झापालगायत पूर्वमा बन्दको प्रभाव, जताततै प्रधानमन्त्री प्रतिबन्धको ब्यानर

झापा : नेत्र विक्रम चन्द “विप्लव“नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बन्दको कारण आज देशभरको जनजिवन प्रभावित बनेको छ । सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि प्रतिकारमा उत्रिएको नेकपाले आज देशभर नेपाल बन्द तथा भोलिदेखि प्रधानमन्त्री केपी वलीको हरेक कार्यक्रममा प्रतिबन्ध तथा बन्द गर्ने जनाएको छ ।
यस्तै आजको बन्दका कारण प्रधानमन्त्री केपी वलीको गृहजिल्ला झापा लगायत पुर्वको इलाम, पाँचथर ,ताप्लेजुङ लगायतका जिल्लामा पनि बन्दको प्रभाव परेको छ । आज बिहानैदेखि लामो तथा छोटो दुरिका सवारीसाधन चल्न सकेका छैनन् भने,उद्योग, कलकारखाना, विद्यालय तथा बजारहरु सुनसान बनेका छन् । बन्दका कारण आज बिहानैदेखि झापाका बजारहरु समेत सुनसान बनेका छन् भने सुरक्षाकर्मीको बाक्लो उपस्थित रहेको छ । आज बिहानैदेखि पुर्व पश्चिम राजमार्ग समेत सुनसान बनेको छ ।
बन्दको दिन झापाका विभिन्न स्थानमा विप्लव नेकपाले प्रधानमन्त्री केपी वलीलाई प्रतिबन्ध लगाइएको ब्यानर टाँगेको छ । झापाको मेचिनगर, बुद्धशान्ति, बिर्तामोड, दमक, भद्रपुर, झापा बजारलगायतका विभिन्न स्थानमा ब्यानर टाँगिएको छ । एकीकृत जनक्रान्ति जिन्दावाद लेखिएको ब्यानरमा फासिवादी जनदमन र पार्टी प्रतिबन्धको विरुद्ध वैशाख ५ को बन्द सफल पारौँ । दलाल सत्ताको बौलाहापुर्ण निर्णयको प्रतिरोधको लागि बैशाख ६ देखि केपी वली सहभागी सम्पूर्ण कार्यक्रम प्रतिबन्ध गरौँ भन्ने नारा लेखिएको छ ।

२०७६ चैत्र ५ गते बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :