जनपत्रकार संगठनद्वारा पत्रकार महर्जनको रिहाईको माग

स्वतन्त्र प्रेसमाथि फाँसीवाद लाद्न सरकार उद्धत


काठमाडौं : जनपत्रकार संगठन नेपालले पत्रकार जीतेन्द्र महर्जनलाई विनाकारण अनाहकमा एक सातादेखि प्रहरी हिरासतमा राखेर शारीरीक तथा मानसिक यातना दिईरहेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ ।

जनपत्रकार संगठन नेपालको काठमाडौ उपत्यका क्षेत्रीय समन्वय समितिका संयोजक सागर लामाले वैशाख ५ गते बिहिवार बिज्ञप्ति जारी गर्दै संगठनको काठमाडौं जिल्ला संयोजक एवं न्हुगु जोजोलोपा साप्ताहिकका प्रधानसम्पादक महर्जनको रिहाईको माग गरेका हुन् ।

नियमित समाचार संकलन र प्रकाशनकै काममा खटिईरहेका बेला पत्रकार महर्जनलाई कार्यक्षेत्रबाट गत चैत २८ गते पक्राउ गरी सरकारको निर्देशनमा प्रहरी प्रशासनले विनाकारण अनाहकमा एक सातादेखि महानगरीय प्रहरी प्ररिसर काठमाडौंको टेकुमा चरम रुपमा शारीरीक र मानसिक यातना दिई हिरासतमा राख्दै आएको बिज्ञप्तिमा जनाईएको छ ।

गत भदौ १ गतेबाट लागु गरिएको नयाँ मुलुकी ऐनपछि पत्रकारमाथि थोपरीएको ज्यादती र स्वतन्त्र प्रेस विरोधी हर्कत अन्तरगत गिरफ्तार, झुठा मुद्दा र आतंकित तुल्याउने गतिविधि पछिल्लो समय झन् बढ्दै गएको भन्दै संयोजक लामाले यसले सिंगो प्रेस जगतलाई नै स्तब्ध बनाएको बताएका छन् ।

बिज्ञप्तिमा भनिएको छ, ‘संबिधान प्रदत्त स्वतन्त्र प्रेस बिरुद्ध बढाएको गतिविधि र स्वतन्त्र प्रेसको विश्व मूल्य मान्यताको वर्खिलापमा मच्चाएको आंतकका घटनाले स्वतन्त्र प्रेसको संविधानतः व्यावस्था र अधिकारलाई नै रद्दिको टोकरीमा मिल्काईदिएको संगठनको निचोड छ । पछिल्लो चरणमा सरकारले विद्युतीय कारोवार ऐनको व्यापक मात्रामा दुरुपयोग गर्दै स्वतन्त्रप्रेस तथा सन्चारकर्मीमाथि जयादती र झुठा अभियोग लगाएर फसाउने गम्भिर सड्यन्त्रमा यो सरकार उद्धत्त रहेको ज्वलन्त उदाहरण पत्रकार महर्जनमाथि थोपरीएको झुठा आरोपले प्रस्ट गर्दछ ।’
विज्ञप्तिमा अगाडि भनिएके छ, ‘प्रेसमाथि समेत फाँसीवाद लाद्दै भयरहित र निर्वाध रुपमा समाचार संकलन, प्रकाशन तथा प्रशारण गर्न पाउँने अधिकारलाई कुण्ठित पारेर निरंकुशता थोपर्ने मिसनमा यो सरकार लागेको दृस्टान्त अगाडि आईसकेको अवस्थामा त्यसलाई रोक्ने उपाय भनेको सशक्त प्रतिवाद नै हो ।’

जनपत्रकार संगठन सदा जनपक्षीय पत्रकारीताको पक्षमा खडा रहँदै आएको प्रष्ट पार्दै संयोजक लामाले पत्रकार महर्जनमाथि लगाईएको झुठा अभियोग र ज्यादती तुरुन्त फिर्ता लिई स्वतन्त्र प्रेस बिरोधी सबैखाले ऐन, नियम, कानुन तत्काल खारेज गर्न सरकारसँग माग समेत गरेका छन् ।
उनले पत्रकार महर्जनलाई विना सर्त तुरुन्त रिहा गरी स्वतन्त्र प्रेसको संविधानप्रदत्त व्यावस्थाको बिना हिच्किचाहट अक्षरंस पालना गर्न पनि आग्रह गरेका छन् ।

सम्पूर्ण पत्रकारलाई स्वतन्त्र र निर्वाधरुपमा समाचार संकलन, संप्रेसण तथा प्रशारण गर्न पाउँने अधिकारको उपभोग गर्नबाट बञ्चित नगराउन र स्वतन्त्रपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न वातावरण सिर्जना गर्न, गराउन समेत सम्बन्धित सबै पक्षसँग अनुरोध गर्दै संगठनले बिज्ञप्तिमा भनेको छ, ‘अन्यथा स्वतन्त्र प्रेस बिरोधी गतिविधि र ज्यादतीलाई नरोक्ने र अझै बढवा दिदैँ जाने सरकारको हर्कतले कालान्तरमा गम्भिर अप्ठ्यारो पत्रकारीता क्षेत्रलाई नभई सरकार स्वयमलाई नै पर्ने कुरा समेत यसै विज्ञप्तिमार्फत स्पष्ट पार्न चाहन्छौ ।’ 

२०७६ वैशाख ६ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :