सत्ताको तानाशाही कदमविरुद्ध स्रष्टाहरूको ऐक्यबद्धता

गतसाता कोठाबाट सहरतिर आउँदै गरेका स्थापित माक्र्सवादी युवा स्रष्टा रसुवाली कविले अलि अस्वाभाविक आवाजमा फोन गरे, ‘सर म गिरफ्तारीमा परेँ । सशस्त्र प्रहरीले मलाई बाटोमा हिँड्दाहिँड्दै बिनापुर्जी गिरफ्तार ग¥यो…।’ यति भन्नासाथ उनको फोन काटियो ।

हतारहतार मैले इरातो खबरको समाचारशाखामा बस्नुभएका पत्रकार साथीहरूलाई फोन गरेर समाचार टिपाएँ । मेरो फेसबुकबाट पनि उक्त समाचार पोस्ट गरेँ ।

एकैछिनमा एउटा कविको गिरफ्तारीका विरुद्ध सामाजिक सञ्जालका भित्ताहरू भ्रिए । रसुवाली कवि मालेमाप्रति प्रतिबद्ध, सशक्त र धारिला कवि एवम् विश्लेषक हुन् भन्ने कुरा नेपाली सिर्जना क्षेत्रका कमैलाई मात्र जानकारी नहोला । तेजिला वैचारिक कविताबाट, समीक्षा÷संस्मरणहरूबाट होस् वा रातो हिमाल, रातो न्युजलगायत पत्रपत्रिकाबाट खरो समाचार र लेख प्रसारण गरेर होस्, उनले कलिलै उमेरमा सत्यको बाटो रोजिसकेका छन् र त्यसको पक्षपोषण पनि गरिरहेका छन् । गिरफ्तार भएर हिरासतमा जानुभन्दा अघिल्लो दिन उनले मेरो म्यासेन्जरमा एउटा कविता राख्दै टिप्पणी र सुझाव मागेका थिए । पुष्पलाल–गङ्गालाल जन्मस्थल रामेछाप भँगेरी हुँदै सिर्जनानगरसम्मको तीनदिने वैचारिक–सांस्कृतिक यात्रामा खरो उत्रिएका कविले सहिद आजाद जन्मस्थल खुर्कोट आएर कमरेड आजादको क्रान्तिकारी जीवनी सुनेपछि लेखेको त्यो कविताको अन्तिम अनुच्छेद यस्तो थियो–
म खुर्कोट यसै उक्लेको होइन
मलाई खोज्नुछ लुटिएका मूल्यहरू
रगत र बलिदान बिक्री गरेर
म बन्न सकिनँ होग्जा
म बन्न सकिनँ बाराक ओबामा
मलाई त आजाद बन्नुछ…।

एतातिर सरकारले पत्रकार जितेन्द्र महर्जनलाई गिरफ्तार गरी हिरासतमा राख्यो र राज्यविप्लवको मुद्दा लगायो । सर्वोच्च अदालतले निदोष ठहर गर्दै रिहाइको आदेश दिँदा पनि अदालत परिसरबाटै अपहरणशैलीमा पुनः गिरफ्तार गरी बेपत्ता बनायो । सरकारले यसरी देशैभरिबाट क्रान्तिकारी चेतनामाथि प्रतिबन्ध लगाउँदै गिरफ्तारी, धरपकड र झूट्टा मुद्दा लगाइरहेको छ । उदेक र आश्चर्यलाग्दो कुरा त देशभक्त, क्रान्तिकारी र आमूल परिवर्तनका पक्षधर हरूलाई राज्यविप्लवको मुद्दा लगाइरहेको छ, मानौँ यो राज्यको ठेक्का उनीहरूले नै लिएका छन् र अरु सबै यसका विराधी ।

पत्रकार जितन््रको गिरफ्तारी र अपहरण तथा रसुवाली कविको गिरफ्तारीका विरुद्ध नेपालको पत्रकारिता र साहित्यिक क्षेत्र एकपटक फेरि जुरुक्क उठेको छ । पत्रकार एवम् स्रष्टाको गिरफ्तारीविरुद्ध यसअघि कवि एवम् पत्रकार कृष्ण सेन ‘इच्छुक’ को घटनामा यसैगरी जुर्मुराएको थियो सांस्कृतिक र पत्रकारिता क्षेत्र । न्यायका पक्षपाती स्रष्टालाई झूट्टा मुद्दा लगाउँदै गिरफ्तार गर्नु र कसैलाई भेट्न नदिई हिरासतमा कोचिरहनु अत्याचारी शासकहरूको हदैसम्मको निन्दनीय कर्म हो । सरकारले कवि, पत्रकारलगायत क्रान्तिका पक्षमा रहेका, झूट्टा मुद्दा लगाएर थुनिएका न्यायका पक्षपातीहरू सबैलाई तत्काल रिहा गर्नुपर्छ र नेपाली जनतासामु माफी माग्नुपर्छ । यो छोटो टिप्पणीमा जनताका पक्षमा लेख्ने पत्रकार, स्रष्टा कसरी सत्ताका आँखामा राष्ट्रद्रोही हुन्छ भन्ने कुरा खोतल्ने प्रयास गरिएको छ ।

कविको गिरफ्तारीको समाचार सुन्नासाथ गत सोमबार नै राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले लेखे– विचारको आतङ्क र कविताको शक्ति । प्रगतिशील युवा कवि ‘रसुवाली कवि’ लाई रिहा गर ! उनले त्यसको लगत्तै फेरि लेखे– पत्रकार महर्जनको अदालती रिहाइ र पुनः गिरफ्तारी ः सरकार स्वयम् आफ्नै सर्वाेच्च अदालतको आदेश पालना गर्दैन भने हे सत्ता, तिम्रा आदेश मैले किन पालना गर्नुपर्ने हँ ? हो, तिमी जे पनि, जसलाई पनि गर्न सक्छौ । यही कारण मलाई पनि गर्न त सक्छौ तर म तिम्रो हुकुम भने पालन गर्दिनँ…महाराज ।

पिटरको सन्देशमा टिप्पणी गर्दै हेमन्त कर्माचार्यले भने– ‘गीत, कविताबाट पनि तर्सिने दिन आएछ । हरे, पञ्चायती पुनरावृत्ति !’ त्यस्तै वामपन्थी नेता लोककृष्ण भट्टराई, कवि बलभद्र भारतीलगायत सयौँ स्रष्टाहरूले कवि र पत्रकारको गिरफ्तारीको विरोध गरे । कयौँले गिरफ्तारीका विरुद्ध र रिहाइका लागि हस्ताक्षर सङ्कलन नै गरे । समीक्षक डा. जगदीशचन्द्र भण्डारीले लेखे– फासिवादी वली सरकार रसुवाली कविलाई तुरुन्त रिहा गर । पत्रकार केशव नेपालले लेखे, ‘लेखकलाई सम्मान गर, हिर ासत होइन । चेतना भया !’

कवि एवम् पत्रकार रसुवाली कविको गिरफ्तारीविरुद्ध देशविदेशबाट सरकारमाथि दबाब आइरहेकै समयमा केही स्थापित स्रष्टाहरूले ५० जना साहित्यकारको हस्ताक्षरसहित तत्काल रिहाइको माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाए । रसुवाली कविलाई रिहा गर्न माग गर्दै स्रष्टाहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा गत मङ्गलबार ज्ञापनपत्र बुझाएका हुन् । सोमबार गिरफ्तार गरिएका कविलाई महानगरीय प्रहरी वृत्त बालाजुमा राखिएको छ । उनको रिहाइ माग गर्दै आख्यानकार एवम् स्थापित लेखक÷पत्रकार नारायण ढकाल, राजन मुकारुङ, कवि सुमनराज श्रेष्ठ, ज्वालामुखी लामिछाने, गौतम राई, प्रेमिला राईलगायतले बुझाएको ज्ञापनपत्रमा राजनीतिक गतिविधिमा संलग्न रहेको कारण गिरफ्तार गरिनु अभिव्यक्ति स्वतन्त्रताविपरीत रहेको उल्लेख छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘ठूलो सङ्घर्ष र बलिदानीपश्चात् प्राप्त गणतन्त्र, नागरिक स्वतन्त्रता, लोकतान्त्रिक व्यवस्थामा राज्यको यस्तो कदम सहमतियोग्य नरहेको जानकारी गराउँछौँ । संविधानप्रदत्त नागरिकको मौलिक हक सुरक्षित, सुनिश्चित गरिनु राज्यको दायित्व हुन आउने कुराप्रति सजग गराउँदै उनको तत्काल रिहाइका लागि माग गर्दछौँ ।’
केही गुप्तचारले भने कविको गिरफ्तारीप्रति सरकारलाई नै सहयोग पुग्ने गरी टिप्पणी लेखेका छन् । तिनका बारोम भविष्यले नै छिनोफानो गर्ने स्रष्टाहरूले बताएका छन् ।

यस्तै कवि बीपी विद्रोहीले मङ्गलबार जारी गरेको अपिलमा लेखिएको छ–

लेखक एवम् साहित्यकार ठाकुरप्रसाद तिमिल्सिना (रसुवाली कवि) लाई प्रहरीले बिनाकारण गिरफ्तार गरेर हिरासतमा राखेको घटनाप्रति देशविदेश सबैतिर रहनुहुने लेखक, साहित्यकार, पत्रकार एवम् सम्पूर्ण कलमजीवीले रिहाइका लागि दबाब सिर्जना गरिदिनुहुन हार्दिक अनुरोध छ ।
नेपाली काङ्ग्रेस निकट नेपाली लेखक सङ्घले विज्ञप्ति जारी गर्दै भनेको छ– युवा लेखक रसुवाली कवि (ठाकुरप्रसाद तिमिल्सिना) लाई सरकारले गरेको गिरफ्तारीको हामी घोर भर्सना गर्दछौँ । कवि, लेखक, पत्रकारहरूमाथि अङ्कुश लगाउन खोज्दै यो सरकार अभिव्यक्ति स्वतन्त्रताको हनन गर्दैछ । सरकारको यो रबैयाको हामी निन्दा गर्दछौँ र रसुवाली कविको ससम्मान रिहाइका लागि जोडदार माग गर्दछौँ ।

कवि प्रोल्लास सिन्धुलीयले लेखेका छन्– “के कारणले समातेको ? कविता लेखेकै कारण हो कि अन्य ?’

धेरैजनाले समर्थन गर्दै गर्दा पनि यसरी द्विविधा व्यक्त गरेको देखियो । कुरा ‘ठाकुरप्रसाद तिमिल्सिना’ को होइन, ‘रसुवाली कवि’ को हो । अर्थात् पछिल्लो पुस्ताको क्षमतावान् र सम्भावनायुक्त एक कविको हो । यसरी कवि, लेखक, पत्रकारलाई राजनीतिक नै सही, झिनोमसिनो आरोपमा राज्यले तर्साउने कार्य गर्न थाल्ने हो भने नबोलिनहुने कुरामा बोल्छ चैँ को ? बोल्नुपर्नेले नै सत्य, तथ्य बोल्न डरत्रास महसुस गर्नुपर्ने अवस्था नआओस् भनेर नै रसुवालीसँग जात, धर्म, आस्था, भूगोल, हाइट, साइज, स्तर, औकात, क्यै पनि फिटिक्कै नमिल्नेले पनि उनको रिहाइका लागि खुलेर बोलेका हुन् ।

यसैगरी कृष्णकृसुले लेखेका छन्– म रसुवाली कविको पक्षमा मात्र होइन, प्रतिपक्षी नेकपामाथि लगाइएको समग्र प्रतिबन्धकै विपक्षमा छु । राज्यले गरिराखेका समग्र धरपकड तत्काल रोकेर प्रतिपक्षी नेकपासँग राजनीतिक वार्तामार्फत समाधान खोज्न जरुरी छ ।
रसुवाली कवि कवि मात्र नभएर प्रतिपक्षी विचार राख्ने एक सचेत राजनीतिक कार्यकर्ता हो । एक राजनीतिक कार्यकर्ताले आफ्नो विचार निर्बाध ढङ्गले राख्न पाउनुपर्छ । मुख्य कुरा सरकारले लिएको राजनीतिक बाटो हो, सरकारको चरित्रको हो । राज्यले लिने राजनीतिक बाटो र चरित्र यस्तै रहने हो भने जस्तोसुकै प्रतिबन्ध र दमन गर्दा पनि प्रतिपक्षी नेकपा जन्मिरहन्छ र देशमा अस्थिरता रहिरहन्छ ।

कवि यज्ञबहादुर डाँगीले लेखेका छन्– तानाशाह (फासिवाद) पतनको अन्तिम रूप हो रसुवाली कविलाई गिरफ्तार गर्नु । नेकपा र सरकार त्यही पतन हुनु हो । यसैगरी बीपीले लेखेका छन्– कलमसँग किन यति धेरै आतङ्कित छ राज्य ?? कलममाथिको दमन बन्द गर । बिनासर्त ससम्मान रिहाइको जोडदार माग गर्दछु । नारायण मरासिनीले लेखेका छन्– यी दुईको कलम किन भाँच्न खोजेको सरकार ? बिनासर्त रिहाइ गर ।

रसुवाली कविले गिरफ्तार हुनुअघि सामाजिक सञ्जाल फेसबुकमा के लेखेका थिए त ? उनले गिरफ्तार भएकै दिन अप्रिल १५ मा लेखेका थिए– नारायण ढकालको कथासङ्ग्रह इन्द्रजाल पढेँ । सामाजिक यथार्थवादी साहित्यको अन्त्य घोषणा भैरहँदा नारायणका कथाले सिर्जनात्मक हस्तक्षेप गरिरहेका छन् नेपाली साहित्यमा । कलाका हिसाबले नारायण ढकालका कथाहरू समकालीन समयको मूल धारमा छन् । दृष्टिकोणका हिसाबले उनका कथा कमजोर छन् । म तीन कथाबारे केही बोल्छु ः डोल्मा ः रसुवा जिल्लाको लाङटाङ आसपासलाई सेट बनाएर लेखिएको कथा हो डोल्मा । हिमाली भेगको जनजीवनलाई यो कथामा रोचक चित्रण गरिएको छ । होटेल गर्ने डोल्मा कुस्त पैसा कमाइरहेकी हुन्छे । अलि पारि गाउँमा सिटामोल नपाएर मर्नेहरूको बस्ती छ । कथाले लाङटाङ आसपासको समाजलाई मात्र होइन, ट्रेकिङ गर्ने नेपालीको दुःखलाई समेत अँगालो हालेको छ तर कथाको मूल विषय हो– डोल्माको दबेको यौन । श्रीमान्ले अर्कै श्रीमती ल्याएर स्याफ्रुबेसीतिर बस्न थालेपछि आफ्नै कामदारसँग लसपस गर्छिन् डोल्मा । यो हर्कत होटेलमा बास बस्न आएका पाहुनाले समेत देख्छन् । कथाको मूल बिषय डोल्माको यही हर्कतसँग केन्द्रित छ । मलाई लाग्छ लाङटाङ दुःख यो मात्र होइन । बरु अभावचाहिँ हो । यहाँको मुख्य कथा हो । मुक्तिदाता ः यो मधेस आन्दोलनसँग डराउने पहाडियाको कथा हो । लहडमा थानकोटबाट बस चढेर तराई पुगेको पात्रको मनोवैज्ञानिक त्रास कथाले बोलेको छ । आफूलाई सहयोग गर्ने, रिक्सामा सहर घुमाउने, रक्सी खाने सञ्जीजवकुमार मण्डलसँग कथाको पात्र त्रसित छ, आतङ्कित छ । यसको एउटै कारण हो कवि शास्त्रीको फोन र उसले देखाएको डर । यही कारण मुख्य पात्रसँग अर्को पात्र डराइरहन्छ । उसलाई मरिन्छ कि भन्ने डर छ । सञ्जीवकुमार घर पुगेपछि त ऊ झन् डराउँछ । राति नै होटेल फर्किन्छ । अनि भोलिपल्ट काठमाडौँ । यो मधेस आन्दोलनलाई हेर्ने साँघुरो कोण हो । इन्द्रजाल ः नारायण ढकाल माओवादी आन्दोलन मन नपराउने र जनयुद्धविरुद्ध कलात्मक झटारो हान्ने आख्यानकार हुन् । इन्द्रजाल माले–एमालेको सङ्कट र सङ्कटकालपछि माओवादी आन्दोलनको दुःख अभिव्यक्त गरिएको कथा हो । इन्द्रजाल रूपमा उनले विकृत वाम राजनीतिलाई प्रस्तुत गरेका छन् । कथाको सेट काँठ क्षेत्र हो । यसमा पूर्वगाविस अध्यक्ष, एकजना क्रान्तिकारी पिउन र उसको छोरा मुख्य पात्र छन् । इन्द्रजालको भयानक बिम्बमार्फत समकालीन यथार्थलाई चित्रण गर्न कथा सफल छ । प्रचण्ड–वली र बाबुरामको पतनको आँखाबाट यो कथा बडो सान्दर्भिक लाग्छ । मलाई एकदम मन परेको कथा हो यो ।
उनले अप्रिल १४ मा लेखेका छन्– आदित्य दाहालको उपचार गरौँ । भौतिकवादी दुनियाँमा विज्ञानभन्दा माथि ढोङ छैन । तपाईंहरूलाई यस्तो लाग्छ भने उनले निर्मलाको बलात्कारी को रे छन् ? भनिदिऊन् त । कसैले लेखेको अक्षरमा उनको हातबाट रङ थप्न लगाएर उनीमाथि राजनीति नगरूँ । ढोङ गर्ने पत्रकार र नेता दुवैप्रति शङ्का गरौँ ।

अप्रिल ११ मा उनले पोस्ट गरेको सन्देशमा भनिएको छ– महासचिव कमरेडले सित्तैँमा पाउँदा अलकत्रा खानुभएको हो । जिब्रोमै टाँसिएछ । बाँस्कोटा कमरेडले उप्काउन खोज्नुभएको, सक्नुभएन । त्यसैगरी सोही दिन उनले लेखेका छन्– एउटा मिडियाले सुनिल पोखरेललाई आइकन बनायो । अर्को मिडियाले यौनदुराचारी । मिसन पत्रकारितामा खेल अनेक । उसै दिन उनले पोस्ट गरेको अर्को सन्देश छ– हुन सक्छ पूर्वराजाको गाडीले नियतबस मान्छे नमारेको हुन सक्छ । यो उनको गम्भीर गल्ती हो । भीभीआईपीका नाउँमा हुने सडक दुर्घटना सामान्य होइन ।
यसैगरी उनले अर्को सन्देशमा लेखेका छन्– पुष्पकमल दाहाल र खड्गप्रसादको पुच्छर समातेर वैतरणी नदी तर्न लामबद्ध डबल नेकपाका युवा नेताहरूको आलोचनात्मक चेत त ठीक छ तर यस्तो अपमानित पार्टीमा बसेर फिक्सन पन्छीको निबन्ध लेखेर कहाँ पुगिन्छ कमरेड ? सोच्नुस् । तपाईंहरूको दुईतिहाइ अन्तिम सत्य होइन ।

अप्रिल १० मा उनले पोस्ट गरेका छन्– एउटा बालक छन् नेपालमा । बरा आमाले गर्भनिरोधक चक्की खाइदिँदा उनी निकै अशक्त हुन पुगे । हलचल गर्न पनि समस्या छ । यस्ता धेरै बालबच्चा छन् जसले गर्भमै शोषणमा पर्नुपरेको छ । तीमध्ये यी बालक पनि एक हुन् । अहिले उनलाई उपचार गर्नु साटो यो युगकै शक्तिशाली भगवान् भनेर पुज्न सुरु गरिएको छ । एउटा मिडियाले अन्तिम सत्य भनेरसमेत प्रचार गरिरहेको छ । एकजना प्रधानमन्त्रीले उनलाई देउताको नयाँ रूप भनेर एक करोड पैसासमेत दिए । बालकको आजसम्म उपचार भएको सुनेको छैन । उनी झन् गलित हुँदैछन् । यथाशीघ्र बालकको उपचार गर । धार्मिक भ्रम नफैलाऊ । अपाङ्गको अधिकार सुरक्षित गर । बालबालिकालाई स्वतन्त्रताका साथ बाँच्न देऊ ।

सोही दिन उनले प्रवाह गरेको अर्को सन्देशमा भनिएको छ– म पुष्पलाल विचारप्रति गहिरो आस्था भएको मान्छे हुँ । यी नेपाली मौलिकताका माक्र्सवादीलाई गद्दार भनेर क्रान्तिकारी हुन नसक्ने जीव हुँ । हामी उनको जन्मथलो रामेछापको भँगेरी गाउँ निरन्तर पुगिरहेका छौँ । उनका विषयमा निरन्तर बोलिरहेका छौँ । पुष्पलाल जन्मेको ठाउँलाई अन्तर्राष्ट्रिय रूपमा कम्युनिस्टहरूको अध्ययन केन्द्र बनाउनुपर्छ भन्ने लाग्छ । जस्तो पुस्तकालय, पार्क, सङ्ग्रहालयजस्ता कुराको विकास गर्न सकिन्छ । राज्यकोषका तर्फबाट यहाँ करोडौँ रुपैयाँ लगानी हुँदैछ । यो दुरूपयोग हुनु हुँदैन । अनैतिकहरूले उनको नाम पनि उच्चारण नगरून् ।

उनको अर्को सन्देशमा भनिएको छ– निजी सम्पत्तिको अन्त्य गर्ने कम्युनिस्ट पार्टीको महासचिव यस्तो पावर फुल हुन् कि बालुवाटारको सरकारी जग्गासमेत आफ्नै नाममा पास गर्न सकोस् । यही त हो समृद्ध नेपाल, सुखी नेपाली ।

उनका अरू सन्देश यस्ता छन्– पिटर भन्नुहुन्छ– जसले जनइतिहासलाई बन्दुक हान्छ त्यसको भविष्य तोपले उडाउनेछ । उनले पोस्ट गरेको अप्रिल ९ को ‘कम्युनिस्टहरूको मक्कामदिना पुग्दा’ शीर्षकको सन्देशसहित केही सन्देश राखेर यो टिप्पणी अन्त्य गर्ने अनुमति चाहन्छु– रामेछाप अनेकौँ लोकबिम्बले परिचित छ । रुखा डाँडा, पाखा, भीर भएको र पानीको दुःखले गर्दा रामेछापमा छोरी नदिनू भन्ने उखान नै चलेको पाइन्छ । जब रामेछाप पुग्छु, मन्थलीको रातो माटोमा जीवनको रथ तानिरहेका दुःखीजनको दुःख र दर्द देखेर मन चसक्क हुन्छ । अनि राष्ट्रिय पञ्चायतका धमिलो अनुहार नवराज सुवेदी र सामन्ती साहित्यकार जगदीश घिमिरेको रबाफआतङ्क र बेइमानी पाटाहरू देख्दा अर्को उदेक पनि लाग्छ । मन्त्री क्वार्टरबाट छाता मात्र लिएर घर फर्केका रामेछापका पूर्वराज्यमन्त्री रामहरि ढुङ्गेलसँग डिल्लीबजारमा बसेर पिएको चिया बरोबर सम्झन्छु । समाजका अनेकौँ अन्तरविरोध, कलह र द्वन्द्वका पाटा रामेछापमा पनि देखिन्छ ।

रामेछापको खास पहिचानचाहिँ लालभूमि नै हो । राणा शासकविरुद्ध मकैको खेतीनामक पुस्तक लेखेका कारण सुब्बा कृष्णलाल अधिकारीलाई तत्कालीन सत्ताले कायरतापूर्वक हत्या गरेको थियो । उनी यही रामेछापका सपूत हुन् । यस्तै नेपाली माटोलाई स्वाधीन बनाउन तानाशाही राणा शासन अन्त्य गर्नका लागि हाँसीहाँसी बलिमा झुन्डने नेपालीजनका महान् सहिद राष्ट्रिय विभूति गङ्गालाल पनि यही माटोमा जन्मी, खेली, घुमी हुर्के । अर्का आदर्श व्यक्ति बेजोड दार्शनिक, यो युगका महान् नेता तथा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल पनि रामेछापको भँगेरी गाउँको एउटा सानो झुपडीमा जन्मे । जनयुद्धको निकै ठूलो फासिबादी हत्याकाण्डको रूपमा चर्चित दोरम्बा हत्याकाण्ड यहीँ भयो । यो राष्ट्रका लागि बलिदान गर्ने एउटा महान् जिल्ला पनि हो । यही कारण रामेछाप भन्नु नै लालभूमि भएको छ ।

एक दशकदेखि वरिष्ठ लेखक, सौन्दर्यचिन्तक तथा सामाजिक अभियन्ता कमरेड अशोक सुवेदीले प्रत्येक वर्ष एउटा साहित्यिक–राजनीतिक महत्वको यात्रा गराउँदै आउनुभएको छ । यही सिलसिलामा हामी भँगेरी पुग्छौँ । गङ्गालाल र पुष्पलालको सालिकमा उभिएर क्रान्तिकारी भावना साट्छौँ । कविता भन्छौँ । गीत गाउँछौँ । तस्बिर खिच्छौँ । सालिकमा फूल चढाउँछौँ । हामी आदर्शबाट विचलित नहुने कसम खान्छौँ । विगत एक दसकदेखि हामी यो अभियानमा लामबद्ध छौँ ।
एकखालका प्रक्रियावादीहरूलाई यो कुरा चित्त बुझेको छैन । उनीहरू यसलाई अशोक सुवेदीले बाउआमाको श्राद्ध गरेको रूपमा बुझ्छन् । उनीहरू सिर्जनानगरमा हुने भव्य साहित्यिक समारोह देख्दैनन् । असल बुहारीहरूलाई गरिएको सम्मान देख्दैनन् । गाउँले बालबालिकाले पढेका कविताहरू र त्यसको परिवर्तनकारी भाव देख्दैनन् । परम्परागत संस्कृतिका विरुद्धको अभियान देख्दैनन । लालआदर्श देख्दैनन् । सपनाहरू फुलेको र नयाँ संस्कृतिले जग हालेको देख्दैनन् । वास्तवमा धमिलो पानीमा माछा र चेपागाँडा मार्नेहरू परिवर्तनको सधैँ विरोध गर्छन् । खुट्टा तान्छन् र भाँजो हाल्छन् । केही साउने प्रगतिशील भनिनेहरूसमेत यस्ता अभियानको खिलाफमा तीन हात तीन बित्ता उफ्रने गर्छन् । यस्तो हर्कत नियमित हुन्छन् नै ।

२०७६ वैशाख १२ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :