुद्धले एकपछि अर्को विजय प्राप्त गर्दै अघि बढिरहेको थियो । विडम्बना ! त्यसबेला लडाइँ जनमुक्ति सेना र शाहीसेनाबीच भैरहेको थियो । आखिरमा विजय न शाहीसेनाको न जनमुक्ति सेनाको विजय साम्राज्यवाद र दलाल पुँजीवादको भयो । यसको अनिवार्य परिणति फेरि अर्को क्रान्ति, फेरि अर्को विद्रोह बन्न पुग्यो ।

जनयुद्धका महान् सहिदहरू

जनयुद्ध क्रान्ति थियो । त्यसैले मान्छे मर्नु स्वाभाविकै थियो । सत्ता परिवर्तनको हरेक सङ्घर्षमा सत्तापक्ष र जनताका पक्षमा दुवैतिर मान्छे मरेको इतिहास छ । तर सत्तासँग सेना र हतियार भएको हुनाले सत्ता वा राज्य पक्षले धेरै मान्छेको हत्या गरेको इतिहास प्रमाणित छ । १० वर्षको जनयुद्धमा सरकारी पक्षबाट करिब १० हजार र सत्तापक्षतर्फ करिब ५ हजार मान्छे मरेका छन् । राज्यपक्षले सशस्त्र दमन र राज्यआतङ्क मच्चाउने गर्दा त्यसको प्रतिरोधमा प्रतिरोध युद्ध चल्छ । हिंसा र प्रतिहिंसा त्यसैको परिणाम हो । जनयुद्धमा राज्यपक्षबाट मारिएकालाई जनताले सहिद घोषणा गरे भने विद्रोही पक्षबाट मरेकालाई राज्यपक्षले सहिद भनेर घोषणा गरे । राज्यपक्षले मारेका करिब १० हजारजनामा नौ हजारजना सहिद र करिब एक हजारभन्दा बढी बेपत्ताको सूचीमा छन् । करिब नौ हजारमा पनि अधिकांश निहत्था जनता तथा सर्वसाधारण छन् । त्यसमा पनि एकचौथाइ नितान्त अन्जान र कोही त नेपाली काङ्ग्रेस, राप्रपा र एमाले समर्थक जनतासमेत रहेका छन् । तत्कालीन नेकपा माओवादीले प्रहरी र सेनाबाट मारिएका जनमुक्ति सेनाको सङ्ख्या करिब ३ हजार, करिब २ हजारको सङ्ख्यामा माओवादीको सङ्गठित सदस्य जो निहत्था पक्राउपछि मारिए, ४ हजारको हाराहारीमा समर्थक र शुभचिन्तक छन् । त्यस्तै करिब एक हजारभन्दा बढी नेता, कार्यकर्ता र सर्वसाधारण जनता रहेका छन् । विपक्षीतर्फ करिब डेढदेखि २ हजारको हाराहारीमा प्रतिरोधका क्रममा सीआईडीहरू मरेको अनुमान छ । त्यस्तै ३–४ हजारको हाराहारीमा प्रहरी र सेनाहरू मरेको अनुमान गर्न सकिन्छ । यो भनेको जनयुद्धका क्रममा स्वाभाविक सङ्ख्या हो । दुवैतर्फ हाराहारी– हाराहारीमा क्षति भएको छ । तर बढी सर्वसाधारणको हत्या सरकारी सुरक्षा सेनाले भिडन्तका नाममा पक्राउपछि निर्दोष जनता र निहत्था कार्यकर्ताको हत्या भएको छ ।

जहाँसम्म नेकपा माओवादीतर्फ क्षतिको कुरो छ सबभन्दा उच्च स्तरबाट सहादत हुनेहरू वैकल्पिक पीबीएम कमरेड वासु, सीसी सल्लाहकार कमरेड दीर्घ, सीसीएम कमरेडहरू सुनील, कमरेड विशाल, कमरेड रीतबहादुर खड्का, कमरेड परिवर्तन, कमरेड कुमार थिए भने कमरेड रामवृक्ष यादवलाई जनयुद्धको पूर्वसन्ध्यामा गुण्डाहरूद्वारा हत्या गरिएको थियो । जनयुद्धपूर्व ग्रामीण वर्गसङ्घर्षका क्रममा रोल्पामा मात्र करिब आधा दर्जनको पुलिस र गुण्डाहरूद्वारा हत्या भैसकेको थियो । कमरेड दीपेन्द्र (दण्डपाणि न्यौपाने, कमला शर्मा, विद्यार्थी नेता …पौडेल लगायत करिब एक हजारभन्दा बढी अहिले पनि न सास न लासको अवस्थामा छन् । तत्कालीन माओवादी नेता प्रचण्ड २ पटक र बाबुराम १ पटक प्रधानमन्त्री हुँदा पनि ती बेपत्ता नागरिक तथा योद्धाहरूलाई सार्वजनिक गर्न सकेका छैनन् । ती अहिले पनि बेपत्ताकै सूचीमा छन् भने सहिदहरूलाई पनि राष्ट्रिय सहिद घोषणा गर्न र उचित राहत तथा सहिद परिवारहरूको उचित व्यववस्थापन गर्नसकेको छैन ।

जनुद्धका नेताहरू

वर्गसङ्घर्षले नेता जन्माउँछ र नेताले क्रान्ति हाँक्छ । क्रान्ति सफल पार्न एक सफल नेतृत्व र कुशल नेता जरुरी पर्छ । नेता भएर मात्र हुँदैन रहेछ, त्यससँग तात्कालिक र दीर्घकालिक मिसन र भिजन, क्रान्तिकारी दृढता र साहसका साथै वर्गीय पक्षधरतामा दृढ नेता क्रान्तिकारी नेतामा हुनुपर्ने महत्वपूर्ण गुण रहेछ । हुनलाई यी माक्र्सवादका आधारभूत सिद्धान्तभित्रै पर्छन् तैपनि नेताहरू यहीँनिर कतै चिप्लिँदा रहेछन् । हाम्रा त्यसबेलाका आदरणीय भनिने नेताहरू आज कसरी सिद्धान्तबाट विचलित भएर आफ्नै कमरेडहरूलाई नै इन्काउन्टर गर्ने तहसम्म पुग्दा रहेछन् । यो वर्गीय पक्षधरता हो । सामन्तवादी र पुँजीवादी समाजमा पहिलो कुरा कम्युनिस्ट बन्न गाह्रो, दोस्रो कुरा नेता बन्न गाह्रो, तेस्रो कम्युनिस्ट नेता बन्न गाह्रो, चौथो कुरा नेता भएर पनि वर्गीय पक्षधरतामा दृढताका साथ अघि बढेर सर्वहारा वर्गका लागि बलिदान दिने आँट र साहस गर्न गाह्रो । पाँचौँ कुरा यसलाई साम्राज्यवादी प्रतिक्रियावादी षड्यन्त्रहरूबाट बचाउँदै कलात्मक ढङ्गले अन्तिम गन्तव्यसम्म पु¥याउन गाह्रो ं। यसमा हाम्रा नेताहरूलाई कुनकुन अवरोध पार गर्न गाह्रो भयो त्यो सबैलाई थाहा भएको कुरा हो । हाम्रा जनयुद्धका नेताहरू पहिलो त कम्युनिस्ट नै भएनन् । दोस्रो कोही कम्युनिस्टजस्ता देखिने नेताहरू पनि नेता भएनन् । नेता हुनेहरू कम्युनिस्ट भएनन् र कम्युनिस्ट हुनेहरू नेता भएनन् । सायद नेपाली कम्युनिस्ट आन्दोलनको एउटा समस्या यही हो ।

अहिले हिजोका जनयुद्धताकाका केही नेताहरू प्रचण्डतिर देखिन्छन् र अहिले सत्तासुविधा भोग गरिरहेका छन् । केही नेताहरू सत्ताबाहिर छन् । ती क्रान्तिकै कुरा गरिरहेका छन् । यो दुनियाँले देखेकै कुरा हो– चलाख र कमाउ धन्धामा लागेका र माओवादीका नाममा ठगी धन्धामा लागेकाहरू नै आज प्रचण्डका पक्षमा लागे । हिजोको माओवादीका इमानदार पङ्क्ति अहिले पनि क्रान्तिका पक्षमा छ । यी अहिले कमरेड विप्लवको नेतृत्वको नेकपामा छन् । प्रचण्ड अहिले एमालेमा विलय भएका छन् । उनी अब माओवादी रहेनन् । उसबेलाको माओवादीको आत्मा र विचाार नयाँ संस्करण र शैलीमा एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादमा आएर काँचुली फेरेको छ । प्रचण्ड हिजोको माओवादीको पुरानो काँचुली मात्र हो । त्यो अहिले भूत बनेर सताउने र तर्साउने गरिरहेको छ । त्यो काँचुली मात्र हो । कमरेड माओले भनेझैँ कागजी बाघ मात्र हो ।

माओवादी आन्दोलनको वर्तमान

हिजोको माओवादी आन्दोलनको धार अहिले एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद प्राप्तिको आन्दोलनमा फेरिएको छ । माओवादी आन्दोलनको लक्ष्य तत्काल नेपालमा विद्यामान राजतन्त्रात्मक संसदीय व्यवस्थाको अन्त्य गरी नेपालमा नयाँ जनवादी व्यवस्था स्थापना गर्ने रहेको थियो । यो स्वयम् प्रचण्डले अगाडि सारेको कार्यक्रम हो । यो कार्यक्रम २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी गठन हुँदा अगाडि सारिएको कार्यक्रम पनि हो । त्यसैलाई सफल पार्न ५२ सालको माओवादी आन्दोलन सर्वाधिक सफल रह्यो । दस वर्षको जनयुद्धले गणतन्त्रसम्मको यात्रा तय ग¥यो तर संसदीय व्यवस्था झन् सुधारिएको संसदीय व्यवस्थाका रूपमा आयो । जनताको सत्ता स्थापना भएन । दस वर्षको जनयुद्धले तत्कालीन प्रतिक्रियावादी सत्तालाई अधकल्चो मात्र बनायो । तत्कालीन माओवादी नेतृत्वको लोभीपापी स्वाथीहरूको एउटा हिस्सा यही संसदीय व्यवस्थालाई मलजल गर्न पुग्यो । दलाली र आत्मसमर्पणमा प्रतिस्पर्धा गर्न पुग्यो । अन्ततः यसको परिणाम एउटा खाँट्टी साम्राज्यवादको दलालका रूपमा देखाप¥यो । यसैको अभिव्यक्ति नै संशोधनवादी एमालेसँगको पार्टी एकता हो । त्यसैले हिजोको जनयुद्ध र माओवादी आन्दोलनको वर्तमान संस्करण आज एकीकृत जनक्रान्ति हो र वैज्ञानिक समाजवाद बन्न आएको छ । यो नै हिजोको माओवादी आन्दोलनको यात्राको निरन्तरताको वर्तमान हो ।

एकीकृत जनक्रान्तिको कार्यदिशा र सम्भावना

एकीकृत जनक्रान्ति (Unifiede Peoplels Revolution) जनयुद्धको विकसित कार्यदिशा हो । कार्यदिशा नै क्रान्तिको मार्गदर्शक सिद्धान्त हो । हिजोको एउटा परिस्थितिमा जनयुद्धको आवश्यकता थियो । त्यतिबेला जनयुद्धले तत्कालिक समाजको आवश्यकतामा क्रान्तिको भूमिका निर्वाह ग¥यो । आजको परिस्थिति बदलिएको छ । बदलिएको परिवेशमा जनयुद्धले पनि आफूलाई विकसित गरेको छ । आजको साम्राज्यवादको चुनौती र आजको मानव चेतना, विज्ञान–प्रविधि तथा राज्यसत्ताको विशेषताले क्रान्तिको कार्यदिशालाई पनि अनिवार्य रूपमा परिमार्जन र विकास गर्नुपर्ने आवश्यकता भयो । यहीँनिर प्रचण्डले नसकेर भागेको हो । नेतृत्वको काम विश्वपरिस्थिति र राष्ट्रिय परिस्थितिको राम्रो आँकलन र विश्लेषण गरेर अगाडि जाने मार्ग तय गर्नु हो । यति गर्न नसके उसले नेतृत्वको भूमिका निर्वाह नै गर्न सक्तैन । लाटो देशमा गाँडो तन्नेरी बनेर प्रचण्डले हामी कार्यकर्ताहरूलाई बेबकुफ बनाएको कुरा अहिले चीज बिग्रेपछि मात्र थाहा पायौँ । जब हामीले थाहा पायौँ चीज धेरै गडबड भइसकेको थियो । तैपनि पार्टी र क्रान्तिलाई बचाउन नसके पनि क्रान्तिकारीहरूको उद्धार (Resque) गर्नु, विचार र सिद्धान्तको रक्षा गर्न सक्नु, पुरानोको भग्नावशेषबाट नयाँ निर्माण गर्न सक्नु र नयाँ क्रान्तिकारी बाटो (कार्यदिशा) तय गर्न सक्नु महान् कार्य हो । यो दस वर्षको महान् जनयुद्धको प्रतिधक्काको परिणाम हो । यसैको गर्भबाट एकीकृत जनक्रान्तिको कार्यदिशा जन्मेको छ । यसले आफ्नो जन्मसँगै ससानो विद्रोह गरेर आएको छ । जन्मनेबित्तिकै प्रतिक्रियावादी चुनावहरूको सामना गर्दै आयो । त्यसपछि निरन्तर कहिले वाम– काङ्ग्रेसको सरकारको, कहिले कथित कम्युनिस्ट सरकारको दमनको सामना गर्दै आएको छ । यो दमन ९ महिनाको बच्चालाई दादुराविरुद्धको सुई दिएजस्तै भएको छ । हरेक कदमहरूमा प्रतिरोधको सामना गर्दै अहिले एकीकृत जनक्रान्तिले आपूmलाई सुदृढ र अग्निपरीक्षाहरूमा सामेल गर्दै हार र जितको द्वन्द्ववादलाई पकड्दै निरन्तर विकास र सफलताको दिशातिर अगाडि बढेको छ । यो नै सफलता र विजयको सङ्केत हो ।

अन्त्यमा यतिबेला नेपाल कम्युनिस्ट पार्टी नै सच्चा जनयुद्धको उत्तराधिकारी बनेको छ । यसले महान् सम्भावनाहरूको ढोका खोल्दै वैज्ञानिक समाजवाद निर्माण गर्ने दिशा पकडेको छ । निश्चय नै क्रान्ति कहिल्यै पनि सीधा र सपाट बाटोबाट अघि बढ्दैन । यो बाङ्गोटिङ्गो बाटो भएर अघि बढ्छ । यो हार–जित, उतार–चढाव हुँदै लेनिनले भन्नुभएजस्तै ज्वारभाटाका विरुद्ध अघि बढ्छ । यसरी जाने आँट गर्नु नै क्रान्तिकारी साहस हो । यो आरसीपीका नेता बब अबाकिनले भनेझैँ (Revolution is the hope of tha hopless) क्रान्ति निरासहरूको आशा हो । प्रचण्डले समस्त नेपाली जनता र क्रान्तिकारी पङ्क्ति, कार्यकर्ता र सर्वहारा वर्गलाई निराश मात्र होइन, घोर निराशामा फसाएको बेला एकीकृत जनक्रान्ति ती निराशाहरूको आशाको दियो बनेको छ । यति मात्र होइन, यो अब एउटा वैकल्पिक शक्ति बनेर उभिएको छ । माओले भन्नुभएझैँ सही कार्यदिशा भए गुमेका सम्पूर्ण चीजहरू पनि फेरि प्राप्त हुन्छन् । नभएको चीज पनि प्राप्त हुन्छ । नभन्दै हाम्रो पार्टी वरपर अब क्रान्तिकारीहरू गोलबन्द हुने क्रम जारी छ । क्रान्तिकारी ध्रुवीकरण निरन्तर जारी छ । अहिले नेपालमा दलाल पुँजीवाद, सामाजिक दलाल पुँजीवाद र क्रान्तिकारी पार्टी नेपाल कम्युनिस्ट पार्टी तीन राजनीतिक शक्तिकेन्द्रहरू खडा छन् । तिनमा दलाल पुँजीवाद र सामाजिक दलाल पुँजीवाद नाम मात्र फरक ‘कम्युनिस्ट र कम्युनिस्टविरोधी’ जस्ता देखिए पनि तिनी सारमा एउटै हुन् । जात एउटै नाम र रूपरङ मात्र फरक ‘ कालो कुकुर र रातो कुकुर’ भनेजस्तै हुन् । आखिर जस्तो रूपरङ र नाम भए पनि कुकुर कुकुरै हो । उसको काम मालिक भक्ति गर्नु हो । त्यसैलै एक दिन यिनको अन्त्य अवश्यम्भाबी छ । कम्युनिस्टहरूको जित निश्चित छ । वैज्ञानिक समाजवाद धेरै टाढाको विषय छैन । जनयुद्ध अर्को रूपमा जारी छ ।

२०७६ वैशाख १२ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :