दार्जिलिङमा भाषा आन्दोलन चर्किंदै

GJM Protest At Jantar Mantar For Separate Gorkhaland काठमाडौं/असार १,पश्चिम बङ्गालको ममता बेनर्जी सरकारले हालै राज्यका सबै विद्यालयहरूमा बङ्गाली भाषा अनिवार्य पठनपाठन गर्नुपर्ने निर्णय गरेपछि नेपालीभाषी क्षेत्रहरूमा तीव्र असन्तोष उत्पन्न भएको छ । दार्जिलिङको विरोधलाई ध्यान दिएर बिहीबार मन्त्रिपरिषद्को बैठक दार्जिलिङमा नै बसेको थियो । बैठकस्थलवरपर चर्को नाराबाजी भएपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठी तथा अश्रुग्याँस प्रहार ग¥यो । आक्रोशित भीडले प्रहरीका दुईवटा र केही सरकारी बसमा आगो लगाएका थिए । सरकारले बङ्गाली भाषालाई पाठ्यक्रममा अनिवार्य गर्नासाथ शिक्षकहरू विद्यालय नै बन्द गरेर हडतालमा उत्रिएका थिए । गोर्खा जनमुक्ति मोर्चा, गोर्खा दुःख निवारण सङ्घ तथा सम्पूर्ण सामाजिक सङ्गठनहरू राज्य सरकारको निर्णयको विरोधमा उत्रिएका थिए । बङ्गाली सरकारभने शान्तिपूर्ण विरोधमा उत्रिएका नेपालीका विरुद्ध ठूलो दमनमा उत्रिएको छ ।

दार्जिलिङका पत्रकार मोहन लामाका अनुसार सरकारले गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङ, लोकप्रिय साहित्यकार प्रेम प्रधानलगायत दर्जनौँलाई झूट्टा मुद्दा लगाएको र सयौँलाई पक्राउ गरेको छ । त्यसका विरुद्ध शुक्रबार १२ घन्टे ‘पहाड बन्द’ को घोषणा गरिएको थियो । कालेबुङ, खर्साङ, मिरिकलगायत नेपालीभाषी क्षेत्रमा त्यसको गम्भीर प्रभाव परेको थियो । चर्को विरोधपछि मुख्यमन्त्री बेनर्जीले बङ्गाली भाषा अनिवार्य नगरेर ऐच्छिक गरेको भन्दै निर्णय सच्याउने जनाउ दिएकी छिन् । तर आन्दोलनकारीले राज्य सरकारको लिखित प्रतिबद्धता खोजेका छन् । शनिबार दार्जिलिङमा त्यहाँका सबै नेपालीभाषी दल र सङ्गठनहरूको संयुक्त बैठक बसेको थियो । बैठकले थप कार्यक्रम निर्धारण ग¥यो । बङ्गाल प्रहरीले निहत्था जनताको शान्तिपूर्ण आन्दोलनलाई ‘जङ्गी आन्दोलन’ भन्दै भ्रम उत्पन्न गरेर दमन गर्ने रणनीति बनाएको नेपालीभाषीको आरोप छ । बिहीबार दार्जिलिङका कलाकार तथा अभियन्ता अमिर सुन्दासले तिखो प्रतिक्रिया दिँदै ‘ढुङ्गा हान्दा जङ्गी आन्दोलन भन्छ, जङ्गी आन्दोलन कस्तो हुन्छ देखेकै छ्रैनन्, सत्ताका तावेदारहरूले’ भनी सामाजिक सञ्जालमा शुक्रबार लेखेका छन् ।

राज्य सरकारको भाषानीतिले पहाडमा खुसीयाली छाएको र मुट्ठीभरले मात्र विरोध गरेको भन्ने सरकारी प्रचारबाजीप्रति सुन्दासले कवितामै भनेका छन्– ‘यदि पहाड हाँस्दैन भने, किन अश्रुग्याँस छोडेको ?’ सुन्दास दार्जिलिङका चर्चित युवा कलाकार र मूर्तिकार हुन् । उनी सिलगुढीमा कमरेड किरणसँगै गिरफ्तार भई जेल बसेका थिए । क.किरणसहित नेपालीलाई २०६३ सालमा रिहा गरेपछि उनीहरूलाई भने छोडिएन । गिरफ्तार गरिएका सबैलाई नछोडे आफूहरू पनि जेलबाहिर नजाने किरणको घोषणापछि सुन्दास रिहा भएका थिए । उनीहरूलाई भारतको पोटा कानुनअन्तर्गत थुनामा राखिएको थियो । त्यतिबेला सिलगुढी, जलपाईगुडी, डुवर्सजस्ता नेपालीभाषी बहुल क्षेत्रहरूमा भाषा आन्दोलनको रापताप बढ्दै गएको छ ।
दार्जिलिङमा आजभोलि अमेरिकी प्रोफेसर नोम चोम्स्की चर्चाको शिखरमा छन् । उनले सन् १९५६ मा ‘सूचना सिद्धान्त’ विषयक गोष्ठीहरूमा ‘भाषा हाम्रो अस्तित्वको मूल हो’ भनेका थिए । भाषा आन्दोलनलाई नेपालीभाषीहरूले अस्तित्वको लडाइँकारूपमा लिएका छन् । आन्दोलन बढ्दै जाँदा शनिबार राज्य सरकारले सेना परिचालन गरेको थियो ।

नेपाली भाषामा प्रसारण हुँदै आएको टेलिभिजन ब्द्यल् को प्रसारण बन्द भएको हो । दार्जिलिङबाट फर्किएपछि उच्च अधिकारीहरूसँगको बैठकपछि उत्तर कन्यामा सञ्चारकर्मीसँगको साक्षात्कारमा आक्रोशित मुद्दामा पक्राउ परेका विमल गुरुङका विषयमा बोल्न अस्वीकार गरिन् । ममताले ‘शान्त पहाडलाई जङ्गली डढेलोझैँ स्थितिमा फेर्न कोही पनि सहभागी नहोऊन् । पहाडमा शान्ति भए हामी सबै शान्ति र आनन्दले बाँच्न सक्नेछौँ’ भनिन् । उता राज्य सरकारले गोर्खा बहुल क्षेत्रमा बङ्गालीमूलका प्रहरी अधिकारीलाई पठाएको छ । आन्दोलनकारीलाई उचालेको भन्दै प्रहरीले सभासद सतिष पोखरेललाई सोमबार राती निवासबाटै पक्राउ गरेको छ । पहाडमा प्रहरीको खानतलासी र पक्राउ व्यापक बन्दै गएको छ । मंगलबार पश्चिम बंगालमा राज्यका पहाडी भागहरु दार्जिलिङ, खर्साङ, कालेबुङ् लगायतमा आमहडताल आह्वान गरिएको थियो । जसमा सयौं पक्राउ परेका छन् । गोजमुमोले मंगलबारको आमहड्ताललाई समर्थन गरेको थियो । राताे खबर साप्ताहिकबाट
 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :