थबाङमा प्रहरीको खानतलासी, उर्जामन्त्री पुनको आदेशमा स्थानीयको घर फोरियो

रोल्पा : थबाङमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीको कार्यकर्ताको घर खानतलासी गरेको छ । उर्जामन्त्री बर्षमान पुनको ठाडो निर्देशनमा प्रहरीले ने.क.पा का कार्यकर्ताको घरमा गएराति खानतलासी गरेको हो । 

मन्त्री पुन थबाङ पुगेको साँझ नै गाउँ आसपासका डाँडाहरुमा नेकपाका कार्यकर्ताले राँके जुलुस र नाराबाजी गरेपछि प्रहरीले स्थानीयको घरमा खानतलासी गरेको थियो । स्थानीयवासीका अनुसार कार्यकर्ता खोज्न गाउँ पसेको प्रहरीले स्थानीय महिला र बालबालिकालाई धम्क्याएको थियो ।

मन्त्रीको सुरक्षार्थ थबाङ पुगेको प्रहरीले स्थानीय नेकपाका नेता जयप्रकाश रोका प्रताप र युवा नेता अमित घर्तीमगरको घरमा जबर्जस्ती छिरेको र धम्क्याएको स्थानीयले बताएका छन् ।
‘प्रहरीले माथिको आदेश छ, तिमीहरुलाई ठिक पार्छौं भनेर धम्क्याए,’ थबाङकी एक महिलाले भनिन्, ‘प्रहरीले घरका ढोका समेत फुटाइदिएका छन् ।’

घर खानतलासी गर्दा मन्त्री पुनसँगै प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी, प्रहरी नायब उपरीक्षक दीपक खड्कालगायतका सुरक्षा अधिकारी थबाङमै थिए । मन्त्री पुनसंगै थबाङमा प्रदेश सासद दीपेन्द्रकुमार पुन र जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा समेत थिए ।
सडकमार्गबाट थबाङ पुगेका उर्जामन्त्री वर्षमान पुन नेता बन्दमा परेपछि हेलिकप्टर मगाएर सदरमुकाम फर्केका छन् । जलजला क्षेत्रलाई ‘पर्यटकीय स्थल’ घोषणा गर्न सडक मार्गबाट बुधबार थबाङ पुगेका उर्जामन्त्री पुन बिहीबार सवा ९ बजेतिर हेलिकप्टरबाट सदरमुकाम लिबाङ गएका हुन् ।
२०७६ वैशाख ५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :