प्रचण्ड सरकारको चुनाव र प्रहरी हिरासत

घननाथ सापकोटा ‘विकास’

‘‘ सामान्य जनता सामान्य केशमा महिनौं प्रहरी हिरासतमा यातना र कष्ट खपिरहेका छन् । तर मतपत्र च्यात्ने मा.के.का कार्यकर्तालाई चारै दिनमा धरौटीमा छोड्ने काम भयो । यही प्रशासनको निश्पक्षता ? ……. प्रचण्डले आफ्नै छोरी रेणु दाहाललाई सिद्धान्तमा सम्झौता गर्दै जय नेपाल भन्दै काँग्रेससँग गठबन्धन गर्ने, जसरी पनि साम, दाम, भण्ड, भेद लागएर छोरीलाई जिताउन राज्यशक्तिको दुरुपयोग गरेर आफ्नो कार्यकर्तालाई मतपत्र च्यात्न लगाउने थप दृष्टान्त यो चुनावमा देखियो ।’’
घननाथ सापकोटा ‘विकास’
२०७४ साल वैशाख ३१ गते प्रचण्ड सरकारले स्थानीय तहको चुनाव घोषण ग¥यो । उक्त निर्वाचनलाई नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका तर्फबाट क्रान्तिकारी उपयोग गर्ने निर्णय लिइयो । यो हाम्रो पार्टीको कार्यनीति हो । लेनिनले भन्नुभएको छ, ‘कार्यनीति २४ घन्टामा फेरबदल हुनसक्छ ।’ हाम्रो पार्टीले स्थानीय तहको निर्वाचनलाई उपयोग गर्ने मुख्य कारण संसदीय व्यवस्थाभित्र भएका राष्ट्रघात, जनघात, भ्रष्टाचारलगायत विकृतिहरू जनताको बीचमा भण्डाफोर गर्ने साथै देशलाई जनगणतन्त्रतर्फ विकास गर्नका लागि थप तयारी गर्ने । हाम्रो पार्टीका तर्फबाट विजय भएको स्थानमा त्यस ठाउँको साधानस्रोतको समुचित उपयोग गर्ने र केन्द्रबाट प्राप्त भएको बजेटलाई सही रूपमा विकास गराएर स्थानीय संरचनाहरूमा विकास गर्ने हाम्रो पार्टीको लक्ष्य हो । हामी यो विषयमा पनि प्रस्ट छौँ । संसदीय व्यवस्थाअन्तर्गत चुनाव तथा शान्तिपूर्ण गरिकाबाट देशमा न परिवर्तन हुन्छ, न त विकास नै हुन्छ । वर्तमान अवस्थामा क्रान्ति र क्रान्तिकारी विकास रक्षात्मक अवस्थामा रहेकाले स्थानीय निर्वाचनलाई उपयोग गर्नु परेको हो ।

हामीले यसभन्दा अगाडि २०७० सालको संविधानसभाको चुनाव बहिष्कार गरेका थियौँ । हाल आएर स्थानीय चुनावमा भाग लियौँ । यस घटनाबाट जनतामा प्रश्न र जिज्ञासा पैदा हुनु स्वाभाविकै थियो । जब पहिलो संविधानसभामा विदेशीको योजनामा विघटन गरेर संविधान निर्माण गर्न नसकेपछि दोस्रो संविधानसभा नेपाल र नेपली जनताको उन्नति र प्रगतिको अनुभूत गर्नेखालको संविधान बन्न सक्दैन भन्ने पार्टीको ठहर थियो । दोस्रो संविधानसभामा प्रतिक्रियावादीको हातमा गएको थियो । त्यो आज साबित भएकै छ । वर्तमान संविधानले न देशमा स्थिरता ल्यायो, न राष्ट्रियतालाई बलियो बनायो, न त महिला, दलित, मधेसी, जनजाति, आदिवासी, पिछडिएका जनताको अधिकार सुनिश्चित ग¥यो । बेरोजगारी समस्या झन् विकराल बनेर गएको देशमा युवकयुवती झनै विदेश पलायन भएका छन् । शिक्षा, स्वास्थ्य, देशमा भएको रोजगार पहुँच भएका नेताका छोराछोरीलाई सुरक्षित भ्रष्टाचार मौलाएर गएको, देशको ढुकुटी वैधानिक–अवैधानिक रूपमा देशमा उच्च पदका नेताहरूको तलबभत्तामा ठिक्क छ । वैदेशिक हस्तक्षेप झन् बढेको छ । भारतले दिनहुँ देशभित्र नेपालीलाई गोली हानेर मार्दा नेपाल सरकार लाचार बनेर रमिता हेरिरहन्छ । यसकारण दसबर्से जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त आंशिक उपलब्धिबाहेक वर्तमान संविधान राज्यव्यवस्था नयाँ बोतलमा पुरानै रक्सी राखेको प्रक्रियावादी नै हो । वैशाख ३१ गते ३, ४, ६ प्रदेशको चुनावको मिति घाषणा भयो । संसदीय पार्टीहरूले यसलाई ठूलो उत्साहका रूपमा तामझामका साथ भाग लिने निर्णय गरे । बीसौँ वर्षदेखि हाम्रो गुमेको स्वार्थ सुदृढ गर्न पाइने भयो भनेर । कतिपय पार्टीले यस चुनावलाई बहिष्कार÷खारेज गर्ने नीति अवलम्बन गरे । मुख्य गरेर नेपाल कम्युनिस्ट पार्टीले यसप्रकारको चुनावले नेपाल र नेपाली जनतालाई केही दिन सक्दैन । यसमा कत्ति पनि भ्रममा नपरीकन क्रान्तिको तयारीमा लाग्नु क्रान्तिकारीहरूको जिम्मेवारी हो भन्दै यस चुनावलाई खारेज गर्ने नीति अगाडि सा¥यो ।

हाम्रो पार्टीले क्रान्तिकारी उपयोगको नीतिलाई पूरा गर्न जिल्ला कमिटीको बैठकलाई बाँडफाँट ग¥यो र मलाई रत्ननगर नगरपालिकाको चुनावको जिम्मा प¥यो । उक्त नगरपालिकाको बैठक बस्यो । गहिरो छलफल गरेर उम्मेदवार घोषणा ग¥यो । नगरपालिकाका विषयमा घोषणापत्र लेख्ने काम गरियो । अन्य चुनाव प्रचारका सामग्री पनि निर्माण गरियो । वैशाख १७ गते गाउँगाउँमा हाम्रो पार्टीको धारणा प्रस्ट पार्ने र मत माग्ने उद्देश्यले रत्ननगरका मेयरका उम्मेदवार उत्तम सिम्खडा, उपमेयरका उम्मेदवार बिन्दा कार्कीलगायत उम्मेदवारहरू र पार्टीका साथीहरूलाई झन्डा, ब्यानर र हातेमाइक लिएर प्रचारप्रसार सुरु गरियो । पहिलो सुरुआतमा बच्छेउलीको मालपुर चोकमा ठीक ९ बजे कोणसभा सम्पन्न ग¥यौँ । संसदीय व्यवस्थाभित्रका गलत प्रवृत्तिको भण्डाफोर ग¥यौँ । जनतासँग मत माग्ने काम गरियो । दोस्रो कोणसभा बच्छेउलीको सामुदायिक भवनचोक (पर्यटकलाई हाती चढाउने ठाउँ मा सुरु मात्र गरेका थियौँ, प्रहरीको भ्यान टुप्लुक्क आयो । हामीलाई घेरा हाल्यो । सुरुमा त मलाई सुरक्षा दिन आएका होला भन्ने लाग्यो । हामीलाई त्यस ठाउँ असुरक्षा भन्ने केही थिएन । हामीलाई यसरी दुव्र्यवहार गरेर गिरफ्तार गर्लान् भनेर कल्पना पनि गरेका थिएनौँ किनभने हामीले त्यस्तो कुनै अवैध काम केही गरेका थिएनौँ । हामीलाई टोलीमध्येको एकजनाले हातमा सञ्चार सेट लिएर सोध्यो तिमीहरू को हौ ? प्रत्युत्तरमा मैले हामी मोहन वैद्य ‘ किरण’ ले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी) का कार्यकर्ता हौँ । हाम्रो पार्टीले पनि हाल हुन लागेको स्थानीय तहको चुनावमा भाग लिएका कारण चुनाव प्रचार गर्दै जनतासँग मत मागेका हौँ भनेँ । उसले सञ्चार सेटबाट माथी रिपोर्ट ग¥यो । यिनीहरूले गम्भीर रूपमा आचारसंहिता उल्लङ्घन गरेका छन् साप । यसपछि हाम्रा सबै प्रचार सामग्री कब्जा गरेर हामीलाई घोक्र्याउँदै–मुन्ट्याउँदै भ्यानमा हाल्न थाल्यो ।

लगभग १०–१२ जनालाई गिरफ्तार ग¥यो भने अरू साथीहरू फुत्कन सफल भए । त्यसपछि मैले भनेँ, हामीलाई यसरी गिरफ्तार गर्नाको कारण के हो ? प्रहरीको टोली प्रमुखले भन्यो, तिमीहरूले आचारसंहिता उल्लङ्घन ग¥यौ । त्यसकारण गिरफ्तार गरेको हो । मैले भनेँ, के आचारसंहिता उल्लङ्घन गरियो ? उसले भन्यो, यो माइक बजाउने अनुमति छैन । यो माइक किन बजाएको ? मैले भनेँ, अरू पार्टीले बजाएकै छन् । हामीलाई मात्रै किन रोक ?
हिजोसम्म मात्र बजाउने समय थियो, आज छैन भनेर उसले हप्कायो । साँच्चै आज माइक बजाउन बन्द भएको रहेछ कि के रहेछ भनेर म यताउता बुझ्न थालेँ । यस बेलासम्म मेरो मोबाइल कब्जा गरेको थिएन । कुरो बुझ्दा ठूला पार्टीहरूले घ्याम्पाजत्रा माइक बजाएर प्रचार गरिरहेका रहेछन् । त्यसपछि मैले भनेँ, अन्यत्र पनि अरू पार्टीले माइक बजाएका रहेछन् । किन हामीलाई यसरी गिरफ्तार गरियो ? मैले यसो भन्दा झन् हामीलाई दुव्र्यवहार गर्दै भ्यानमा कोचाकोच पारेर बच्छ्यौली चौकी पु¥याइयो । मेरो पहिलो कर्तव्य उक्त घटना पार्टीमा जानकारी गराउनु थियो र गराएँ । यसपछि मेरो मनमा गहिरो चोट प¥यो । यसपछि समग्र जिल्लाको सुरक्षाको जिम्मा लिएको निकाय प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई मेरो परिचय दिएर फोन गरेँ । हामीलाई चुनाव प्रचारप्रचार गरिरहेको समयमा बच्छ्यौलीमा प्रहरीबाट गिरफ्तार गरियो भनेर जानकारी गराएँ । त्यसपछि प्रमुख जिल्ला अधिकारीले कारण के होला ? प्रहरीहरूले के भनेका छन् भनेर सोध्ने काम भयो । हामीले सानो हाते माइक बजाएर कार्यक्रम गरेका थियौँ । त्यही माइक बजाएर आचारसंहिता उल्लङ्घन ग¥यौँ भन्ने आरोप लगाएका छन् । मैले यसो भनिरहँदा प्रजिअले तपाईंजस्तो मान्छेले आचारसंहिता उल्लङ्घन गर्ने भनेर अलि मलाई ‘डिफेन्सिब’ बनाउने र मेरो मनोबल गिराउने ढङ्गले जबाफ दिने काम भयो र फोन राखियो । यसबीचमा प्रहरीसँग भनाभन र छलफल चलिरह्यो ः के कारणले हामीलाई गिरफ्तार गरियो भनेर ।

यसैबीचमा माओवादी केन्द्रका बच्छ्यौलीमा साथीहरू गोपी श्रेष्ठ, कृष्ण खनाल, विनोद रेग्मी, ध्रुव खनाललगायत अन्य साथीहरू पनि आए । यसबीचमा त्यहाँको इन्स्पेक्टरले माथि निकै रिपोर्ट गरिरहेको सुनिन्थ्यो । त्यसपछि प्रहरीको त्यो इन्स्पेक्टरले भन्न थाल्यो, यहाँ विप्लवको पार्टीले चुनाव बिथाल्नका लागि ठूलो योजना बनाएको छन् भन्ने रिपोर्ट हामीलाई सूचना आएको छ । त्यसकारण तिमीहरूलाई अनुसन्धान गर्न ल्याएको हो भनेर भनियो । मैले यति कुरा बुझ्न कार्यक्रम स्थलमै पनि बुझ्न सकिन्थ्यो । अर्को विप्लवले नेतृत्व गरेको नेकपासँग जोडेर हामीलाई गिरफ्तार गर्नु जायज हो ? गोपी श्रेष्ठले चाहिँ उनीहरूसँग जोडेर यहाँहरूलाई कारबाही चलाउनु ठीक होइन भने । ध्रुव खनालले अलि पुलिसको सपोर्ट लिएर बोल्न खोजे । मैले ठाडै इन्कार गरेर बोल्न दिइनँ । पछि उनले दुःखमनाउ गरेका थिए । यसरी एक घन्टा हामीलाई बिनाकसुर पुलिसको हिरासतमा राखेर सहीछाप गरेर छाड्ने काम भयो । मैले हामीलाई के कारणले गिरफ्तार गरियो ? के भनेर छाडियो भनेर सोधें । प्रत्युत्तरमा प्रहरीले भन्यो, हामीले अनुसन्धानका लागि ल्याएका हौँ । कसैलाई पनि अनुसन्धान गर्ने अधिकार हामीलाई छ । मैले थप भनेँ, हामी केकस्ता अपराधी थियौँ र गिरफ्तार गरेर हिर ासतमा राखेर अनुसन्धान गर्नपर्ने ? यति त कार्यक्रमस्थलमै बुझ्न सकिन्थ्यो भन्दा तथानाम दुव्र्यवहार गर्ने काम भयो ।

हाम्रा सवारीसाधन कता ? हामी र अरू साथीहरू कता ? यसरी प्रचारमा हिँडेका साथीहरूलाई आतङ्कित बनाइयो । त्यति मात्र होइन, घटनाको सत्यतथ्य बुझेर समस्या कहाँ रह्यो भनेर छानबिन गर्नुपर्नेमा उल्टो प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई प्रत्यक्ष भेटेर यी मेरा सबै गुनासा सुनाउने र घटनाको सत्यतथ्य बुझाउने उद्देश्यका साथ भेट्न खोजेँ । त्यो समय उहाँले दिनुभएन । फेरि २८ गते फोन गरेर आजसम्म पनि ठूला पार्टीहरूले माइक बजाएकै छन् । हाम्रो पार्टीलाई मात्र किन रोक लगाइयो भनेर फोन गरेँ । बिनाप्रत्युत्तर उहाँले फोन राख्ने काम भयो । यस्तै हो भने मजस्ता साना पार्टीका कार्यकर्ता र सामान्य गरिब जनताले न्यायको के अपेक्षा गर्ने ? मैले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई कसरी बुझ्ने ? प्रहरी सङ्गठनको यसप्रकारको लापर्बाही, दादागिरी र सामान्य घटनालाई छानबिन गर्ने क्षमतामा प्रश्नचिह्न उठ्ने कि नउठ्ने ? यसप्रकारका दृष्टान्तहरू विकास हुँदै जाने हो भने जनताको यो व्यवस्थाप्रतिको विश्वास र धैर्य कतिन्जेल रहन सक्ला ? न्यायको सिद्धान्तमा सयौँ अपराधीहरू छुटून् तर एउटा पनि निर्दोष व्यक्ति नपरोस् भन्ने सिद्धान्तलाई धोती लगाउँदै चोरलाई चौतारी साधुलाई शूली !
पहिलो कुरा त लोकतन्त्रमा सबै पार्टीहरूलाई दलीय मान्यता दिएर चुनावचिह्न पाउने स्वयम्सिद्ध सिद्धान्त हो । यसको विपरीत साना पार्टीहरूलाई दलीय चुनावचिह्नबाट वञ्चित गरियो । दोस्रो विभिन्न कोणबाट समस्या खडा गरी आतङ्कित बनाएर उनीहरूलाई कमजोर बनाई सत्ताको मालिक आफैँ बन्ने घिनलाग्दो खेल नाङ्गो रूपमा देख्न पाइयो यसपालिको चुनावमा । त्यति मात्र नभएर आफू हार्ने सम्भावना देखेपछि मतपत्र च्यात्ने र आफैँ बोक्सी आफैँ झाँक्री भनेझैँ पुनः मतदानको माग गर्ने ? लोकतन्त्रमा चुनावमा भाग लिन पनि सकिन्छ र बहिष्कार गर्न पनि सकिन्छ तर यहाँ यो चुनावप्रति हाम्रो विश्वास छैन भनेर बहिष्कार गरेको ।

विप्लब नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टीलाई शान्तिपूर्ण रूपमा आफ्नो विचार राख्न पनि दिइएन । उक्त पार्टीका सयौँ कार्यकर्ताहरूलाई जेल हाल्ने, मुद्दा लगाउने काम गरिरहेकै छ । त्यति मात्रै होइन, बहिष्कारको नाउँमा घरमा बसेका सामान्य नागरिकहरूलाई समेत गिरफ्तार गरेको छ । प्रचण्ड सरकारले फासिवादी चरित्र उदाङ्गो पारेकै छ । हामीलाई सामान्य प्रचारमा जाँदा गिरफ्तार गर्ने प्रहरीले जनताको मत च्यातिँदा रमिता हेरेर बसेको त्यहाँ कतिपय प्रत्यक्षदर्शीले यहाँ केही अप्रिय घटनाहरू हुनसक्छ भनी सूचना दिँदा सतर्क नअपनाएर आ–आफ्नो उम्मेदवार हार्ने डरले माओवादी केन्द्रका कार्यकताले मतपत्र च्यात्ने काम भयो । यति मात्र कहाँ हो र अरू सामान्य जनता सामान्य मुद्दमा महिनौँ प्रहरी हिरासतमा यातना र कष्ट खपिरहेका छन् । तर मतपत्र च्यात्ने माकेका कार्यकर्तालाई चारै दिनमा धरौटीमा छोड्ने काम भयो । यही हो प्रशासनको निष्पक्षता ? सामान्य न्यायको सिद्धान्त शक्तिको आडमा जे पनि गर्ने संसदीय व्यवस्थाको चुनावमा धाँधली गर्ने बुथ कब्जा गर्ने, बक्सा फाल्नेजस्ता क्रियाकलाप त देखिएकै थियो । तर यसपालिको चुनावमा थप प्रचण्डले आफ्नै छोरी रेणु दाहाललाई सिद्धान्तमा सम्झौता गर्दै जय नेपाल भन्दै काङ्ग्रेससँग गठबन्धन गर्ने, आफैँले बनाएको आचारसंहिता उल्लङ्घन गर्दै विभिन्न बहाना बनाएर विश्वविद्यालय भवन उद्घाटन हुनुले जसरी पनि साम, दाम, दण्ड, भेद लगाएर छोरीलाई जिताउन, त्यति मात्र पनि नसकेर राज्यशक्तिको दुरुपयोग गरेर आफ्नो कार्यकर्तालाई मतपत्र च्यात्न लगाउने थप दृष्टान्त यो चुनावमा देखियो ।
(लेखक नेकपा (क्रान्तिकारी माओवादी) का चितवनका नेता हुन् ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :